७ वैशाख २०८१ शुक्रबार
समाज

अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु

विराटनगर–६ सुकुम्बासी टोलीकी ३० वर्षीया विमला ऋषिदेवको मृत्युपछि शोकमा आफन्त । तस्बिर: नागरिक

प्रदेश १ को राजधानी विराटनगरका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि भर्ना हुन समस्या भएको छ । यहाँका अस्पतालले समयमा स्वास्थ्य सेवा उपलब्ध नगराउँदा बिरामीको मृत्यु हुन थालेको छ ।

कोरोना संक्रमण फैलिएपछि विराटनगरका अधिकांश अस्पतालले सहजै बिरामी उपचार गर्न नमान्दा ठूलो समस्या सिर्जना भएको छ । उपचारबाट बञ्चित भई बिरामीको मृत्यु हुँदासमेत सम्बन्धित निकाय मौन बस्दा अस्पताललाई फाइदा पुगेको छ ।

यस्तै बिहीबार विराटनगरको कोसी अस्पताल ‘सरकारी’ले भर्ना गर्न नमान्दा विराटनगरकी एक गर्भवती महिलाले ज्यान गुमाउनु परेको घटना सार्वजनिक भएको छ । चैतयता विराटनगरका अस्पतालमा समयमै उपचार नपाउँदा छ जनाको मृत्यु भइसकेको छ ।

केही दिनअघि मात्रै मोरङका प्रमुख जिल्ला अधिकारीले विराटनगरका निजी तथा सरकारी अस्पतालका प्रमुखलाई बोलाएर कुनै पनि बाहनामा बिरामीले उपचारबाट बञ्चित हुनुहुँदैन भनेका थिए । त्यस्तो उपचार गर्न बाहना बनाई उपचारबाट बञ्चित भए कारबाही गर्ने बताएका थिए ।

विराटनगर–६ सुकुम्बासी टोलीकी ३० वर्षीया विमला ऋषिदेव गर्भवतीलाई प्रसूतिका लागि कोसीले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो ।  

स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्यालामजदुरी गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई बिहीबार बिहान १ बजेतिर व्यथा लागेपछि कोसीमा प्रसूतिका लागि लगेका थिए । अस्पतालले बेड अभाव भएकाले अन्य अस्पताल लैजान भनेपछि बिरामीलाई घर फर्काए । घर लगेर बच्चा जन्माउनुअघि नै बिहान करिब ४ बजेतिर महिलाको मृत्यु भयो । दैनिक ज्याला मजदुरीबाट जीवनयापन गर्ने शिवु परिवारको आर्थिक अवस्था कमजोर हँुदा अस्पतालले भर्ना लिन नमानेको पीडित परिवारलाई उदृत गर्दै मुखियाले बताए । ‘दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो,’ उनले भने, ‘व्यथाले छटपटाउँदा बच्चा जन्माउन नसक्दा गर्भवतीको मृत्यु भयो ।’  

‘दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो । व्यथाले छटपटाउँदा बच्चा जन्माउन नसक्दा गर्भवतीको मृत्यु भयो ।’

अर्का स्थानीय अक्षय सहनीका अनुसार शिवुको घर दुहबी–१० भए पनि कामको सिलसिलामा उनी परिवारसहित विराटनगरमा बस्दै आएका थिए । मृतकका ९ र ३ वर्षका दुई छोरी छन् भने अढाइ वर्षका छोराको दुई वर्षअघि खोलामा डुबेर मृत्यु भएको थियो । सहनीले भने, ‘आर्थिक स्थिति कमजोर भएकोले दाहसंस्कार गर्न पैसा नभई शव घरबाट उठ्न नसक्दा नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आर्थिक सहयोग गरे ।’  

‘दुईपटक शल्यक्रियाबाट प्रसूति भइसकेको हँुदा अब गर्न नमिल्ने भन्दै कोसी अस्पताले फर्काउनु ठूलो विडम्बना हो,’ सचेतक केदार कार्कीले भने, ‘मलाई घटना हुनुअघि जानकारी आएन । विपन्न ऋषिदेव परिवारले रकम जोहो गर्दै गर्दा र अस्पतालले भर्ना लिन नमन्दा दुखद् घटना हुनु नराम्रो कुरा हो ।’ हिजोको दिनमा प्रशासनले बिरामी उपचार गर्न निजी तथा सरकारी अस्पताललाई निर्देशन दिएको बताउँदै, कार्कीले भने, ‘गरिब तथा विपन्नका लागि सरकार कहाँ छ ?’  

महिलाको शव घरमै रहेपछि सचेतक कार्की आफै पीडतिको घरमा गई आर्थिक सहयोगका साथै सरसामान दिएका थिए । कार्कीले भने, ‘बिरामी भई अस्पताल पुग्दा आर्थिक अभाव र हेल्चेक्रयाइँले मृत्यु हुनु हाम्रो स्वास्थ्य अवस्थाको स्थिति उजागर गरेको छ ।’  

‘अहिलेसम्म कुनै पनि बिरामीलाई फिर्ता पठाएका छैनौं र त्यस्तो गरेको पनि छैन,’ कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासले भने, ‘हाम्रो विशेष प्राथमिकता गर्भवती महिला नै हो । कसरी फिर्ता पठाउँछौं ।’ यस विषयमा बिहाननै खबर पाएँ लगत्तै आफैले छानबिन थालेको दासले बताए । ‘त्यसरी उपचार नै नगरी फिर्ता पठाएको पाए कारबाही गर्छु, डाक्टर दासले भने, ‘प्रसूति वार्ड प्रमुखदेखि डिउटीमा रहेका सबैलाई सोधपुछ गरिसकेको छु । अझै यस विषयमा गम्भीर भएर लागेको र मृतक महिलाका आफन्त जो यस अस्पताल आएका हुन् उनलाई सम्पर्क गर्नु अनुरोध गर्छु ।’ कोरोनाले गर्दा बिरामीलाई पिसिआर परीक्षणपछि रिपोर्टअनुसार छुट्टछुट्टै ठाउँमा उपचार गर्ने गरेका छौं, डाक्टर दासले बताए ।  

एक साताअघि मोरङको कानेपोखरीकी गर्भवती सविना थापा लडेर समस्या भएपछि उपचार गर्न विराटनगर आउँदा यहाँका कुनै पनि अस्पतालले भर्ना नलिएपछि अन्तिम समयमा धरान गइन् । त्यहाँको गएको केही घण्टामा मृत्यु भयो । बिहीबार नै विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढीका ८१ वर्षीय डिगबहादुर राई विराटनगरबाट हेलिकोप्टर चाटर्ड गरेर घर फर्के । उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राई, मोरङ पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राईलगायतले अस्पतालको उपचार सेवा नपाउँदा मृत्यु भएको थियो ।

प्रकाशित: २७ भाद्र २०७७ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App