५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिम प्रदेशको दुःख, खोला तार्न राँगा गाडा

खुटिया खोला पार गर्न राँगा गाडामाथि मोटरसाइकल राखेर तारिँदै। तस्बिरः पुष्पराज जोशी/नागरिक

पुल पुलेसा तथा साँघुबाट प्रायः खोला वारपार गरिन्छ। तर, सुदूरपश्चिम प्रदेशको एक मात्रै उप–महानगरपालिका रहेको धनगढीमा भने खोला तार्न राँगा गाडाको प्रयोग हुँदै आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १६ र १७ जोड्ने देवरिया–बेहडा बाबा सडक खण्डमा पर्ने दुई वटा नदी वारपार गर्न स्थानीय वर्षौदेखि राँगा गाडाको प्रयोग गर्दै आएका हुन्।

धनगढी–बेहडाबाबा जोड्ने सडकमा पर्ने खुटिया खोला र शिवगंगा खोला तर्नका लागि वर्षौदेखि राँगा गाडा प्रयोग हुँदै आएको हो। वर्षायाममा खोलामा पानीको बहाव बढ्दा मोटरसाइकल वारपार गर्न असहज हुने भएपछि राँगा गाडाको प्रयोग हुँदै आएको छ। अन्य समयमा पानी कम हुने भएपछि सहजै खोला वारपार गर्न सकिने भए पनि वर्षामा भने बहाब वढ्ने भएकाले मोटरसाइकल तार्न राँगा गाडाको प्रयोग हुँदै आएको हो। समयमै पुल निर्माण हुन नसकेपछि वर्षौदेखि यात्रुले नदी वारपार गर्न राँगा गाडाको प्रयोग गर्दै आएका हुन्।

‘खुटिया खोला र शिवगंगा खोलामा पुल समयमै नबन्दा हरेक वर्षायाममा राँगा गाडाकै सहायताले मोटरसाइकल वारपार गर्नुपरेको छ,’ रामपुरका स्थानीय टेकबहादुर चौधरीले भने,‘वर्षायाममा खोलामा पानीको बहाब बढ्ने भएकाले मोटरसाइकल तथा यात्रु वारपार गर्न गाह्रो हुने भएपछि राँगा गाडाको प्रयोग गर्नुपरेको छ।’ खुटिया खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा भए पनि शिवगंगा खोलामा अहिलेसम्म निर्माणको काम नहुँदा स्थानीयले अझै वर्षामा सास्ती खेप्नु पर्ने बाध्यता रहेको गुनासो गर्दै आएका छन्। ‘समयमै पुल नबन्दा हामीले बर्सेनि खोलामा राँगा गाडामा मोटरसाइकल लोड गरेर तराउँदै आएका छौँ,’ शिवगंगा खोलामा राँगा गाडा चलाउँदै आएका स्थानीय भागीराम रानाले भने,‘यो बाटो भएर दैनिक एक सय बढी मोटरसाइकल आवतजावत गर्छन्, उनीहरुको सवारी साधन गाडामा राखेर तराउनु परेको छ।’ उनीहरु एउटा खोला तराएबापत प्रति मोटरसाइकल एक सय रुपैयाँ लिने गर्छन्। बेहडाबाबा, रामपुर तथा चौमालाबाट धनगढी आउने यात्रुले शिवगंगा र खुटिया खोलामा एक÷एक सय रुपैयाँ मोटरसाइकल तराएबापत तिर्नुपर्ने हुन्छ।

धनगढी उपमहानगरपालिकाको देवरिया–बेहडा बाबा सडक खण्डमा रहेका खुटिया र शिवगंगा खोलामा समयमै पुल निर्माण नहुँदा यात्रुले मोटरसाइकल राँगा गाडामा लोड गरेर तार्नुपर्ने बाध्यता छ।

‘धनगढी जानका लागि हाम्रो एकमात्रै सडक यही हो,’ स्थानीय राजु चौधरीले भने,‘धनगढी आउजाउ गर्दा शिवगंगा र खुटिया खोलामा मात्रै चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।’ समयमै पुल नबन्दाको परिणाम सर्वसाधारणले महँगो पैसा तिरेर मोटरसाइकल वारपार गर्नु परेको दुखेसो उनले पोखे। उनले भने,‘चुनावमा यही पुलको लालसा देखाएर नेताले भोट मागे, अहिले आएर पुल निर्माणको अवस्था उस्तै छ।’ आफूहरु धनगढी उप–महानगरपालिकामा बस्दै आए पनि राँगा गाडामा मोटरसाइकल वारपार गर्दा भने दुर्गममा बसेझैँ भान हुने गरेको उनले गुनासो पोखे।

पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएपछि (२०७२ असोज २५ गते) केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फट्केलाई विस्थापित गरेर ती ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेको स्मरण गर्दै उनले भने,‘पहाडी भेगको भन्दा कम्ता दुःख छैनन हाम्रा पनि।’ दुर्गम मात्रै नभई सुगममा पनि पुल नबन्दा खोला वारपार गर्न राँगा गाडाको प्रयोग गर्न बाध्य भएको उनले बताए।

शिवगंगा नदीमा पुल निर्माणका लागि २०७४ असार २७ गतेका दिन सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग पप्पु एड्भेन्चर जेभीले सम्झौता गरेको थियो। सम्झौतामा २०७७ असार २७ गतेसम्म पुल निर्माण गरिसक्ने भए पनि अहिलेसम्म पुलको बेस निर्माण हुन सकेको छैन। जसले गर्दा यो बाटो भएर धनगढी आउजाउ गर्ने यात्रुलाई वर्षायाममा राँगा गाडा चढेर खोला वारपार गर्नु पर्ने बाध्यता रहेको अर्का स्थानीय मानबहादुर चौधरीले बताए। उनले भने,‘निर्माण कम्पनीले समयमै पुल निर्माण गरिदिएको भए स्थानीयलाई धनगढी आउजाउ गर्न सहज हुने थियो, तर निर्माण नहुँदा राँगा गाडाको भर पर्नु परेको छ।’ बढी बाढी आएको दिन त झन घन्टौसम्म खोला किनारमा रोकिनु पर्ने बाध्यता रहेको उनले बताए।

दुवै खोलामा पुल निर्माणका लागि पटक पटक सम्बन्धित पक्षसँग पहल गरेको बताउँदै वडाध्यक्ष माधव रानाले भने,‘हामीले पटक पटक निर्माण कम्पनीलाई घचघचाइ रहँदा खुटिया पुल ९० प्रतिशत निर्माण भए पनि शिवगंगा खोलाको पुलको भने फाउन्डेसन समेत भएको छैन।’ उनले वर्षापछि पुल निर्माणका लागि आश्वासन पाएको बताउँदै भने,‘वर्षापछि पुल निर्माण गरिने आश्वासन पाएका छौँ, नभए आन्दोलित हुन्छौँ।’ उनले पुल निर्माण नहुँदा खोला वारपार गर्न राँगा गाडाको प्रयोग हुँदै आएको बताए।

खुटिया खोलाको पुल निर्माणको अन्तिम चरणमा पुगे पनि शिवगंगा खोलामा भने पुल निर्माणको काम सुरुवाती चरणमा रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशीले बताए।

प्रकाशित: २२ भाद्र २०७७ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App