coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शल्यक्रिया पश्चात सुत्केरी मृत्यु, स्थानीय प्रशासनले थाल्यो छानविन

सविताको शल्यक्रिया भएको सदरमुकाम मलंगवा स्थित अमत्र्य पोलिक्लिनिक । तस्बिर : टंक/नागरिक

सदरमुकाम मलंगवास्थित पोलिक्लिनिकमा शल्यक्रिया पश्चात सुत्केरीको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानविन सुरु गरेको छ।  

संचारमाध्यमबाट घटनाबारे थाहा पाएपछि छानविन सूरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। ‘आजबाट घटनाबारे छानविन प्रकृया अगाडी बढाएको छु’, शुक्रबार दिउँसो प्रजिअ पौडेलले नागरिकसँग भने, ‘जिल्ला स्वास्थ्य कार्यालय, मलंगवा नगरपालिकाका लगायत सरोकारवाला कार्यालयबाट कागजात झिकाएर अनुसन्धान प्रकृया अगाडी बढाईएको छ, आजै पीडित परिवारबाट उक्त पोलिक्लिनिक विरुद्ध ठाडो उजुरी समेत परेको छ।’

मलंगवा नगरपालिका–१०, निवासी २४ वर्षीया सविता भन्ने सविता कुमारीको मलंगवा नगरपालिका–९ स्थित अमत्र्य पोलिक्लिनिकमा सुत्केरी गराउने क्रममा शल्यक्रिया गरेको चार दिनपछि मृत्यु भएको थियो। गत शुक्रबार मलंगवा नगरपालिका–९, स्थित सो पोलिक्लिनकमा भर्ना गरिएकी सविताको मंगलबार बिहान मृत्यु भएको हो। शल्यक्रिया गरेर पोलिक्लिनिकमै राखिएकी सविताको स्वास्थ्य अवस्था जटिल भएको भन्दै त्यहाँका चिकित्सकले मंगलबार बिहान हतार हतार थप उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर पठाएका थिए। 

तर १७ किलोमिटर उतर लक्ष्मिपुर नपुग्दै एम्बुलेन्स चालकले सविताको मृत्यु भईसकेको भन्दै घर फर्किन भनेपछि आफन्तहरु चकित बनेका थिए। पोलिक्लिनिकमै मृत्यु भएको देखाउँदा समस्या आईपर्ने ठानेर पोलिक्लिनिकका सञ्चालक समेत रहेका डाक्टर सुरेन्द्रकुमार यादवसहितका कर्मचारीले हतार हतार जनकपुर रेफर गरेर एम्बुलेन्समा पठाएको मृतकका आफन्तको आरोप छ।

शुक्रबार बिहान मृतक सविताका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीले प्रजिअ पौडेल समक्ष घटनाबारे छानविन र क्षतिपूर्ति माग गर्दै ठाडो उजुरी दिएकी हुन्। प्रजिअ पौडेलले उक्त पोलिक्लिनिकसहित अन्य स्वास्थ्य संस्थाहरुको समेत अनुगमन निरीक्षण गर्दै मापदण्ड विपरित देखिए कानूनी कारबाही गरिने जानकारी दिए।

अमत्र्य पोलिक्लिनिकमा ओपिडी लगायत साधारण स्वास्थ्य सेवा मात्रै प्रदान गर्ने अनुमति भएपनि डा. सुरेन्द्र कुमार यादवले लामो समयदेखि ‘अप्रेसन थिएटर’ नै खडा गरी शल्यकृया गर्दै आएका छन्। डा. यादव स्वयंले कानून अनुसार पोलिक्लिनिकमा शल्यक्रिया गर्न नपाईने स्वीकार गर्दै आफ्नो गल्ती भएको संचारकर्मीहरु समक्ष बताए। उनले यसअघि पनि पोलिक्लिनिकमा शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु भएको स्वीकार गरे। 

बिरामीको आफन्तले हारगुहार गर्ने गरेकाले र शल्यक्रियाका लागि अनुमति लिने प्रकृयामा लागेकाले मात्र पोलिक्लिनिकमै शल्यक्रिया गरेको डा. यादवको कथन छ।

प्रकाशित: १९ भाद्र २०७७ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App