पुत्रप्राप्ति वा पुत्रको दीर्घायुका लागि गरिने यो व्रतमा आश्विन कृष्णपक्षको सप्तमी तिथिका दिन व्रती महिलाले परम्पराअनुसार जलाशयमा स्नान गरी घिरौँलाको पातमा खली र तेल चढाई भगवान् सूर्यलाई अर्घ अर्पण गरेर व्रतको सङ्कल्प गर्ने गर्दछन्।
देउतालाई चढाएको उक्त तेल आ-आफ्ना शाखासन्तानलाई लगाउन दिने चलन छ। बिहानको पूजापछि व्रती महिलाहरुले माछा, मरुवा (कोदो) को रोटी र नुनीको सागलगायतका परिकार खाने गर्दछन् भने विधुवा महिलाले भात, चिउरा, कोदोको रोटी खानेे परम्परा छ। साकाहारी महिलाले स्नान गरेर गम्हदी चामल (कोसाभित्रै फल्ने धान) को खिर वा भात पनि खाने चलन रहेको छ।
भोजपुरी र मिथिलाञ्चल क्षेत्रमा मनाइने चाडपर्व र व्रतमध्ये जितियालाई सबैभन्दा पवित्र व्रतका रुपमा मानिन्छ। उपवास बसेको दिन व्रती महिलाहरुलाई डकार आयो वा मुखले खर (नाल-प्वाल) आदि टोक्यो भने पनि व्रत असफल भएको मानिन्छ। त्यसैले होला यो व्रतलाई खडजितिया पनि भनिन्छ। फेरि एकपटक असफल भएको व्रतीले आजीवन व्रत बस्न पाउँदैनन्।
तिथिमा भएको हेरफेरका कारण आइतबार बेलुकी ८ बजेदेखि नै अष्टमी तिथि पर्ने भएकाले त्यसअघि नै खानपिन गरी व्रतीले मङ्गलबारसम्म निराहार उपवास बस्नुपर्ने हुन्छ। यसअघि यो पर्वमा सप्तमी तिथिको अन्तिम पहरमा खासगरी सूर्योदय हुनुअगावै व्रतालु महिलाहरूले आफूलाई मन परेको चोखो भोजन गरी इच्छाअनुसार पानी खाएर व्रतको शुभारम्भ गर्ने गरिन्थ्यो। जसलाई स्थानीय भाषामा ओठगन भन्ने गरिन्छ। तर यसवर्ष तिथिको समयमा भएको हेरफेरका कारण आइतबार बेलुकी ८ बजेदेखि नै अष्टमी तिथि पर्ने भएकाले ओठगन नै नगरी व्रतको शुभारम्भ गरिनेभएको छ।
यो दिन टोलका सबै व्रती महिला एक ठाउँमा बसेर व्रतको महत्व तथा जिमुतवाहनको कथा सुन्ने गर्दछन्। यसमा एउटी व्रती महिलाले कथा वाचन गर्छिन् र त्यसलाई सबै अत्यन्त ध्यानपूर्वक श्रवण गर्छन्।
पौराणिक कथनअनुसार राजा शालिकवाहनको राज्यमा एक विधवा महिलाका सातजना छोरालाई दैत्यले उठाएर लगेका थिए। राजा शालिकवाहनले ती विधुवा बूढीका सातजना छोरालाई जिवितै फिर्ता ल्याइदिएकाले ती बूढीले त्यसैदिनदेखि शालिकवाहनलाई जिमुतवाहन नामकरण गरी राजाको सम्मानमा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको भनाइ छ। रासस
प्रकाशित: २० आश्विन २०६९ ०४:०८ शनिबार





