४ वैशाख २०८१ मंगलबार
समाज

कोरोना कहरमै कार्यकर्ता तानातान

म्याग्दीमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समिति (जिसस) मा आयोजित सर्वपक्षीय बैठकमा जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सांसद, जनप्रतिनिधि, सत्तापक्ष र प्रतिपक्ष दलले नै प्रतिबद्धता उल्लंघन गरेका छन्।

 जिसस भवनमा कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आवश्यक साथ दिने प्रतिबद्धता जनाएका नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले पार्टी प्रवेश, भेटघाट र अनुगमनका गतिविधिलाई तीव्रता दिएर आपैंmले जनाएको प्रतिबद्धता तोडेका हुन्।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा तीनै तहका जनप्रतिनिधि, राजनीतिक दलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) म्याग्दीको बैठकमा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ, प्रदेश सांसद विनोद केसीसहित स्थानीय तहका प्रमुखले समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिन व्यक्तिगत तथा संस्थागत रूपमै साथ दिने बताएको तीन दिनपछि नै पार्टीगत भेला, प्रवेश र अनुगमनमा कोरोना संक्रमणविरुद्धको मापदण्ड उल्लंघन गरेको पाइएको छ। गाउँमा भीडभाड गरेर पार्टीका गतिविधिका साथै ैसामाजिक दूरी कायम नगर्ने, मास्क नलाई कार्यक्रममा सहभागी हुनेजस्ता गतिविधि ठूला राजनीतिक दल, जनप्रतिनिधिबाटै हुन थालेपछि सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो एक सातायता नेकपा र नेपाली कांग्रेसले भेला गरेर पार्टी प्रवेशको लहर चलाएका छन्।  

दलिय गतिविधि झट्ट हेर्दा निर्वाचनको झल्को दिनेजस्तो देखिन थालेपछि कोरोनाको जोखिमलाई मध्यनजर गरी भेलालगायत कार्यक्रम नगर्न अनुरोधसँगै अनौपचारिक रूपमा जानकारीसमेत गराइएको प्रजिअ अधिकारीले बताए। ‘समुदायस्तरबाटै गुनासो आउन थालेको छ,’ उनले भने, ‘सबै राजनीतिक दलसँग बसेर छलफल गर्ने तयारीमा छु।’ उनले कोरोनाविरुद्धको अभियानमा राजनीतिक दल, जनप्रतिनिधिको साथले सहज हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको बताए। उनले सर्वपक्षीय बैठकमा कोरोना भाइरस रोकथाम, सेवा प्रवाहमा, सहजता, पारदर्शिता, सुशासन कायम गर्ने जस्ता सातबुँदे सहमतिमा राजनीतिक दल प्रतिबद्ध रहेको बताउँदै दलीय सहमति र सहकार्यबाटै अगाडि बढ्ने बताए। प्रजिअ अधिकारीले सहमति र सहकार्यबाट अगाडि बढ्ने बताइरहँदा जिल्लामा नेकपा र नेपाली कांग्रेसबीच सामाजिक सञ्जालमा पार्टीगत गतिविधिमा पक्षपात गरेको आरोपसमेत लगाउन थालिएको छ।  

एउटा पार्टीलाई भेला आयोजना गरी पार्टी प्रवेश गर्न छुट दिने, अर्कोको कार्यक्रमलाई फोन गरेर स्थगित गर्न लगाउने भन्दै सामाजिक सञ्जालमा नेपाली कांग्रेसका समर्थकले सरकारको आलोचना गरेका छन्। पार्टी प्रवेश गरेका स्थानीय कार्यकर्तासहितको तस्बिरले सामाजिक सञ्जाल रंगाउने, प्रवेश गरेपछि फिर्ता भएसम्मका गतिविधि देखिन थालेपछि यो क्रम थप चर्किने देखिएको छ। 

‘कांग्रेस छाडेर आउने चाहना गरेकालाई प्रवेश गराएको मात्रै हो, ‘पार्टीले नियमित अभियान सञ्चालन गरेको छैन’ नेकपाका एक नेताले भने। त्यस्तै नेपाली कांग्रेसले नेकपाको गतिविधिबाट आजित भएर प्रवेश गरेकालाई पार्टी कार्यालयमा स्वागत गरेको दाबी गरेको छ। दुवै पार्टीले सामाजिक दूरी कायम गर्न असफल भए पनि मास्क अनिवार्य गरिएको दाबी गरेका छन्। नेकपामा मंगला गाउँपालिकाका स्थानीय कांग्रेस कार्यकर्ता र नेकपाका साबिकको अर्मन गाविस उपाध्यक्ष बलभद्र ढकालसहितको टोली प्रवेश गरेपछि चुनावी झल्को दिनेगरी प्रवेशको गतिविधिले तीव्रता पाएको हो। कोरोनाविरुद्धको सचेतना फैलाउनुपर्ने बेलामा पार्टीगत गतिविधिमा व्यस्त हुनु अत्यन्तै अशोभनीय काम भएको म्याग्दीका नागरिक अगुवाको भनाइ छ।  

छिमेकी जिल्ला बागलुङमा कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा थप सतर्क र सचेत भएर लाग्नुको विकल्प नभएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। ‘नागरिकले आफ्नो जिम्मेवारी भुल्नुहुँदैन,’ उनले भने, ‘यहाँको समुदायमा कोरोनाको प्रवेशलाई रोक्न जनस्वास्थ्यको मापदण्ड पूरा गरौं।’ जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको हुबहु कार्यान्वयन गर्नसमेत उनले आग्रह गरे। जिल्लामा रोजगारको सिलसिलामा भारतसहित तेस्रो मुलुकबाट म्याग्दीमा आएका ४८ जना संक्रमित निको भई घर फर्किएको अवस्थामा म्याग्दी सक्रिय कोरोना संक्रमित मुक्त जिल्ला भएको केही सातामै सरुवा भएर पोखराबाट आएका एक प्रहरीमा कोरोना देखिएपछि आइसोलेन कक्षमा उपचार गराइरहेका छन्।

हालसम्म समुदायस्तरमा कोरोनाको जोखिमलाई मध्यनजर गरी संकलन गरिएको करिब ५ सयसहित कुल १४ सय २० भन्दा बढीको स्वाब संकलन गरिएकोमा कोराना संक्रमित निको भएर गएका बाहेक सबैको स्बाब नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। देशका विभिन्न जिल्लाका साथै छिमेकी बागलुङबाट आएका, संक्रमतिको कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्बाब संकलनलाई समेत तीव्रता दिइएको छ।

प्रकाशित: १९ भाद्र २०७७ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App