coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नदी कटान रोक्न स्थानीयले बनाए जैविक तटबन्ध

जैविक तटबन्ध निर्माण गर्दै स्थानीय । तस्विरः योगेश रावल

टीकापुर नगरपालिका–२ मुलपानी नजिकै कर्णाली नदीले कटान गरेको ठाउँमा स्थानीयले जैविक तटबन्ध निर्माण गरेका छन् । रानी जमरा कुलरिया सिँचाई जलउपभोक्ता समितिमा आवद्ध स्थानीयले नदी कटान रोकथामका लागि जैविक तटबन्ध निर्माण गरेका हुन ।  

टीकापुर नगरपालिका भित्रका बनगाउँ, घिया, बाघमारा, पुछरी लगायत १८ गाउँका एक हजार भन्दा बढी स्थानीयले जैविक तटबन्ध निर्माण गरेका हुन । उनीहरुले कटान भैरहेको ठाउँमा बाँस, रुखका हाँगा, डोरी, माटो भरेका बोरा प्रयोग गरेर जैविक तटबन्ध निर्माण गरेका हुन ।  

स्थानीय जनशक्ति सामुदायिक वन क्षेत्रमा रानी जमरा कुलरीया सिँचाई आयोजनाले निर्माण गरेको तटबन्ध भत्काएपछि नदी गाउँ पस्ने खतरा बढेको छ । नदीमा पानीको सतह घटेसँगै कटान तिब्र बनेको छ । नदी गाउँतर्फ पसे टीकापुर नगरपालिकाका नुक्लीपुर, शाहीपुर, सिमरेनी, सत्ती, बटनपुर, सूर्यपुर लगायत दर्जन बढी गाउँका बासिन्दा प्रभावित हुने देखिन्छ ।  

‘नदीले गाउँ नै बगाउने भएपछि रोकथामका लागि प्रयास गरेका हौं’ ज्ञानी कुला जल उपभोक्ता समितिका सदस्य जोखनलाल चौधरीले भने–‘यत्तिले मात्रै नदी कटान रोकिने अवस्था छैन ।’

कर्णाली नदीको बिचमा रहेका टापुहरुमा वर्षेनी बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर कटान गर्दै आएको छ । नदीले मुलपानी नजिकै दुई ठाउँमा तटबन्ध भत्काएको छ ।  

‘तत्काल अस्थायी तटबन्ध बनाएर नियन्त्रणको प्रयास गरिएको हो’ रानी जमरा कुलरिया सिचाईं आयोजनाका सिनियर डिभिजन इञ्जिनियर विदुर श्रेष्ठले भने–‘वर्षा सकिए लगत्तै आयोजनाले स्थायी तटबन्ध निर्माणको पहल थाल्नेछ ।’  

उनका अनुसार नदीको बिचमा रहेका टापुहरु सफा नगरे वर्षेनी नदी कटानको समस्या आइरहनेछ । ८ शय मिटरमा फैलिएर बग्नुपर्ने नदी टापुका कारण खुम्चिएर डेढ शय मिटरमा बगिरहेको छ । जसका कारण नदी किनारमा निर्माण भएको तटबन्ध भत्किन थालेको हो ।  

नदी कटान रोकथाममा सिँचाई आयोजनाले सहयोग गरिरहेको छ । उसले जैविक तटबन्ध निर्माणमा आवश्यक पर्ने सामाग्री उपलब्ध गराएको छ । सिनियर डिभिजन इन्जिजियर श्रेष्ठले नदी कटान रोकथामका लागि आवश्यक पर्ने सबै खाले सामाग्री उपलब्ध गराउन तयार रहेको बताए ।  

नदी कटान भैरहेको बारे जिल्ला विपद व्यवस्थापन समितिले चासो देखाएको छ । इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख शंकर बिष्ट नेतृत्वको टोलीले समितिसँग समन्वय गरिरहेको छ । कार्यालय प्रमुख बिष्ट नेतृत्वको टोलीले स्थानीयले निर्माण गरेको जैविक तटबन्धको निरिक्षण गरेको छ । समितिले आवश्यक परे नेपाली सेना खटाउने आश्वासन दिएको कार्यालय प्रमुख बिष्टले जानकारी दिए । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली भने नदी कटान रोकथाममा खटेको छ ।

प्रकाशित: १७ भाद्र २०७७ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App