१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराकी ईन्स्पेक्टर चन्द्रा नेपालको दोश्रो महिला गुल्मपति

दोश्रो महिला गुल्मपति भएकी सशस्त्र प्रहरी गुल्म, पोखराको गुल्मपति ईन्स्पेक्टर चन्द्रा गुरुङ ।

प्रहरी निरीक्षक (ईन्स्पेक्टर) चन्द्रा गुरुङ नेपाल प्रहरीको दोश्रो महिला गुल्मपति हुन सफल भएकी छन्। प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभाग, प्रशासन उपशाखाले ईन्स्पेक्टर गुरुङलाई सशस्त्र प्रहरी गुल्म, पोखराको गुल्मपति बनाएर काज सरुवा गरेपछि उनी नेपालकै दोश्रो गुल्मपति भएकी हुन्।  

नेपाल प्रहरीका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) कुवेर कठायतले चन्द्रा गुरुङ नेपालको दोश्रो महिला गुल्मपति भएको बताए। यो उनको लागि चुनौति र अवसर दुबै हो,‘उनले अब आफूलाई प्रुभ गरेर देखाउनु पर्छ।’

नेपाल प्रहरीको पहिलो महिला गुल्मपति भने पूर्णिमा चन्द हुन्। उनी नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिईन्। हाल उनी प्रहरी नायव उपरिक्षक (डिएसपी) पदमा कार्यरत छन्।

नेपालको दोश्रो महिला गुल्मपति भएकी चन्द्रा पहिलोपटक कार्यालय ईञ्चार्ज भएकी हुन्। यसअघि उनी कुनैपनि कार्यालयमा ईञ्चार्ज बनेकी थिइनन्। पहिलोपटक कार्यालय ईञ्चार्ज हुँदा उनले दोश्रो गुल्मपति बन्ने अवसर प्राप्त गरेकी हुन्।

गुल्ममा ईन्स्पेक्टरको नेतृत्वमा ११० जना प्रहरी रहने गर्दछ। गुल्ममा सशस्त्र हतियारसहितको तालिम दिनुका साथै अनुशासन पनि सिकाइने गरिन्छ। यो प्रहरीको आपतकालिन ब्याक फोर्स पनि भएकाले अनुशासनसँगै कमाण्ड कन्ट्रोल गर्ने, बल प्रयोग गर्दा कस्तो तरिका अप्नाउनेलगायत बारे पनि प्रशिक्षण दिइन्छ।

प्रहरी सहायक निरीक्षक (असई)बाट २०४९ सालमा नेपाल प्रहरीको जागिर शुरु गरेकी चन्द्रा वर्तमान नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीकी ब्याच हुन्। यद्वपी आईजिपी थापाले ईन्स्पेक्टरबाट आफ्नो प्रहरी जिवन शुरु गरेका हुन्। उनी २०६७ सालमा ईन्स्पेक्टरमा बढुवा भएकी हुन्।

ईन्स्पेक्टर चन्द्राले प्रहरी जीवनको झण्डै दुई दशक प्रहरीको महिला तथा बालबालिका सेलमा रहेर काम गरिन्। अधिकांश समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालबालिका सेलमा काम गरेर सबैको मन जितेकै कारण धेरैले जिप्रका कास्कीको महिला तथा बालबालिका सेल भनेकै चन्द्रा हो भन्ने ठान्छन्।  

त्यसैले उनी सरुवा भएर गुल्मपति भइसक्दा पनि महिला तथा बालबालिका सम्बन्धी समस्या आए आफूलाई फोन आउने गरेको गुल्मपति चन्द्राले बताइन्। त्यतिमात्र होइन कहिंकतै हुलदंगा होस वा आन्दोलन हुँदा त्यसमा समन्वय गर्ने र विवाद समाधानका लागि पनि उनैलाई एसपीले खटाउने गर्दथे।

गुल्मपति चन्द्रा २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्यांकनमा परेर महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित भएकी थिइन्।

नेपालकै दोश्रो गुल्मपति हुन पाएकोमा गौरवान्वित महशुस गरेको ईन्स्पेक्टर गुरुङले बताइन्। उनले आफ्नो प्रहरी जीवनको झण्डै ३ दशकको अनुभव गुल्ममा सदूपयोग गर्ने योजना सुनाईन्। गुल्ममा महिला तथा बालबालिका सेलमा जस्तो जनसम्पर्क राख्ने त हुँदैन,‘उनले भनिन्, ‘तरपनि म मेरो अहिलेसम्मको अनुभव सबै गुल्ममा लगाउँछु र देशकै उत्कृष्ट गुल्म बनाउन हरसम्भव प्रयत्न गर्छु।’

प्रकाशित: १७ भाद्र २०७७ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App