३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नेकपा नेता झलनाथ खनालको नाममा ७२ करोड खर्च गरेर विषालु सर्प पालिँदै

सर्लाहीको लालबन्दी नगरपालिका–६, मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँको साढे ८ बिघा जमिनमा विषालु सर्प पाल्ने भएको छ ।  

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

यसका लागि प्रतिष्ठानले तीनवटै तहका सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिए । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने योजना रहेका उनले बताए ।  

विषालु सर्पले टोकेर तराई क्षेत्रमा बर्सेनि धेरै जनाको ज्यान जाने गरेको छ । सर्पले डसेका बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ ।  

अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।  

नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको प्रतिष्ठानले सर्प पालनका लागि सर्लाहीको लालबन्दी नगरपालिका–१ मा साढे ८ बिघा जग्गा खरिद गरिएको प्रतिष्ठानका अध्यक्ष पन्तले जानकारी दिए ।

उनका अनुसार सर्प पाल्न प्रतिकठ्ठा साढे ३ लाखका दरले टेन्डरमार्फत खरिद गरिएको उक्त जग्गामा तीनै तहका सरकारको लगानी छ । सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले बताए ।  

असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनको भनाइ छ । अबको २ वर्षभित्र भवनलगायत सबै संरचना बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने उनले बताए ।  

सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको अध्यक्ष पन्तले बताए ।  

पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७० सालमा सर्लाहीबाट संविधानसभा चुनाव पनि लडेका थिए । नेता खनालको चुनावी प्रचारप्रसारका क्रममा विषालु सर्पले टोकेर उपचार नपाई एक जनाको मृत्यु भएको थियो ।  

त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखेर २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’  स्थापना भएको हो । अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिइएको छ । 

प्रकाशित: १७ भाद्र २०७७ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App