१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मसुरिया क्षेत्रमा क्षयरोगी बढ्दै

गौरीगंगा नगरपालिकाको मसुरिया स्वास्थ्य चौकीमा क्षयरोगका बिरामीको उपचार गर्ने लक्ष्य वर्षिक ६ जना हो। तर, यहाँको स्वास्थ्य चौकीले लक्ष्यभन्दा करिब तीन गुणा बढी बिरामीको उपचार गरिरहेको छ। गत आर्थिक वर्षमा मात्रै मसुरिया क्षेत्रमा ३१ जना नयाँ क्षयरोगका बिरामीले उपचार सेवा लिएको स्वास्थ्य चौकीले जनाएको छ।। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै स्वास्थ्य चौकीमा ६ जना नयाँ बिरामी थपिएका छन्।

थपिएका नयाँ बिरामी मध्ये गत आर्थिक वर्षमा तीन जनाको मृत्यु भएको थियो। मसुरिया स्वास्थ चौकीका जनस्वास्थ्य निरीक्षक लालप्रसाद पन्तकाअनुसार स्वास्थ्य चौकीले १२ जना क्षयरोगीको वार्षिक उपचार गर्ने लक्ष्य राखेको थियो। लक्ष्यभन्दा करिब तीन गुणा बढी नयाँ बिरामीको उपचार गर्नु परेको उनले बताए। ‘लक्ष्यभन्दा बढी बिरामी देखिनु भनेको मसुरिया क्षेत्र क्षयरोगका लागि ‘हटस्पट’का रूपमा देखिएको छ,’ उनले भने, ‘यसको निराकरणका लागि सरकारले छुट्टै नीति बनाएर चेतना जगाउनु आवश्यक छ।’

नेपालको राष्ट्रिय स्वास्थ्य नीति २०१४ र क्षयरोग निवारणको विश्वव्यापी रणनीतिअनुरूप गुणस्तरीय सेवाको सर्वव्यापी पहुँचमा क्रमशः विस्तार र उत्तरदायी तथा समतामुलक एकीकृत स्वास्थ्य प्रणालीबाट क्षयरोग नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाउँदै सन् २०३५ सम्ममा क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिएको छ। तर, कैलालीको मसुरिया क्षेत्रमा क्षयरोगी बढ्दै गएका छन्। मसुरिया क्षेत्रको जनसंख्या २९ हजार रहेको बताउँदै उनले भने, ‘यो जनसंख्याको आधारमा वर्षिक १२ जना बिरामी देखिनुपर्नेमा यहाँ वर्षिक ३१ जनाभन्दा बढी नयाँ बिरामी भेटिन थालेका छन्।’

मसुरिया स्वास्थ्य चौकीले १२ जना नयाँ क्षयरोगीको वार्षिक उपचार गर्ने लक्ष्य राखेकोमा करिब तीन गुणा बढी (३१ जना) नयाँ बिरामीको उपचार गर्नु परेको छ।

आधा वर्षको टार्गेट नै गत साउन महिनामा भएको बताउँदै उनले भने,‘वार्षिक १२ जना र अर्धवार्षिक रूपमा ६ जना नयाँ बिरामी भेटिनु पर्नेमा गत साउनमा मात्रै ६ जना नयाँ बिरामी थपिएका छन्।’ यो तथ्यांक हेर्दा कैलालीको मसुरिया क्षेत्र क्षयरोगका लागि ‘हटस्पट’ नै देखिन्छ। सुदूरपश्चिम प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हरेक आर्थिक वर्षमा उस्तै दरमा क्षयरोगका बिरामीको संख्या देखिँदै आएको छ। यो तथ्यांकले मुरिया क्षेत्रसँगै सुदूरपश्चिममा पनि क्षयरोगीको संख्या एउटै दरमा रहेको देखिन्छ।

औषधि सेवन गरे पनि क्षयरोगी भएको छरछिमेक वरपरका अन्य व्यक्तिमा रोग सरेको देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्। ‘रोग लागेर निधन भएका बिरामी भए पनि उसको सम्पर्कमा रहेका व्यक्तिमा वर्षौंपछि पनि क्षयरोगको लक्ष्यण देखिने गर्छ,’ स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ रोग निरीक्षक मनोज ओझाले भने, ‘बाजेमा देखिएको क्षयरोग वर्षौंपछि नातीमा सरेको देखिन्छ।’

सुदूरपश्चिममा क्षयरोगीको संख्या नबढेको भन्दै बेल्जियमकी राजकुमारी एष्ट्रिड अध्यक्ष रहेको दामियन फाउण्डेसनको सहयोगमा कैलालीको श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्रको स्थापना गरिएको छ। ३५ शड्ढया रहेको उपचार केन्द्रमा एक जना डाक्टर र अन्य स्वास्थ्यकर्मीको दरबन्दी छ।

प्रकाशित: १४ भाद्र २०७७ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App