१६ चैत्र २०८० शुक्रबार
समाज

एकसातासम्म पनि पिसिआर रिपोर्ट नपाउँदा चिन्तित

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा संचालित प्रयोगशालाको भवन। तस्बिर: अशोक सुजन श्रेष्ठ

हेटौंडा उपमहानगरपालिका –६ का प्रदीप ढुङ्गानाले कोरोना परीक्षण (कोभिड–१९) का लागि स्वाब दिएको एक साता हुन लाग्यो तर रिपोर्ट आएको छैन्। आफ्नै ठाउँमा स्वाब परीक्षण हुने भएपनि रिपोर्ट आउन आउन ढिला हुदाँ चिन्तित देखिन्छन्। ‘छिमेकीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वाब दिएको थिए, रिपोर्ट अहिलेसम्म आएको छैन’, उनले भने, ‘टोलमा सबैले संक्रमित भएझै व्यवहार गर्छन्, प्रयोगशालाबाट रिपोर्ट आउँदैन, हामी चिन्तैचिन्तामा बस्नु ?’ कन्ट्याक्ट ट्रेसिङमा परेका उनी नतिजा नआउदाँ दिक्क छन्।

हेटौंडा उपमहानगरपालिका –१० की ७० वर्षीया महिलाको पनि उस्तै गुनासो छ। कोरोना परीक्षणका लागि भदौ २ गते स्वाब दिएकी उनको पनि अहिलेसम्म रिपोर्ट आएको छैन। ‘धेरै दिनसम्म रिपोर्ट नआउँदा संक्रमित हो कि होइन भन्ने कुराले मानसिक तनाब भएको छ,’ उनले भनिन् ‘रिपोर्ट नआएपछि तनामा छु’ उनले पनि कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएकी थिइन्।

यी त उदाहरण मात्र हुन्। संकलन गरी पठाएको स्वाबको रिपोर्ट आउन ढिलाई हुदाँ एकातिर घरपरिवार, समाजको दृष्टिकोणमा नराम्रो हुनुपरेको छ भने अर्कोतिर मानसिक समस्या पनि उत्पन्न भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुरको पहलमा भदौ २ गते पत्रकारहरुको सामुहिक स्वाब संकलन गराएका थिए। चाँडै रिपोर्ट नआउँदा केही महिला पत्रकार तीज मनाउन घर जाने कि नजाने भन्नेमा चिन्तित थिए। धेरै दिनसम्म रिपोर्ट नआएपछि निरास भएका पत्रकारहरुले दबाव दिएपछि भदौ ५ गते रिपोर्ट सार्वजनिक गरेका थिए।  

बागमती प्रदेशको राजधानी हेटौंडामा चैत्र २० गतेबाट संचालित कोरोना भाईरस परिक्षण प्रयोगशालाको सेवा चाँडो नभएको भन्दै चौतर्फी आलोचना हुन थालेको छ।  हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा संचालित प्रयोगशालाले स्थापना गर्दा दैनिक ६० जनाको परीक्षण क्षमता रहेको बताईएको थियो। शुरुमा कोरोना भाइरस परीक्षण गर्ने ६ सय सेट परीक्षण किट प्राप्त भएपछि वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडाका निमित्त निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ सदस्सीय स्वास्थ्यकर्मीले परीक्षण शुरु गरेका थिए।  

प्रयोगशालामा हालसम्म १८ हजार ८ सय ७२ जनाको कोरोना परीक्षणका लागि नमुना प्राप्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईले बताए। ‘परीक्षणमा खासै ढिलाई भएको छैन, कोरोना परीक्षण गर्नै लामो समय लाग्छ नि, दैनिक ४ सयसम्म परिक्षण गरेका छौ’ उनले टेलिफोनमा भने, ‘कर्मचारीको कमी भन्दा पनि एउटै परिक्षण मेसिन भएकाले एकैपटक आएका स्वाबको परिक्षण चाँडै नसकिएको हो।’

प्रयोगशालामा जम्मा भएकामध्ये एक हजार ३ सय ७४ जनाको स्वाब परीक्षणको क्रममा रहेका छन्। जसमध्ये ५ सय जनाको स्वाब परीक्षणका लागि सोमबार प्रादेशिक प्रयोगशाला धुलिखेलमा पठाईएको उनले बताए। हेटौंडाको प्रयोगशालामा मकवानपुर, धादिङ, सिन्धुली, सिन्धुपाल्चोक तथा प्रदेश २ को बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि आउने गरेको छ।  

यता चितवनमा समयमा नतिजा नआउँदा घरमा थुनिएर बस्नु परेको स्थानीयले गुनासो गरेका छन्। स्बाब संकलन गरेर दिएको एक सातासम्म कुर्नुपरेको गुनासो गरेका हुन्। भरतपुर अस्पतालले संञ्चालन गरेको भरतपुर कोभिड १९ प्रयोगशालाको क्षमता कम छ भने नमूना संकलनको चाप बढेको छ। ‘प्रयोगशालामा हाल आठ जना प्राविधिक कर्मचारीले काम गरिरहेको भएपनि समयमा नतिजा दिन सकेका छैनौ,’ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले भनिन्, ‘अहिले परिक्षणको चाप बढ्दो छ, सात घण्टामा ९६ वटा मात्र नमूना परीक्षण गर्न सक्छौँ।’

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालमा संक्रमण फैलिदाँ भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमूना परीक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टिनमा वसेकाहरुको नतिजा आउन ढिला भएको बताए। यहाँको सरकारी प्रयोगशालामा जिल्लाका सात स्थानीय तह, सरकारी र निजी अस्पताल, मेडिकल कलेजसँंगै छिमेकी जिल्लाबाट समेत नमूना आउने गरेको छ। चैत अन्तिम साता सुरु भएको सो प्रयोगशालाले हाल सम्म १८ हजार नमूना परीक्षण गरिसकेको छ।  

कोरोना परिक्षण प्रयोगशाला निर्माण गर्दै प्रदेश सरकार

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेटौंडा, त्रिशुली, सिन्धुली र भक्तपुरमा कोरोना परिक्षण प्रयोगशाखा निर्माण गर्ने भएको छ। मंगलबार पत्रिकामा विज्ञापन प्रकाशित गरेर मन्त्रालयको स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले दैनिक ९ सय जनाको नमूना परिक्षण क्षमताको प्रयोगशाला निर्माणका लागि बोलपत्र (टेण्डर) आव्हान गरेको छ।

दुई हप्ता भित्रै प्रयोगशालाको निर्माण सुरु हुने मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव अनुप पौडेलले बताए। एक हप्ताको समयावधि तोकिएको टेण्डरको भदौ १६ गते नै खोलिने विज्ञापनमा उल्लेख छ। प्रदेश सरकारले आईतबारदेखि धुलिखेलमा प्रादेशिक ल्याबमा सञ्चालनमा ल्याई सकेको छ। भने अन्य जिल्लाहरुमा पनि कोभिड अस्पताल संचालन गर्ने तयारी गरेको छ। 

प्रकाशित: ९ भाद्र २०७७ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App