१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

३१ हजार नाघे संक्रमित, मृतकको संख्या १ सय ४६

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ। पछिल्लो चौबिस घण्टामा मात्र ९ जनाले भाइरसका कारण ज्यान गुमाएका छन्। मृत्यु हुनेमा सुनसरीका ६ वर्षीय बालक तथा  ६७ वर्षीय पुरुष छन्। त्यस्तै, पर्साका ४५, ५८ र ६१ वर्षीय, बाराका ५८ वर्षीय, सिराहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षका पुरुष रहेका छन्। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ।  

संक्रमण नियन्त्रण गर्न सरकारले एकैसाथ देशभरि लकडाउन घोषणा नगरे पनि अधिकांश भागमा अहिले निषेधाज्ञा छ। तर पनि संक्रमितको संख्या पनि कम भएको छैन। पछिल्लो २४ घण्टामा मात्र थप ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थपसहित कुल संक्रमित संख्या ३१ हजार १ सय १७ पुगेको छ। गत चौबिस घण्टामा सबैभन्दा बढी काठमाडौं उपत्यकामा संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना गरी कुल २ सय १६ जना छन्।  

त्यसैगरी, उपत्यकाबाहिर पर्सामा ५९, मोरङमा ५२, सिराहामा ३५, सुनसरीमा ३१, मकवानपुरमा ३२, चितवनमा २७, बाँकेमा २८ र रूपन्देहीमा २३ जना संक्रमित थपिएका छन्। थपसहित देशभरिमा १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन्। तीमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसन र ३ हजार २ सय १६ जना होम आइसोलेसनमा छन्। त्यसैगरी, देशभर १ सय ३५ जनाको आइसियुमा र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।  

गत चौबिस घण्टामा थप १ सय ३६ जना निको भई घर फर्केका छन्। नेपालमा संक्रमण निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ। कुल संक्रमितमध्ये ५९ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ। हाल ११ हजार ६ सय ५८ जना देशभरिमा क्वारेन्टिनमा छन्। गत चौबिस घण्टामा १२ हजार ५ सय १९ जनाको पिसिआर नमुना परीक्षण गरिएको थियो। योसहित नेपालमा ५ लाख ९२ हजार ४ सय १८ वटा कुल नमुना परीक्षण भइसकेको छ।  

कोरोनाविरुद्ध खोप ल्याउने तयारी  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन तयारी र प्रक्रिया दुवै अघि बढाएको जनाएको छ। शनिबार मन्त्रालयका विज्ञ चिकित्सक डा. रोशन पोखरेलले विभिन्न राष्ट्रमा कोभिड–१९ विरुद्धको खोप बन्दै गरेको अवस्थामा नेपालमा छिट्टै ल्याउने तयारी भइरहेको बताए। शनिबार मन्त्रालयकै प्रवक्ता डा.जागेश्वर गौतमले लिएको अन्तवार्तामा उनले यस्तो बताएका हुन्। मन्त्रालयले डा. पोखरेलसितको भिडियो अन्तरवार्ता लाइभ प्रस्तुत गरेको थियो।  

यसका लागि सरकारले बजेट तयारी अवस्थामा राखेको र विश्व स्वास्थ्य संगठनलाई नेपालमा छिटो पहल गरिदिनका लागि अनुरोध गरिसकेको उनले बताए। ‘हामीले बजेट पनि तयारी अवस्थामा राखेका छौं, विश्व स्वास्थ्य संगठनलाई पनि प्राथमिकतामा राख्न पहल गर्न भनेका छौं,’ उनले भने।  

६ दिनपछि मात्र परीक्षणमा जानु

काठमाडौं उपत्यकामा संक्रमितको नजिकको सम्पर्कमा पुगेका व्यक्तिहरू संक्रमित भएको थाहा पाउनबित्तिकै परीक्षण गर्न जाने गरेको र यसो गर्दा रिपोर्ट सही नआउने भएकोले कम्तीमा ५ देखि ७ दिनपछि मात्र नमुना परीक्षणमा जान मन्त्रालयले अनुरोध गरेको छ। संक्रमितको नजिकको पहिलो सम्पर्कमा परेका व्यक्तिहरू राजधानीको पाटन, टिचिङ, काठमाडौं मेडिकल कलेज, सिभिल हस्पिटल, शसस्त्र बल प्रहरी अस्पताल बलम्बु, भक्तपुर अस्पताल, नेपाल प्रहरी, ह्याम्स अस्पताल, प्रसूति गृह, नेपाल कोरिया मैत्री अस्पताललगायतमा सम्पर्क गरी परिक्षण गराउन सक्नेछन्। तर सात दिन बित्नुअघि उनीहरू एकान्तमा बस्ने र परीक्षण गरेर आइसकेपछि पनि बाहिर नडुली बस्नको लागि अनुरोध गरेको छ। रिपोर्ट आउनुअघि डुल्दा अरूलाई संक्रमण हुने जोखिम भएकाले यस्ता व्यक्ति घर वा क्वारेन्टिनमा सुरक्षित बस्न अनुरोध गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।  

‘अप्ठेरोमा परेका नागरिकलाई निःशुल्क उद्धार गर’

काठमाडौं, भदौ ६ (नागरिक)– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पिसिआर टेष्ट सहज भएका देशमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीलाई आउन दिने निर्णयप्रति असन्तुष्टि जनाएको छ। उद्धारमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी भएको उल्लेख  गरेका छन्।

‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडी मुलुकका श्रमिकलाई चार्टर उडानको महँगो टिकट खरिद गर भन्नु कति न्यायोचित छ ?,’ विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?’

सरकारले बिहीबार मात्र पिसिआर टेष्ट सहज भएका देशमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीलाई आउन दिने निर्णय गरेको छ। यसरी आएकाहरू आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ। एक त चार्टर फ्लाइटको महँगो टिकट  

काट्नुपर्ने, होटेल क्वारेन्टिनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, पिसिआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्चसमेत आफै हाल्नुपर्ने निर्णय गरेको छ।  

अनुकूल अवस्थामा देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्र भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल अवस्थामा सरकार किन गर्दैछ ‘वर्ग शत्रुु’को व्यवहार भन्ने प्रश्न गर्दै कांग्रेसले अप्ठ्यारोमा परेका नेपालीको उद्धारमा सरकारको मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत भएको देखिएको आरोप लगाएको छ। ‘सरकारको पछिल्लो निर्णयअनुसार सरकारले विदेशमा  

अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्धारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ,’ उसले भनेको छ,‘ उद्धारको यो कछुवा गतिभित्र विदेशका अन्य देशमा रहेका नेपालीको पीडा बुझ्ने हृदय  विल्कुलै देखिएन।’  

विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई उच्च मानवीय भावना साथ उद्धार गर्र्न सरकारलाई आग्रह गर्दै कांग्रेसले भनेको छ, ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ भन्ने कुरालाई आत्मसात गर्न नेपाली कांग्रेस सार्वजनिक रूपले नेपाल सरकारलाई अपिल गर्दछ।’

प्रकाशित: ७ भाद्र २०७७ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App