१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना संक्रमितको सेवा गरेर नर्सले मनाए तीज

शुक्रबार हिन्दु नेपालीको महत्वपूर्ण पर्व तीज। तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्चार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन, बरु बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो। त्यसैले शुक्रबार बिहानै अस्पताल पुगिन्। आइसियुमा रहेका प्यूठानका कोरोना संक्रमित ६४ वर्षीय बिरामीलाई निको पार्न उनी बिहानै उपचारमा खटिएकी थिइन्।  

‘मैलै त आज तीज हो भन्ने पनि हेक्का राखिन, बिहानै कोरोना संक्रमित बिरामीको मृत्यु भयो, यसैको व्यवस्थापनमा दिन बित्यो,’ पौडेलले भनिन्। उनी नर्सिङ इन्चार्ज भएकाले कोरोना संक्रमित बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी (नर्सहरू) को व्यवस्थापन गर्नुपर्छ। त्यसैले राति अबेर र बिहान सबैरै अस्पताल पुग्नु उनको नियमित कामभित्र पर्छ।  

समु्दाय तहमा कोरोना फैलिन थालेपछि हाम्रो जिम्मेवारी बढेको छ, तीज अर्को वर्ष मनाए पनि हुन्छ, तर कोरोना संक्रमितको सेवा रोक्न मिल्दैन नर्सिङ इन्चार्ज पौडेलले भनिन्, ‘दर खाने दिन बिहीबार पनि रातिसम्म सेवामै थियौं।’  

पौडेल एक वर्षको दूधे बच्चा घरमा छाडेर संक्रमितको उपचारमा खटिएकी छन्। ‘अघिल्ला वर्षमा तीजले एक महिना अघिदेखि छुन्थ्यो, तर यो वर्ष त दिमागमा तीज भन्ने सम्झना पनि आएन, बिरामीसँगै बित्यो यो वर्षको तीज,’ उनले भनिन्। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा मात्रै ३७ जना नर्स छन्। तीमध्ये २० जना नर्स अहिले नियमित ड्युटीमा छन्। उनीहरू अस्पतालमा दुई हप्ता काम गरेपछि एक हप्ता क्वारेन्टिन बसेर फेरि नियमित सेवामा खट्ने गरेका छन्। ‘आमाले तीज आयो भनेर त फोन गर्नुभएको थियो, तर मेरो लागि बिरामीको सेवा नै ठूलो हो,’ कोरोना विशेष अस्पताल आइसियु कक्षमा खटिएकी नर्स लक्ष्मी ज्ञवालीले भनिन्।  

आइसियु कक्षमा पछिल्ला दिनमा बिरामीको संख्यासमेत वृद्धि हुँदै गएकाले सेवामै नियमित खटिएको उनले बताइन्। तीजको बेलामा नियमिति ड्युटीमा खटिएकी लक्ष्मीले ३ वर्षको बच्चा छाडेर १० दिनदेखि लगातार अस्पतालमै सेवामा खटिएको बताइन्। १४ दिन लगातार ड्युटी गरेपछि एक आइसोलेसन र एक हप्ता घरमा बस्न पाउने नियम छ। वैशाखदेखि लक्ष्मी कोरोना अस्पतालमै खटिएकी छन्।  

‘तीज वर्षदिनमा आउने चाड त हो तर अहिले अस्पतालमा कोरोना संक्रमित बढेका छन्, त्यसैले यस्तो बेलामा आफ्नो बारेमा सोच्ने त फुर्सद पनि भएन,’ उनले भनिन्। कोरोना अस्पतालमा अग्रपंक्तिमा नर्सहरू नै खटेका छन्।  

यो वर्ष नर्सले बिरामीको सेवा गरेरै तीज मनाएका छन्। कोरोना विशेष अस्पतालमा कार्यरत नर्सहरूले कोरोना संक्रमिति बिरामीको सेवा गर्दै दर खाएका छन् भने लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले पनि बिरामीको उपचारमा खटिएरै तीज मनाएका छन्। लुम्बिनीमा करिब २ सय नर्स छन्। प्रदेश ५ का अधिकांश आइसोलेनसन र कोरोना विशेष अस्पतालमा खटिएका नर्सहरूले आफ्नो परिवारलाई भन्दा संक्रमितको सेवालाई प्राथमिकता राखेका छन्। जसका कारण तीजमा पनि बिरामीकै सेवामा समर्पित भएर तीन पर्व मनाए।  

समाजमा कोरोना संक्रमितलाई तिरस्कार गर्ने गरेको खबर आइरहेका बेला बुटवलका नर्सले भने सचेतना जगाउँदै गीतसमेत गाएका छन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कार्यरत नर्सहरूले कोरोनासम्बन्धी सन्देशमूलक तीज गीतसमेत गाएका छन्।  

कोरोना संक्रमितको उपचारमा खटिएका नर्सिङ इन्चार्ज ज्योती पौडेल, नर्सहरू टीका भट्टराई, मीना पौडेल र जमुना पन्थीको रचनामा कमला ज्ञवाली, विष्णु पन्थी, प्रतिमा श्रेष्ठ, कमला कार्की, माधुर्य ज्ञवालीको सहभागितामा कोरोनासम्बन्धी सन्देश दिनेगरी भिडियो गीतसमेत निर्माण गरिएको छ। उक्त भिडियोलाई प्रदेश ५ सामाजिक विकास मन्त्रालयको नियमित कोरोना अपडेटमा समेत देखाइएको थियो। 

प्रकाशित: ६ भाद्र २०७७ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App