८ वैशाख २०८१ शनिबार
समाज

निषेधाज्ञा सहरी क्षेत्र केन्द्रित

फाइल तस्विर

कोरोना भाइरसको संक्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको आंशिक क्षेत्रमा मात्र निषेधाज्ञा लगाएको छ। १२ वटा वडा रहेको उक्त नगरपालिकाभित्र २ देखि ९ नम्बरसम्मका वडामा मात्रै निषेधाज्ञा लगाइएको छ। बाँकी वडा भने खुला छन्। नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा लगाइएका ती वडा सहरी क्षेत्रका हुन्। जोखिम नभएकाले ग्रामीण क्षेत्रका वडामा प्रशासनको निषेधाज्ञा छैन।

तनहुँकै देवघाट गाउँपालिकाले पनि एउटा मात्र वडा (५ नम्बर) लाई सिल गरेको छ। देवघाटस्थित आश्रममा रहेका एक युवामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको उक्त वडा मुख्य बजार मात्र नभएर धार्मिक क्षेत्र पनि हो। देवघाटमा पाँचवटा वडा छन्। अरू वडा ग्रामीण भेग भएकाले मानिसको आउजाउ कम हुने र भीडभाड पनि नहुने भएपछि सिल गर्नुपर्ने आवश्यकता नदेखिएको गाउँपालिकाले बताएको छ। बिहीबारदेखि सिल गरिएको वडामा भने ११ गतेसम्म हिँडडुल गर्न बन्देज लगाइएको छ।

तनहुँका दुईवटा स्थानीय तहका यी गतिविधिलाई उदाहरणका रूपमा मात्र लिन सकिन्छ। कोरोना संक्रमण बढेपछि अहिले विभिन्न जिल्लामा निषेधाज्ञादेखि स्थानीय तह सिल गरिएका छन्। निषेधाज्ञा र सिल गर्दा प्रायः सहरी क्षेत्रलाई नै लक्षित गरिएको पाइन्छ। एकै स्थानीय तहमा परे पनि ग्रामीण क्षेत्रमा भने कुनै पनि प्रकारको निषेध छैन। शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालका अनुसार निषेधाज्ञा लगाइएका वडा खासगरी सहरी क्षेत्र र राजमार्ग पर्छन्। बाक्लो बस्ती र मान्छेको भीडभाड तथा सवारीको आउजाउ बढी हुने हुँदा संक्रमणको त्रास उच्च भएकाले त्यसो गरिएको उनको भनाइ छ।

‘नगरपालिकाभित्र परे पनि चारवटा वडा गाउँ भएकाले पुरै खुला छन्,’ उनले भने, ‘गाउँमा मान्छेको उति सारो आउजाउ हुन्न। बढी भीडभाड पनि नभएकाले त्यस्ता वडालाई निषेधाज्ञा आवश्यक नपरेको हो। तर सहरमा भीडभाड भएकाले त्रास छ।’ ग्रामीण क्षेत्र खुला भए पनि नगरपालिकाले ती गाउँका वडा कार्यालय भने बन्द गरेको उनले बताए। ‘गाउँमा खेतीपाती चलिरहेको छ। बाक्लो हिँडडुल नहुने भएकोले खासै समस्या छैन,’ कुमालले भने, ‘अहिलेको त्रास सहरमा हो। तर त्रास छैन भन्दैमा गाउँमा फुक्काफालचाहिँ गर्न दिनुहुन्न भन्ने छ।’

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा पनि गाउँमा त्यति समस्या नदेखिएकाले सहरी क्षेत्रमा मात्र सिल गरिएको बताउँछन्। ‘देवघाट बाहिरबाट हेर्दा सुगम देखिए पनि यहाँका गाउँसम्मको आउजाउ निकै नै कष्टपूर्ण छ,’ उनले भने, ‘जोकोहीको पहुँच नपुग्ने भएकाले ती गाउँमा हामीले सिल गर्न आवश्यक ठानेनौं।’ उनका अनुसार त्रिशूलीमाथिको झोलुंगे पुल तरेर चितवनको भरतपुर महानगरपालिकाबाट युवायुवतीको देवघाटतर्फ बाक्लो आउजाउ हुन थालेपछि संक्रमणको जोखिम बढेकाले ५ नम्बर वडा क्षेत्र बन्द गरेको अध्यक्ष थापाले बताए। ‘धार्मिक र आश्रम क्षेत्रमा क्रमण बढ्यो भने समस्या आउन सक्ने ठानेर बन्द गरेका हौं,’ उनले भने।

तनहुँमा मात्र नभई गोरखा, कास्की, स्याङ्जामा पनि अहिले स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेका छन्। गोरखाको पालुङटार नगरपालिकाले कोराना संक्रमण बढेपछि साउन ३२ गतेदेखि नगरपालिका सिल ग¥यो। पालुङटारमा समुदायमा कोरोना देखिएपछि नगरपालिकाले आफ्नो क्षेत्रभर सिल गरेको थियो। त्यस्तै गोरखा नगरपालिकाले पनि नगरभित्र संक्रमित भेटिएपछि प्रशासनसँग परामर्शमा सिल गर्ने तयारी ग¥यो। तर, प्रशासनले भने भदौ १ देखि जिल्लाभर निषेधाज्ञा लागु गरेपछि अहिले सबैतिरको हिँडडुल र यातायात बन्द छ। निषेधाज्ञा लागु गरेपछि जिल्लाभर सवारी चल्न पाएका छैनन्।

गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले गाउँमा भन्दा सहरमा जोखिम बढ्न थालेपछि जिल्लाभरको आउजाउमा कमी ल्याउन निषेधाज्ञा लागु गरिएको बताए। ‘अहिले सबैतिर जोखिम बढेको छ। झनै संक्रमण बढ्ने हो कि भन्ने देखियो,’ उनले भने, ‘केही दिन मानवीय आउजाउ रोकिँदा संक्रमण कम हुने हाम्रो आँकलन हो।’ उनका अनुसार गोरखाका मुख्य तीनवटा बजार क्षेत्रमा संक्रमणको जोखिम छ। सदरमुकाम गोरखाबजार, आरुघाट र पालुङटारमा समस्या देखिएपछि ती क्षेत्रमा बढी सचेत हुनुपर्ने अवस्था आएकाले जिल्लाभर नै निषेधाज्ञा लगाएको उनले बताए। ‘संक्रमण फैलिने त्रास भयो तर स्थानीय तहले सिल गर्दा प्रभावकारी नहुने भएकाले जिल्ला प्रशासनले सबै स्थानीय तहको अनुरोधमा सात गतेसम्मका लागि सिल गरेको हो,’ प्रजिअ भट्टराईले भने, ‘जिल्ला प्रवेशमा पनि कडाइँ गरिएको छ। बढीमा दुई साता कडाइ गर्दा अवस्था पनि थाहा हुन्छ।’

सहरी क्षेत्रमा बढी जोखिम भए पनि ग्रामीण क्षेत्रमा रोक लगाउनुमा सवारीको आउजाउ मुख्य कारण रहेको उनले बताए। ‘गाउँमा चल्ने सवारीबाट निकै नै हेलचेक्रयाँइ भयो, ग्रामीण क्षेत्रका सवारीले स्वास्थ्यको मापदण्ड पालना गराउन सक्दैनन्,’ उनले भने, ‘त्यही सवारीबाट आउजाउ गराउँदा दुर्गम गाउँसम्म संक्रमण फैलिन सक्छ। त्यही भएर गाउँमा समेत संक्रमण फैलिन नपाओस् भनेर यातायातका साधन रोक्नेगरी निषेधाज्ञा लगाइएको हो।’ निषेधाज्ञा लगाए पनि अहिले गाउँमा काम गर्न र हिँडडुलमा उतिसारो समस्या नभएको उनले बताए।

कास्कीमा पनि पोखरा महानगरपालिकाले महानगरभित्र मात्र निषेधाज्ञा लगाउन कास्की प्रशासनलाई अनुरोध ग¥यो। तर कास्की प्रशासनले अरू स्थानीय तहसँग परामर्श गरेर जिल्लाभर निषेधाज्ञा घोषणा गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए। ‘महानगर आफैंमा पनि फराकिलो क्षेत्र हो। पछिल्लो समय महानगरभित्र नै संक्रमण बढ्दो छ। त्यसैले महानगरले कास्की प्रशासनलाई पत्र पठाएपछि अरू गाउँपालिकासँग परामर्श गरेर निषेधाज्ञा लगाइएको हो,’ उनले भने, ‘पोखरा सबैतिरको केन्द्र पर्ने भएकाले पनि बढी त्रास छ। सबैतिरबाट पोखरा आउजाउ हुने भएकाले जिल्लाभर नै निषेधाज्ञा लगाइएको हो।’ उनले पनि अहिले ग्रामीण क्षेत्रमा भन्दा सहरमा बढी त्रास र संक्रमण बढिरहेको बताए।

प्रकाशित: ५ भाद्र २०७७ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App