४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु, तीन गम्भीर घाइते

दैलेखको गुराँसे गाउँपालिका–१ केराबारीमा अवरुद्ध कर्णाली राजमार्ग। तस्विरः नगेन्द्र उपाध्याय

अविरल वर्षका कारण मंगलबार राति पहिरोले घर बगाउँदा कर्णालीमा तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एक जनाको मृत्यु भएको हो।

सुर्खेतको सिम्ता गाउँपालिका–१, गान्द्राका रंगे खत्रीको घर पहिरो बगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ। त्यस्तै दैलेखको भगवतीमाई गाउँपालिका–५, कट्टिटाक्लाका ६६ वर्षीय बलबहादुर रावतको पनि मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदाको उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार दैलेखको ठाँटीकाँध गाउँपालिका–४ गैरीगाउँमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ। टिकाराम कठायतको घर पहिरोले बगाउँदा उनका छोरा १२ वर्षीय जनकको मृत्यु भएको छ। टिकारामका भाईका छोरा ११ वर्षीय लोकेश कठायत वेपत्ता भएको प्रवक्ता बास्तोलाले जानकारी दिए।

उनका अनुसार टिकारामका अर्का छोरा सन्तोष, शम्शेर र छिमेकी बमबहादुर नेपाली गम्भीर घाइते भएका छन्। टिकाराम र उनका श्रीमती धनसरा कठायत सामान्य घाइते भएका छन्। यहाँ वेपत्ताको खोजी भइरहेको बताइएको छ। घाइतेको उपचारका लागि हेलिकोप्टर ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै दैलेख आठवीस–१ रामघाटस्थित कर्णालीमा नदीको बहाव अत्यधिक बढेकाले यहाँका करिब ५५ घर बाढीको जोखिममा रहेका छन्। प्रहरीले उनीहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

साथै जाजरकोट छेडागाड नगरपालिका–१ छानवाङका वीरबहादुर नेपालीको घरमा चट्याङ पर्दा एकजना बालकको मृत्यु भएको छ। वीरबहादुरका छोरा ३ वर्षीय सोमनको मृत्यु भएको प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध

दैलेखको गुराँसे गाउँपालिका–१ केराबारीमा सडक भासिँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। यहाँ करिब डेढ किलोमिटर सडक भासिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

 

 

प्रकाशित: ३ भाद्र २०७७ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App