१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विपद् अध्ययन कार्यदल बनाउन प्रस्ताव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा आइपरेका विपत्तिको अध्ययन र तिनले निम्ताएका समस्या समाधानका लागि सुझाव कार्यदल गठन गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन्। पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि प्रस्ताव तयार गर्न गठन गरिएको कार्यदल अनुमोदन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा नेता नेपालले यस्तो प्रस्ताव गरेका हुन्।  

नेता नेपालले पार्टी विपद् व्यवस्थापन विभागका संयोजक गंगालाल तुलाधरको संयोजकत्वमा अध्ययन कार्यदल बनाउन प्रस्ताव गरेका छन्। कार्यदलमा विषयगत विज्ञहरूलाई सदस्यका रूपमा राख्न पनि उनले प्रस्ताव गरेका छन्। ‘कोभिड–१९ र प्राकृतिक विपत्तिमा जनप्रतिनीधिहरूले कसरी काम गरिहरेका छन्। उनीहरूको कामबाट जनता सन्तुष्ट छन कि छैनन, संघीय सरकार स्थानीय सरकारबीच काममा तालमेल छ कि छैन। जनप्रतिनिधिको कामलाई जनताले कसरी मूल्यांकन गरिरहेका छन्। विपत् न्यूनीकरण गर्न र प्रभावितको हितमा के गर्न सकिन्छ भन्नेबारे अध्ययन कार्यदल बनाऔ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।  

स्रोतका अनुसार नेपालले राखेको प्रस्तावमा दुवै अध्यक्षहरू सहमत छन्। तर तत्काल पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले काम सिध्याएपछि सचिवालयको अर्को बैठकले नेपालको प्रस्तावलाई सार्थक विन्दुमा पु¥याउने अध्यक्षद्वयले बताएका छन्। बैठकमा नेता नेपालले पार्टी विवाद मिलाउने प्रस्ताव तयार पार्न दुई अध्यक्षले गठन गरेको कार्यदलका विषयमा आपत्ति नजनाए पनि व्यक्ति प्रधान हुने कि विधि प्रधान भन्ने प्रश्न गर्दै गठन प्रक्रियाप्रति भने असहमति जनाएका थिए।  

नेताहरू ‘पर्ख र हेर’ को अवस्थामा

नेकपाको आन्तरिक विवाद प्याकेजमै मिलाउन अध्यक्षद्वयले कार्यदल बनाएपछि अन्य नेताहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन्। सरकार सञ्चालन, सरकारको समग्र मूल्यांकन, पार्टी सञ्चालन विधि, पद्धतिका विषयमा विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूले अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र चुलिएको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाइएको छ।  

‘शीर्ष नेताहरू कार्यदलले कस्तो सुझाव ल्याउछ भन्ने पर्खाइमा छन्’, स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार शीर्ष नेताहरू झलनाथ खनाल, नेपाल र नारायणकाजी श्रेष्ठले कार्यदल गठनको विधिमाथि आपत्ति जनाए पनि उनीहरू कार्यदलको विपक्षमाछैनन्।  

सोमबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले पनि कार्यदल दुई अध्यक्षले मात्रै बनाउने भए कमिटीबाट किन अनुमोदन गराउनु प-यो भनेर प्रश्न गरेका थिए। ‘आफू (सचिवालय) ले सिर्जना गरेका समस्या समाधानका उपाय आफैंले पत्ता लगाउनुको सट्टा, अथवा आफू रहेको कमिटीबाट समाधान गर्न नसकी छुट्टै कार्यदल बनाउनुले हामी नेतृत्वमा रहेका व्यक्ति (नेतृत्वहरू) असफल भएकै हौ त ?’ गौतमले भनेका थिए।

प्रकाशित: २ भाद्र २०७७ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App