२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लापरबाहीले फैलिँदै संक्रमण

जगदम्बा स्टिलमा कोरोना संक्रमित भारतीय नागरिकलाई लुकाएपछि आक्रोशित स्थानीय। तस्विरःनागरिक

पथलैया औद्योगिक करिडोरका केहि उद्योगको लापरवाहीले संक्रमण फैलिएको छ। स्वास्थ्य सुरक्षा बिना नै कामदारलाई काममा लगाउँदा उद्योगभित्र संक्रमण फैलिएको पाइएको छ।साउन २९ गत्ते जिल्ला प्रशासन कार्यालय बाराले जितपुर सिमरा उपमहानगरपालिकाको सिमरामा सञ्चालित जगदम्बा स्टिल प्रालिमा कार्यरत पाँच जना भारतिय र एक जना नेपाली कामदार गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भयो।

संक्रमितलाई खोज्दै जाँदा उनीहरुको अत्तोपत्तो थिएन। उद्योगले संक्रमित लुकाएको भन्दै स्थानीयहरु प्रदर्शनमा उत्रिए। अनुसन्धान गर्दै जाँदा संक्रमित पाँच जना भारतीय नागरिक घर पुगिसकेका रहेछन्। जगदम्बा स्टिल प्रालिले उद्योगमा कार्यरत १ सय २३ जनाको पिसिआर परीक्षण गराउँदा साउन २७ गत्ते ११ जनाको रिपोर्ट पाजेटिभ आएको उद्योगले जनाएको छ।

संक्रमितमध्ये ६ जना सम्पर्कमा आएनन्। उनीहरु उद्योगबाट आ आफ्नो घर पुगिसकेका छन। बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार ५ जना भारतीयलाई महावाणीज्य दुतावास मार्फत सम्बन्धित जिल्लामा खबर गरी आवश्यक सुरक्षा उपाय अपनाउन भनिएको छ।

कोरोना संक्रमित कामदारलाई आफूखुसी भारत पठाउने जगदम्बा स्टिल प्रालिलाई स्थानीय प्रशासनले साउन ३२ गत्तेसम्मका लागि सिल गरेको छ। त्यसपछि उत्पादित सामान पठाउन र कच्चा पदार्थ भित्र्याउन बाहेक उद्योग बन्द राख्ने गरी खुल्ला गरिने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

स्वाब परीक्षण गराउनुको अर्थ कोरोना संक्रमण यकीनका लागि हो। त्यसैले परीक्षणको नतिजा नआउन्जेल सम्बन्धित व्यक्तिले कम्तीमा क्वारेन्टिन बस्नुपर्छ। तर, जगदम्बा स्टिल प्रालिको हकमा अवस्था ठीक उल्टो भयो। स्वाब दिएर परिणाम नआउँदै कामदारहरु गायब भए। कोरोना पोजेटिभ पुष्टि भएकाहरूलाई स्थानीय प्रशासनले खोजी गर्दा  भारतीय नागरिक उनीहरु आफ्नो घर पुगिसकेका रहेछन। जसका कारण उनीहरुको कन्ट्याक्ट ट्रेसिङ जटिल बेनेको छ भने संक्रमणको जोखिम झन्झन् बढेको छ।

औद्योगिक करिडोरमै संचालित जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सिईओ)को कोरोनाबाट मृत्यु भएपछि उक्त उद्योग केही समयको लागि सिल समेत गरेर खुल्ला गरिदिएको छ।

साउन ७ गत्तेबाट लकडाउन खुकुलो भएपछि औद्योगीक महानगर वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमणको बाढी नै आएको छ। खुला सीमाको फाइदा उठाएर पारिबाट लुकेर छिरे भन्दै सुरक्षा अधिकारीहरु पन्छिरहेका छन्। सीमा सुरक्षाको जिम्मा संघीय सरकारको हो भन्दै प्रदेश सरकार उम्किरहेको छ। लकडाउन खुकुलो पारिए पनि सीमाको सिल ब्रेक गरेका होइनौं भन्दै संघीय सरकार पन्छिँदैछ।

जगदम्बा स्टिलका संचालक पवनबाबु गुप्ताले उद्योगले स्वास्थ्य सुरक्षा अपनाएरै कामदारलाई काममा खटाएको दाबी गरे। उद्योगमा कार्यरत्त भारतीय कामदारहरु स्वाब संकलन गरिएकै दिन घर गाएको गुप्ताले बताए। परीक्षण रिपोर्ट आउँदा उनीहरु घर पुगिसकेकाले सम्पर्कमा ल्याउन सकिएन’, उनले भने।  

सीमा नाका सिल गरी मानिसहरुको आउजाउमा रोक लगाइएको बेला बेलामा वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा भारतीय कामदारहरु सीमाबाट प्रवेश गरी उद्योगमा आएपछि संक्रमण फैलिएको घटना सार्वजनिक भएसँगै शस्त्र प्रहरी प्रधान कार्यालयबाट छानविन सुरु गरिएको छ।  

प्रधान कार्यालयबाट सशस्त्र प्रहरीका डिआजी नाराणण दत्त पौडेलको नेतृत्वमा छालबिन टोली खटेको छ। केही दिन पहिला मात्रै डिआजी पौडेलको नेतृत्वको टोलीलेबारा र पर्सामा अनुसन्धान सुरु गरेको छ। भारतीय मजदुरहरु सीमाबाट कसरी प्रवेश गरे ? उद्योगसम्म कसरी पुगे ? लगायत प्रश्नको जवाफ सम्बन्धित बोर्डर आउटपोष्टका ईन्चार्जसँग लिएको छ। सशस्त्र प्रहरीको प्रवक्ता राजुअर्यालले भारतबाट कामदारहरु उद्योगमा आएकोबारे बुझ्न प्रधान कार्यालयबाट टोली खटिएको पुष्टि गरे।अनुसन्धानबाट खुलेका कैफियतहरु अहिले नै बताउन नसकिने उनले भने।

प्रकाशित: ३२ श्रावण २०७७ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App