२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लिदी पहिरोः मृतकको संख्या १२ पुग्यो, २७ अझै बेपत्ता (अपडेट)

पीडितलाई घर बनाइदिन्छौँ–मुख्यमन्त्री पौडेल

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। पहिरोमा अझै २७ हराइरहेका छन्। पहिरोमा शनिबार थप एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुल्न सकेको छैन। शुक्रबार ११ शव फेला परेका थिए। ती शवको भने शनिबार बिहान सनाखत भएपछि अन्त्यष्टि गरिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सात बालबालिका, दुई÷दुई महिला र पुरुषको सनाखतपछि कानुनी प्रक्रिया पुरा गरेर शव परिवारलाई जिम्मा लगाइएको थियो।

सनाखतपछि मृतक टीकामाया दोङ (३६) छिरिङ दोङ (१४), जिते झाँक्री (८०), मिलन दोङ (८), सानु दोङ (५), जयबहादुर दोङ (७०), दावालामु (सानुकान्छी) दोङ (३०), उनकी छोरी प्रिती दोङ (५), उनकै पाँच महिनाकी छोरी तारालामु दोङ, धनमाया तामाङ दोङ (३४) र उनका चार महिनाका छोरा रेमीश दोङको अन्तिम संस्कार गरिएको हो। घटनास्थल नजिक मृतक महिला र पुरुषलाई फरक–फरक स्थानमा बौद्धधर्म परम्पराअनुसार अन्तिम संस्कार गरिएको स्थानीय प्रेम दोङले जानकारी दिए।  

शुक्रबार बिहान बस्तिको पाँच सय मिटरमाथिबाट पहिरो खस्दा लिदी गाउँका ३७ घर पुरेको थियो। घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए। तीमध्ये १२ को शब फेला परेको हो। बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बेपत्ताको खोजीमा जुटेको थियो। मध्याह्न पहिरोबाट देलो ढुंगामाटो बग्न थालेपछि खोजी कार्य बिथोलिएको छ। त्यतिबेला सुरक्षाकर्मीबीच नै भागदौड मच्चिएको थियो।  

पीडितलाई घर बनाइदिन्छौँ–मुख्यमन्त्री पौडेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले लिदी पहिरो पीडितका लागि घर बनाइ दिने आश्वासन दिएका छन्। राहत सामग्रीसहित पहिरोस्थलको अबलोकन गर्न शनिबार घटनास्थल पुगेका उनले प्रदेश सरकारले पीडितलाई बस्ति बसालेर राख्ने बताए।  

‘तत्काललाई सुरक्षित स्थलमा अस्थायी संरचना बनाएर राख्छौँ। पछि दीर्घकालीन सोचका साथ बस्ती नै बसालेर पीडितलाई पुनर्वास गराउँछौँ,’ पीडितलाई आश्वासन दिँदै उनले भने। उनले पीडितलाई दाल, चामल, अस्थायी शौचालय, स्वास्थ्य सामाग्री लगायत राहतसमेत बितरण गरे।  

मुख्यमन्त्री पौडेलसँगै पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपाल, अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल हेलिकप्टरमार्फत लिदीगाउँ पुगेका थिए।

प्रकाशित: ३१ श्रावण २०७७ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App