६ वैशाख २०८१ बिहीबार
समाज

संक्रमित २५ हजार, मृत्यु १००

क्याप्शन

थप पाँचजनाको मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या एक सय पुगेको छ। पछिल्लो २४ घण्टामा ज्यान गुमाउने संक्रमितमा बाराका दुई, मोरङ, सिरहा र धनुषाका एकएकजना पुरुष छन्।  

धनुषाका ५० वर्षीय पुरुषको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाका अनुसार ती संक्रमितलाई जनकपुर प्रदेश अस्पतालबाट काठमाडौं रेफर गरिएको थियो। उनको बिहीबार साँझ मृत्यु भएको हो।  

पछिल्लो एक सातायता नेपालमा दैनिकजसो चारपाँचजना संक्रमितको मृत्यु भएको छ। प्रदेश १ र २ मा समुदायमै कोरोना संक्रमण फैलिन थालेपछि मृत्युदर बढेको तथ्यांकले देखाएको छ। काठमाडौं उपत्यकामा पनि संक्रमण दर वृद्धि भएको छ।  

नेपालमा गत जेठमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको थियो। असारको अन्तिम सातासम्ममा मृत्युदर कुल संक्रमितमध्ये ०।२१ प्रतिशत रहेकोमा अहिले बढेर ०।३८ प्रतिशत पुगेको छ। सबैभन्दा बढी मृत्यु हुनेमा प्रदेश २ देखिएको छ। हालसम्म प्रदेश २ मा ४२ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यसपछि वाग्मती प्रदेशमा १८, प्रदेश ५ मा १२, प्रदेश १ मा ९, सुदूरपश्चिममा ८, गण्डकीमा चार र कर्णालीमा चारजनाको मृत्यु भएको छ। पहिलो चरणमा भारतबाट आई क्वारेन्टिनमा रहेनहरूमा कोरोना पुष्टि भएको थियो। उनीहरू सबै युवा रहेकाले मृत्युदर कम भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले बताए।  

नेपालमा गत जेठमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको थियो। असारको अन्तिम सातासम्म मृत्युदर कुल संक्रमितमध्ये ०।२१ प्रतिशत रहेकोमा अहिले बढेर  ०.३८ पुगेको छ।  

शुक्रबार नै थप ५ सय ९४ जनमा कोरोना पुष्टि भएपछि नेपालमा कुल संक्रमित संख्या २५ हजार नाघेको छ। थपिएका सहित नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ। ती मध्ये १७ हजार ७७ जना निको भइसकेका छन्। यो कुल संक्रमितको ६२।८ प्रतिशत हो। हाल देशभरिमा ८ हजार ३ सय ७५ जना सक्रिय संक्रमित छन्। तीमध्येमा ७ हजार १ सय १३ जना संस्थागत आइसोलेसन र ४ सय ६२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रबार काठमाडौं उपत्यकामा १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी पर्सामा ६८, मोरङमा ६२, धुनषामा ४९, सुनसरी र सुर्खेतमा २२–२२, तनहुँमा २१, महोत्तरी र सुर्खेतमा १८–१८ जना संक्रमित थपिएका छन्। गत २४ घण्टामा ११ हजार ५ सय ७५ वटा नमुनाको पिसिआर परीक्षण भएको थियो। योसँगै नेपालमा कुल ४ लाख ९४ हजार ६ सय १३ वटा पिसिआर परीक्षण भइसकेका छन्।  

उपत्यकाका कोभिड अस्पाल भरिभराउ

उपत्यकामा कोभिड संक्रमितलाई उपचार गर्न तोकिएका अस्पताल भरिएका छन्। जसका कारण नयाँ बिरामीलाई व्यवस्थापन गर्न हम्मे परेको अस्पतालले जनाएका छन्। ‘एकदुई घण्टा पनि खाली हुँदैन, डिस्चार्ज भयो कि नयाँ आइहाल्छन्’, सशस्त्र प्रहरी अस्पताल कोभिड युनिटका चिकित्सक डा। प्रविन नेपालले भने। अस्पतालका सबैजसो आइसोलेसन वार्ड भरिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुक्रराज सरुवा रोग अस्पतालले पनि जनाएका छन्। कोभिड १९ उपचारकै लागि छुट्याइएको काठमाडौं मेडिकल कलेज दुवाकोटले उपचार खर्चको अनुदान मन्त्रालयबाट निकासा नभएपछि एक सातादेखि बिरामी भर्ना रोकेको छ। उक्त अस्पतालमा १ सय २१ बेड छन्।

उपत्यकामा संक्रमण दर हालकै गतिमा वृद्धि हुने हो भने केही दिनमै व्यवस्थापनमा चुनौती हुने उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्। शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले सरकारले स्थानीय सरकारसित मिलेर विशिष्ट व्यवस्थापन नगर्ने हो भने लक्षण भएका बिरामीले पनि उपचार पाउन नसक्ने अवस्था आउन सक्ने बताए। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा केस म्यानेजमेन्ट शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले अबको व्यवस्थापन स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदाय मिलेर गरेमा मात्र उपत्यकाकालाई महामारीबाट बचाउन सकिने बताए। लक्षण नभएका संक्रमितको व्यवस्थापन स्थानीय निकायले आइसोलेसन सेन्टर खोलेर गर्न सक्ने उनको सुझाव छ।

उपत्यकाकामा रहेका धेरै संक्रमितको आफ्नै घर नभएकाले सरकारले तोकेको मापदण्ड पूरा गरी होम आइसोलेसनमा बस्न सक्ने स्थिति छैन। घर नभएका र लक्षण नभएका संक्रमितलाई स्थानीय निकायले खाली भवन प्रयोग गरी आइसोलेसन सेन्टर बनाएर व्यवस्थापन गर्न सकिने कोइरालाले बताए। काठमाडौं उपत्यका भित्रिने चारवटै नाकामा क्वारेन्टिनको व्यवस्थापन, दु्रत कन्ट्याक्ट टे«सिङको काम भएमा नियन्यन्ण सम्भव भएको उनको भनाइ छ। ‘यो व्यवस्थापनले लक्षण भएका बिरामीले अस्पतालका आइसोलेसनमा उपचार पाउँछन्’, उनले भने। स्वास्थ्य मन्त्रालयले थप ९ सय बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गर्ने तयारी भइरहेको जनाएको छ। लक्षण नभएका तर उपत्यकामा घर भएकालाई होम आइसोलेसनमा र डेरामा बस्नेलाई संस्थागत आइसोलेसनमा राखिने मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए।

प्रकाशित: ३१ श्रावण २०७७ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App