२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लिदी पहिरो: पाँच जनाकाे शव निकालियो,एकै परिवारका सात जनासम्म बेपत्ता (अपडेट)

ठूलो मानवीय क्षतिको अनुमान गरिएको लिदी पहिरोबाट पाँच जनाको शव निकालिएको छ। दुई महिला, दुई पुरुष र एक बालकको शव पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले पहिरोमा बेपत्ताको खोजी भइरहेको बताए। पहिरोमा धेरै मानवीय हताहती भएको अनुमान गरिए पनि यकिन विवरण प्राप्त हुन अझै समय लाग्ने उनले जनाए। ‘स्थानीयबाट ठूलो मानवीय क्षतिको फरक–फरक विवरण आइरहेको छ,’ डिएसपी काफ्लेले नागरिकन्यूजसँग भने, ‘घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेपत्ताको खोजी सुरु गरिसकेकाले अब बिस्तारै क्षतिको आधिकारिक विवरण आउन थाल्छ।’ उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन।  

गम्भिर अवस्थाका पाँच घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये रुपक दोङ, पाशाङ दोङ, केवरिङ दोङ र जुनु दोङको सदरमुकामको चौतारा अस्पतालमा उपचार भइरहेको छ। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा चढेर आएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको थियो। सदरमुकाम ओर्लेका सभामुख सापकोटाले उद्धारका लागि त्यहाँबाट चार नेपाली सेना चढाएर हेलिकप्टर घटनास्थल पठाएका थिए।  

घटनाको चार घण्टापछि पहिलो पटक घटनास्थल पुगेको सेना टोलीले घाइतेको उद्धार गरेको हो। एक घाइतेलाई उपचारका लागि निजी क्षेत्रको हेलिकप्टरमार्फत राजधानी लगिएको प्रहरीले जनाएको छ। घाइतेको उद्धारसकेपछि मात्र सभामुख सापकोटा सेनाको हेलिकप्टर चढेर पहिरोस्थल पुगेका थिए।  

 

यो पनि पढ्नुहोस्

लिदी पहिरो पीडितको बयान– ३० घरको नामाेनिशान छैन, ३७ जना सम्पर्कविहिन

 

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार बिहान साढे ६ बजेतिर बस्तीमाथिबाट पहिरो खसेको थियो। पहिरोले कम्तिमा एक दर्जन घर पुरेको प्रहरीको प्रारम्भिक अनुमान छ। तर घटनास्थलमा रहेका स्थानीय प्रेम दोङ पहिरोले २५–३० घर नामनिशाना नरहने गरी पहिरोले पुरेको बताउँछन्। ‘लिदी झण्डै ६० घर परिवारको बसोवास रहेको गाउँ हो,’ टेलिफोनमा उनले भने, ‘बाँकी घर  पहिरोको उच्च जोखिममा छन्।’

घटनास्थल रहेको वडाका सदस्यसमेत रहेका स्थानीय विष्णु लामा नेतृत्वको एउटा टोलीले पहिरोमा बेपत्ताको लगत संकलन गरिरहेको छ। अहिलेसम्म सम्पर्कविहिन हुनेको संख्या ३८ पुगेको लामाले जानकारी दिए। ‘उनीहरु पहिरोमै हराइरहेका हुन् या कतै सुरक्षित स्थलमा गएर बसेका छन् भन्ने एकीन भइसकेको छैन,’ उनले भने, ‘खोजीपछि नै थाहा होला।’ तर सम्पर्कविहिनको सूचीमा रहेका अधिकांश पहिरोमै बेपत्ता भएको उनले बताए।  

 

यो पनि पढ्नुहोस्

लिदी पहिरोः घटनास्थलमा सभामुख(फोटो फिचर)

वडासदस्य लामाकाअनुसार पहिरोमा स्थानीय जयबहादुर डोङको उनीसहित परिवारका सबै ६ सदस्य बेपत्ता छन्। पहिरोमा एकै परिवारका सात जनासम्म हराएका छन्। धेरै घरका चार पाँच जना सदस्य पहिरोमा परेका छन्।’ बेपत्ताको खोजीमा जुटिरहेका उनले भने। 

घटनाको जानकारीपछि हिँडेको कात्तिके प्रहरी चौकीको तीन सदस्यीय टोली ६ घण्टा पैदल हिँडेर मध्याह्न पहिरोस्थल पुगेको छ। इलाका प्रहरी चौकी जलवीरेको प्रहरी टोली अझै घटनास्थल पुग्न सकेको छैन। मध्याह्न थप आठ जनाको सैनिक टोलीलाई हेलिकप्टरबाट घटनास्थलमा झारिएको छ। १५ जनाको सुरक्षाकर्मी टोली स्थानीयलाई साथ लिएर बेपत्ताको खोजीमा जुटिरहेको प्रहरीले जनाएको छ।  

गत असार तेस्रो साता पनि दिलीमा पहिरो खसेको थियो। उक्त पहिरोले दुई घरमा क्षति पु¥याएको थियो। यो घटनापछि गाउँ असुरक्षित महसुस गर्दै स्थानीय रातिको समयमा सुरक्षितस्थलमा रहेको गोठ, टहरोमा सुत्न जान्थे। रातिको खाना खाएर घर खाली गराउँदै गोठमा सुत्न जाने उनीहरु बिहान मात्र गाउँ फर्कँन्थे। गाउँ फर्केर दैनिकीको तयारीमा जुट्दै गर्दा पहिरो निम्तिएको हो। अझ धेरै गाउँले गोठबाट गाउँ फर्कँन भ्याइसकेका थिएनन्। ‘ठूलो सावधानीका बीच पनि धेरै जनधनको क्षति हुन पुगेको छ। अन्यथा भयावह क्षति हुनेरहेछ,’ वडाध्यक्ष लामाले भने।

प्रकाशित: ३० श्रावण २०७७ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App