coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लिदी पहिरोः नेपाली सेना घटनास्थलमा, सभामुख सापकोटा चौतारा पुगे (अपडेट)

१० जनाको उद्धार

जुगल गाउँपालिका–२ गोल्चे लिदीमा पहिरोले ठूलो जनधनको क्षति पु-याएको खबरपछि हेलिकप्टरबाट घटनास्थल पुगेको नेपाली सेनाले घाइतेको उद्धार थालेको छ।  

घटनाको चार घण्टापछि पहिलो पटक चार सेनाको टोली घटनास्थल पुगेको हो। बिहान करिब ६ बजे बस्तीमाथिबाट पहिरो खस्दा लिदीमा ठूलो जनधनको क्षति पुगेको अनुमान गरिएको छ। कम्तिमा एक दर्जन घर पहिरोले पुरेको प्रहरीले जनाएको छ। ‘सेना आएको हेलिकप्टरले चार घाइते चौतारा लगेको छ,’ घटनास्थलमा रहेका वडा सदस्य विष्णु लामाले नागरिकन्यूजसँग भने।  

हालसम्म १० जनालाई घाइते अवस्थामा फेला पारिएको जानकारी दिँदै उनले बाँकीलाई लिन फेरि हेलिकप्टर आउने बताए। ‘अहिले पनि पहिरो खसिरहेको छ। अनुमान गरिएभन्दा धेरै मानवीय क्षति भएको छ,’ स्थानीयसमेत रहेका लामाले टेलिफोनमा भने।  

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा चढेर आएको हेलिकप्टरले घटनास्थलमा सेना उतारेको हो। घटनास्थल आएका उनले सदरमुकाम चौतारामा ओर्लेर त्यहाँबाट उद्धारका लागि सेना पठाएका हुन्। उनी पनि घटनास्थलमा जाने छन्। घाइते बोकेर आउने हेलिकप्टरले थप सुरक्षाकर्मी घटनास्थल लैजाने जिल्ला प्रहरीका डिएसपी माधव काफ्लेले बताए।  

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय जलवीर र प्रहरी चौकी कात्तिकेबाट हिँडेको टोली अझै पहिरो स्थल पुग्न सकेको छैन। घटनास्थल दुर्गममा रहेको र पैदल हिँड्नु पर्दा समयमै सुरक्षाकर्मी पुग्न नसकेको प्रहरीले जनाएको छ। वडाध्यक्ष लामाले पहिरोमा धेरै बेपत्ता भएको बताए। ‘परिवारै पहिरोमा हराइरहेका छन्,’ उनले भने।  

नेकपाका केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली पनि उद्धारको लागि हेलिकप्टर लिएर घटनास्थल गएको छ। नेपाली सेनाको टोली घटनास्थल पुगेकाले क्षतिको बास्तविक विवरण केहीबेरपछि आउन थाल्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

प्रकाशित: ३० श्रावण २०७७ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App