coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक सयभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

सक्रिय संक्रमितमा सबैभन्दा बढी प्रदेश २ मा ३५ सय ८९ जना, बाग्मतीमा १७ सय ३ जना, सुदूरपश्चिममा ८ सय ७० जना छन्।

वीर अस्पतालका एक वरिष्ठ चिकित्सकमा कोरोना संक्रमण भएपछि उनी यतिखेर टिचिङ अस्पतालको कोभिड–१९ वार्डमा उपरचाररत छन्। उनमा गम्भीर समस्या देखिएपछि टिचिङ अस्पताल भर्ना गरिएको हो। त्यसैगरी सोही अस्पतालका अर्का एक चिकित्सकमा पनि गम्भीर समस्या देखिएपछि टिचिङमै उपचार भइरहेको अस्पतालले जनाएको छ।

यसअघि नै विराट अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्र कार्की पनि टिचिङमै उपचार गरी निको भएका थिए। यीसहित नेपालमा २३ जना चिकित्सकमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्याको तथ्यांक छ। मन्त्रालयमा मंगलबारसम्म प्राप्त तथ्यांकअनुसार १९ जना नर्स , ८८ जना प्यारामेडिक्स, फार्मेसिष्ट र अन्य स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ। बाँकी ५५ जना प्रहरी अस्पतालसित सम्बन्धित प्रहरी तथा सेना, कर्मचारी, चालकलगायत छन्।

यीमध्येमा सबैभन्दा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका स्वास्थ्यकर्मी बढी संक्रमित रहेको तथ्यांक छ। सो अस्पतालका ३१ जना नर्स र ९ जना चिकित्सक र १५ जना प्यारामेडिक्स संक्रमित भएका छन्। टिचिङ अस्पतालमा १२ जना नर्स र दुईजना चिकित्सकमा कोभिड–१९ पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालको आकस्मिक कक्षका चिकित्सक तथा नर्स संक्रमित भएपछि आकस्मिक सेवा नै बन्द गरिएको छ। कक्षमा काम गरेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको परीक्षण गरेपछि मात्र सेवा सुचारु गर्ने टिचिङ अस्पतालका कोभिड–१९ संयोजक डा. सन्तकुमार दासले बताए।

वीर अस्पतालमा हालसम्म दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। तीमध्ये एक चिकित्सकको स्वास्थ्यमा जटिल समस्या देखा परेको छ। मन्त्रालयले मंगलबार दिएको तथ्यांकअनुसार संक्रमित स्वास्थ्यकर्मीमध्ये ६० महिला र १ सय २३ जना पुरुष छन्। तीमध्ये सबैभन्दा बढी प्रदेश २ मा छन्। बुटवल कोेरोना विशेष अस्थायी अस्पतालले कोभिड–१९ संक्रमितको उपचार गर्न थालेदेखि अहिलेसम्म ५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यीमध्येमा एक चिकित्सक, एक नर्स र तीन प्यारामेडिक्स रहेको अस्पतालका सुपरिडेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए। सो अस्पतालका स्वास्थ्यकर्मी कम संक्रमित हुनुमा अस्पतालले अपनाएको सावधानी रहेको उनको भनाइ छ।  

स्वास्थ्यकर्मीमै कोरोना संक्रमण हुने क्रम नेपालमा मात्र नभएर अति विकसित राष्ट्रमा समेत रहेको तथ्यांकले औंल्याएको छ। जुन देशमा बढी कोरोना संक्रमण फैलियो, त्यही अनुपातमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढी हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘विकसित देशमा स्वास्थ्यकर्मी संक्रमित भएको देखिन्छ, अग्रभागमा उभिएर काम गर्नुपर्ने कारण उनीहरूमा संक्रमण बढी हुने गर्छ,’ प्रवक्ता अधिकारीले भने। तथ्यांकअनुुसार छिमेकी राष्ट्र भारतमा २ सय चिकित्सककै कोभिड १९ संक्रमणको कारण मृत्यु भएको छ भने बंगलादेशमा १५ प्रतिशत स्वास्थ्यकर्मी संक्रमित छन्।

नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिडेन्ट डा. मदनकुमार उपाध्यायले दैनिक बिरामीसित सम्पर्कमा पुग्नु नै संक्रमणको मुख्य कारण रहेको बताए। तर व्यक्तिगत सुरक्षा सामग्रीको राम्रोसित प्रयोग नहुनुु र कतिपय सामग्रीको गुणस्तरको कमीले पनि संक्रमणको जोखिम बढाउने उनको भनाइ छ।

सबैजसो सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको भए पनि कोभिड–१९ कै बिरामी हेर्ने अस्पताल शुक्रराज सरुवा रोग अस्पताल र शसस्त्र प्रहरी बल अस्पतालमा अहिलेसम्म एकजना पनि संक्रमित नभएको ती अस्पतालले जनाएका छन्।

सरुवा रोग अस्पतालमा दैनिक सयौंको संख्यामा लक्षण भए÷नभएका कोभिड–१९ का बिरामीहरूको उपचार हुने गर्छ। पहिलेदेखि सरुवा रोगका बिरामीहरू हेर्ने अभ्यस्त भएकोले व्यक्तिगत सुरक्षाका सामग्री पर्याप्त मात्रामा उचित तरिकाले प्रयोग गरेकै कारण सरुवा रोग अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित नभएको दाबी सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीको छ। ‘यो अस्पतालमा अन्य रोगमा पनि सुरक्षा अनपाएर मात्र उपचार गर्ने बानी परिसकेको छ, त्यसले पनि अहिलेसम्म सुरक्षित भएर काम गरेका हुनसक्छ,’ उनले भने।

‘निजी अस्पतालमा पर्याप्त पिपिईको व्यवस्था हुँदैन, हामीले सुरक्षा सामग्रीमा कन्जुस्याइँ गरेका छैनौं,’ उनले भने। कोभिड–१९ बिरामी हेर्न थालेको ६ महिना पुगिसकेको छ। केही सरकारी चिकित्सक निजी अस्पतालमा आंशिक काम गर्ने क्रममा पनि संक्रमित भएको हुन सक्ने डा. राजभण्डारीको भनाइ छ।

सोही अस्पतालमा अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनका अनुसार संक्रमण बढ्दै गएपछि अन्य देशमा पनि स्वास्थ्यकर्मी संक्रमित हुने गरेका छन्। यस्तो बेला जनरल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी बढी झुक्किने भएकोले उनीहरूले हरेक बिरामीलाई संक्रमितकै आँखाले हेरेर सुरक्षा मापदण्ड पूरा गर्ने हो भने बच्न सकिने सुझाउँछन्। अस्पतालभित्र रहँदा सहकर्मीसित कुरा गर्दासमेत मास्क अनिवार्य लगाएर मात्र कुरा गर्ने, सुरक्षामा सबै मापदण्ड पालना गर्ने र पिपिईको उचित प्रयोग गरेमा संक्रमणबाट बच्न सकिने उनी बताउँछन्। ‘ हामीले सहकर्मीसित कुरा गर्दा पनि मास्क फुकालेका छैनौं,’ उनले अनुभव सुनाए।

सोही अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँँस्तोलका अनुसार उपचार गर्दा अपनाइने सुरक्षाका सम्पूर्ण उपाय अपनाएकै कारण यो अस्पतालमा अहिलेसम्म स्वास्थ्यकर्मीमा संक्रमण नभएको बताए। उनको विचारमा व्यक्तिगत सुरक्षा मापदण्ड राम्रोसित पालना नगर्नु पर्याप्त सुरक्षा सामग्री निजी अस्पतालमा नहुनु र अहिलेको हकमा समुदायमा समेत संक्रमण फैलिनुले स्वास्थ्यकर्मीमा संक्रमण बढेको हो। अबका दिनमा स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउन व्यक्तिगत सुरक्षा सामग्री राम्रोसित लगाएर मात्र परीक्षण गर्ने व्यवस्था हुनुपर्ने र स्वास्थ्यकर्मी स्वयंले हरेक व्यक्तिलाई संक्रमित नै ठानेर सेवा दिने हो भने संक्रमणबाट बच्न सकिने उनको सुझाव छ।

संक्रमणबाट मृत्यु हुने ९५ पुगे

पछिल्लो चौबिस घण्टामा थप ४ जना कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मृतकमा महोत्तरी, धनुषा, मोरङ तथा अछामका तीन पुरुष र एक महिला रहेका छन्। महोत्तरी मटियानी–६ का ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएको हो। त्यस्तै, धनुषा मिथिला नगरपालिकाकी २५ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। बुधवार नै अछाम रामरोशनका १८ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। त्यस्तै, मोरङ विराटनगर–३ का ५७ वर्षीय पुरुषको बुधबार नै कोसी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।  

बिहीबार थप ५ सय २५ जना नयाँ संक्रमित थपिएका छन्। यीसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ। तीमध्ये १६ हजार ८ सय ३७ अथात् ६७.४ प्रतिशत निको भइसकेका छन्। हाल देशभरिमा ८ हजार २५ जना सक्रिय संक्रमित छन्। बिहीबार सबैभन्दा बढी काठमाडांै उपत्यकामा १ सय २७ जना र उपत्यकाबाहिर मोरङमा ८८, पर्सामा ३७, सप्तरीमा ३१, मकवानपुरमा २८, महोत्तरी र कपिलवस्तुमा २०÷२० जना र धनुषामा १९ जना संक्रमित भएका छन्।  

गत चौबिस घण्टामा देशभरि ९ हजार ८ सय ५९ वटा पिसिआर नमुना परीक्षण भएको थियो। हाल देशभरिमा ४ सय ६६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी कोरोना बिरामी उपचारका लागि देशभरमा ९ सय ४२ वटा आइसियु र ४ सय ९६ वटा भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ।

 ती मध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा ६ सय ३० वटा आइसियु र ३ सय ६१ वटा भेन्टिलेटर छन्। सक्रिय संक्रमितमा सबैभन्दा बढी प्रदेश २ मा ३५ सय ८९ जना, बाग्मतीमा १७ सय ३ जना, सुदूरपश्चिममा ८ सय ७० जना छन्। सबै प्रदेश गरी ८ हजार २५ जना सक्रिय संक्रमित छन्। दैैनिक नयाँ संक्रमित र मृतकको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढाउनसक्ने सबै माध्यममा नियन्त्रण गर्न अनुरोध गरेको छ। निजी व्यवसायी, मलहरूले आफ्ना कर्मचारीको परीक्षण गरेर मात्र काममा लगाउने, निजी अस्पतालले परीक्षण गर्ने, लगत्तै आएका पर्वमा भीड नगरी घरैमा मनाउने र व्यक्तिगत सुरक्षाका मापदण्ड कडाइपूर्वक पालना गर्ने, नमुना परीक्षण गर्न दिएका व्यक्तिहरू रिपोर्ट आउनुअघि अन्यत्र नजानलगायतको अनुरोध गरेको छ।  

कोरोबाट मृत्यु हुनेमा ५३.७ प्रतिशत पुरुष बढी  

कोरोना संक्रमणको कारण मृत्यु हुनेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। बिहीबार साँझसम्म भएका कुल ९५ जना मृतकमध्ये पुरुष ७३ र महिला २२ जना छन्। यो हिसाबले महिलाको मृत्युदर २३.१५ छ भने पुरुषको ७६.८ प्रतिशत छ। अर्थात् महिलाभन्दा ५३.७ प्रतिशत बढी पुरुषको मृत्यु भएको देखिन्छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्वभरि नै महिलाको तुलनामा पुरुषमा कोरोना संक्रमण दर बढी रहेका कारण मृत्युदर पनि बढी नै रहेको बताए।  

यसको साथै महिलामा रोगविरुद्ध लड्ने प्रतिरक्षा क्षमता बलियो हुनुको कारणले पनि मृत्युदर कम रहेको उनले बताए। डा. गौतमका अनुसार महिलामा क्रोेमोजोमका कारण पनि रोगसित लड्ने क्षमता बढी हुन्छ। त्यसैगरी महिलाको तुलनामा पुरुषमा मधुमेह, उच्च रक्तचाप, फोक्सोसम्बन्धी रोग बढी हुने कारण कोरोना संक्रमित पुरुषको बढी मृत्यु हुन्छ।

प्रकाशित: ३० श्रावण २०७७ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App