१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या हजार पुगिसक्यो, तर होसियारी पटक्कै छैन

पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित बढिरहे पनि भीडभाड भने उस्तै भइरहेको छ । गत चैत ११ देखि देशभर लागू लकडाउन १ सय २० दिनपछि खुलाइएसँगै संक्रमण हुने क्रम दैनिक बढिरहेको छ ।  

मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ । यसरी बस्दा सामान्य सावधानी पनि अपनाएको पाइँदैन । कतिले त सामान्य मास्क पनि नलगाई बसेका देखिन्छन् ।  

जसले गर्दा उनीहरु मात्रै होइन, परिवार र छरछिमेक पनि उत्तिकै जोखिममा रहेको अनुमान लगाउन सकिन्छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार काठमाडौंका न्युरोड, असन, इन्द्रचोकमा नयाँ बिरामी थपिने क्रम जारी छ, तर त्यस क्षेत्रमा कुनै पर्वाह नगरी पसल सञ्चालन भइरहेका छन् ।  

जोरबिजोर प्रणाली लागू भए पनि सबै खालका सवारीसाधन पनि सञ्चालन भइरहेकै छन् । यसले महामारीलाई थप बढाउन सहयोग पुग्ने स्पष्ट छ । यस विषयमा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले अत्यावश्यकबाहेक अन्य पसल सञ्चालन नगर्न भनिएको बताए । तर व्यापारीले आलटाल गरिरहेकाले यसविरुद्ध काठमाडौं महानगरपालिकाले कडा कदम चाल्ने उनको भनाइ छ ।  

प्रवक्ता डंगोलले भने, ‘केही सहज हुँदा सञ्चालन गर्न दिएकै हो, विषम परिस्थिति भएकाले केही दिन अनावश्यक रूपमा बाहिर ननिस्कन र आवश्यक कामका लागि पनि सजह हुन आवश्यक छ । काठमाडौं आफैंमा घना बस्ती भएको स्थान हो । यस्तो स्थानमा संक्रमणको जोखिम बढी छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डसमेत पालना नगरेको देखिन्छ । यसले पनि जोखिम बढाएको छ ।  

हालसम्म काठमाडौं उपत्यकामा मात्रै झन्डै हजार हाराहारीमा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि लागू हुनेगरी दुई हप्ताका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ। जसका लागि शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो ।  

यस अवधिभर जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेक अन्य सेवा बन्द हुनेछ । बैठकले बजार अनुगमनलाई तीव्र बनाउनाका साथै सामाजिक दूरी र सुरक्षाका उपाय नअपनाउनेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ ।  

प्रकाशित: २४ श्रावण २०७७ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App