८ वैशाख २०८१ शनिबार
समाज

गलत बुझाइको सम्भाव्यता

जीवनसुत्र

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति थिए। उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस थिए। उनी यतिसम्म लोभी थिए कि उनको घरमा भिक्षा माग्न आउने भिक्षुकलाई पनि खाली हात फिर्ता पठाइ दिन्थे। त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकलाई ती धनी व्यक्तिको घरमा नजान विशेष आग्रह गरिन्थ्यो।

एक दिन त्यही गाउँमा नयाँ मन्दिर निर्माण गर्ने प्रस्ताव आयो। सोही मन्दिर निर्माण कार्यका लागि आर्थिक कोष स्थापना गरियो। सबै गाउँलेहरुका लागि मन्दिर निर्माण गर्नु एउटा स्वप्न परियोजना थियो। त्यसैले उनीहरु खुसीसाथ कोषमा पैसा जम्मा गर्न राजी भए। यतिमात्र होइन, उनीहरु पैसाबाहेक अरु आवश्यक सहयोग गर्न समेत तयार भए। यद्यपि गाउँभरि सबैभन्दा धनी तर लोभीका रुपमा परिचित ती व्यक्ति भने कोषमा पैसा जम्मा गर्न सहमत भएनन्। गाउँलेहरू कयौँ पटक ती धनी व्यक्तिको घरमा गए। मन्दिर निर्माणको महत्त्वबारे विस्तृत रुपमा बताए। आर्थिक सहयोगका लागि आग्रह गरे र पनि उनीहरुले आर्थिक सहयोग भने पाएनन्। केवल निराशा पाए। यस्तो अवस्थामा ती धनी व्यक्तिलाई कुनै पनि हालतमा आर्थिक सहयोगका लागि मनाउन गाउँलेहरूले एउटा आइडिया (जुक्ति) फुराए र त्यही आइडिया प्रयोग गर्ने मन बनाए। त्यो आइडिया थियो– मन्दिर निर्माणको निम्ति आर्थिक सहयोग गर्ने सबै गाउँलेहरुको नाम र उनीहरुले दिएको पैसा उल्लेख हुनेगरी एउटा सूची तयार पार्ने। र, त्यो सूची पैसा सहयोग गर्न अस्वीकृति जनाउने ती धनी व्यक्तिलाई देखाउने।

गाउँको नेतृत्व तहमा रहेका सबै गाउँलेहरु सूची लिएर ती धनी व्यक्तिका घरमा गए। यस पटक उनीहरु आशावादी थिए। ती धनी व्यक्ति सूची हेरेर प्रभावित हुने, प्रभावित नभए पनि लज्जित महसुस गर्ने र केही आर्थिक सहयोग गर्न सहमत हुने उनीहरुले अपेक्षा राखेका थिए। उनीहरूले सूचीबाट सबै सहयोगी गाउँलेहरुको नाम एकएक गर्दै पढ्न थाले। उनीहरूले ठूलो र स्पष्ट आवाजमा भने, ‘फलानो व्यक्ति धनी नभए पनि दश हजार सहयोग गरेको, फलानो व्यक्ति गरिब भए पनि एक हजार सहयोग गरेको र फलानो व्यक्ति दैनिक मजदूरी गर्ने भए पनि पाँच रुपैयाँ सहयोग गरेको।’  

सुचीमा रहेको नाम पढ्दै जाने क्रममा उनीहरुले ती धनी व्यक्तिको अनुहार पनि नियालेका थिए। उनीहरूले ती धनी व्यक्ति सबै नाम जान्न इच्छुक रहेको र निकै प्रभावित भएको पाए। उनीहरूले सूचीबाट सबैको नाम पढेर सके।

सूचीको सबै नाम सुनेपछि ती धनी व्यक्ति जुरुक्क उठेर भने, ‘म निकै प्रभावित भएँ। तपाईंहरूको यो अग्रसरता र सक्रियता देखेर निकै खुसी छु।’

ती धनी व्यक्तिको घरमा गएका सबै गाउँलेहरुले यसपटक खाली हात फर्कनु नपर्ने बुझे। ती धनी व्यक्तिबाट आर्थिक सहयोग प्राप्त गर्ने उद्देश्य पूरा हुने उनीहरुले महसुस गरे। उनीहरूले एकै स्वरमा भने, ‘यदि तपाईं निकै प्रभावित हुनुहुन्छ भने तपाईंको तर्फबाट के कति आर्थिक सहायता हुन सक्छ त्यो दिनुहोस्।’ त्यसपछि ती धनी व्यक्ति मुसुक्क हाँस्दै भने, ‘मलाई माफ गर्नुहोला। तपाईंहरुले मेरो आशय बुझ्न सक्नु भएन। म प्रभावित छु भन्नुको अर्थ यो होइन कि म अब आर्थिक सहयोग गर्न राजी भएँ। म प्रभावित छु भन्नुको अर्थ यो हो कि यस गाउँमा सबै ठूलो हृदयका रहेछन्, सहयोगी रहेछन्। यस्तोमा भिक्षा माग्दै नहिँड्नु निकै गलत हुन आउँछ। त्यसैले भोलिदेखि नै म गाउँमा भिक्षा माग्दै हिँड्ने छु। म यो गाउँका मानिसबाट निकै प्रभावित छु।’ धनी व्यक्तिको यस्तो भनाइ सुनेपछि ती सबै नेतृत्व तहका गाउँलेहरु यस पटक पनि खाली हात फर्किए।

कथाको मुख्य आशय 

यो कथा ओशोको पुस्तक ‘दि आर्ट अफ लिभिङ’ बाट लिइएको हो। यो कथाको केही मुख्य आशय रहेका छन्। पहिलो, कुनै पनि समय र परिस्थितिमा गलत बुझाइको सम्भाव्यता उच्च रहन्छ। सधैँ सही भइन्छ भन्ने छैन। मानौँ तपाईं कुनै एक व्यक्तिलाई केही चिज सुनाउने, देखाउने र अनुभूत गराउने कोसिस गर्नुभयो। यस्तो अवस्थामा ती व्यक्तिले सोही कुरा सुन्छ, देख्छ र अनुभूत गर्छ भन्ने छैन। जसकारण ती व्यक्तिको बुझाइको स्तर न्यून हुनुका साथै गलत हुन सक्छ। यही कुरा स्वयं तपाईंमा पनि उत्तिकै लागू हुन्छ। मानौँ तपाईं कुनै चिज सुन्ने, देख्ने र अनुभूत गर्ने कोसिस गर्दै हुनुहुन्छ। यस्तो अवस्थामा तपाईं त्यही चिज सतप्रतिशत सुन्ने, देख्ने र अनुभूत गर्नुहुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। जसकारण तपाईंको बुझाइको स्तर न्यून हुनुका साथै गलत हुन सक्छ।

दोस्रो, यदि कुनै पनि कुरा बुझ्न सक्दैनौँ वा त्यसको सही अर्थ पत्ता लगाउन सक्दैनौँ भने अपेक्षित परिणाम प्राप्त गर्न सकिँदैन। हामीले एउटा परिणाम परिकल्पना गरेका हुन्छौँ तर पाउँछौँ अर्कै। जसकारण चाँडो भन्दा चाँडो लक्ष्य नजिक पुग्न सकिँदैन। सफलता प्राप्त गर्नमा निकै ढिलाइ हुन्छ।

तेस्रो, यदि कुनै पनि कुरा सही तरिकाले ग्रहण गर्न सकिँदैन वा हामीमा गलत बुझाइ विकास भएको छ भने त्यो जीवनको लागि कुनै पनि कोणबाट फाइदाजनक हुन सक्दैन। त्यो गलत बुझाइ जीवन निर्माणको लागि निकै घातक सिद्ध हुन्छ। एकपछि अर्को जटिलता थपिँदै जान्छन्। त्यसैले जीवनमा सही बुझाइ विकास गर्ने कोसिस गरौँ।

किन गलत बुझाइ?  

गलत बुझाइ विकास हुनु वा गलत बुझाइको सम्भाव्यता बढ्नुमा निम्न कारणहरू छन्ः

# विश्वास प्रणालीः

एक व्यक्तिको विश्वास प्रणाली अर्को व्यक्तिसँग पूर्ण रुपमा मिल्छ भन्ने छैन। भनाइको तात्पर्य, हरेक व्यक्ति आ–आफ्नो विश्वास प्रणालीअनुसार बाँचेको हुन्छ। आफ्नै सीमित घेराभित्रै रमाएको हुन्छ। अरुको विश्वास प्रणालीबारे जान्न, आफ्नो सीमित घेरा तोडेर अरुको सीमित घेराभित्र प्रवेश गर्न इच्छुक रहँदैन। अझ यसो भनौँ, आवश्यक ठान्दैन। परिणामस्वरूप गलत बुझाइको सम्भाव्यता बढेर जान्छ।

# व्यक्तित्व प्रकारः

हरेक व्यक्ति अलग हुन्छन्। हरेक व्यक्तिको फरकफरक व्यक्तित्व हुन्छ। मुख्यतः व्यक्तित्व पाँच प्रकारका छन्। ती हुन्ः सहमतता, कर्तव्यनिष्ठता, बहिर्मुखी, विक्षिप्त र ग्रहणशील। यही व्यक्तित्व प्रकारको आधारमा अन्तरक्रिया गर्नुपर्ने हुन्छ। यद्यपि हामी आफ्नो र अरुको व्यक्तित्व चिन्न सक्दैनौँ। आफ्नो र अरुको व्यक्तित्व मिलान गराउने कोसिस गर्दैनौँ। जसकारण हामीमा गलत बुझाइको सम्भाव्यता बढेर जान्छ।

# विभिन्न अपेक्षा र आवश्यकताः

सबै व्यक्तिको फरक–फरक अपेक्षा र आवश्यकता हुन्छन्। उनीहरु त्यही अपेक्षा र आवश्यकता पूर्ति गर्नमा तल्लिन रहन्छन्। उनीहरुले अरूको भन्दा पनि आफ्नो अपेक्षा र आवश्यकता पहिलो प्राथमिकता राखेका हुन्छन्। यहीअनुरुप उनीहरु अरुसँग अन्तरक्रिया गर्छन्। फलस्वरुप व्यक्ति व्यक्तिबीच गलत बुझाइको विकास हुन्छ।

# चाँडै मूल्यांकन गर्ने बानीः 

हामीमा चाँडै मूल्यांकन गर्ने बानी विकास भएको छ। कुनै पनि नयाँ व्यक्तिलाई भेट्ने बित्तिकै त्यस व्यक्तिको शारीरिक बनावट हेरेरै मूल्यांकन गर्न थाल्छौँ। त्यस व्यक्तिको बारेमा सीमित जानकारी प्राप्त गरेकै भरमा अनेकन् धारणा, बुझाइ राख्न थाल्छौँ।

गलत बुझाइका प्रभावहरु

गलत बुझाइले जीवनमा के कस्तो प्रभाव पार्छ, के कस्तो परिणाम आत्मसात गर्नुपर्ने हुन्छ, के कस्तो परिस्थितिसँग लड्नुपर्ने हुन्छ ती सम्पूर्ण कुराहरू केही उदाहरणमार्फत बुझ्न सकिन्छ।

उदाहरण एक, मित्रता र सम्बन्ध। मानौँ तपाईं एक पुरुष हुनुहुन्छ। तपाईं एउटी महिलासँग नियमित अनलाइन च्याट गर्नु हुन्छ। बिहान पनि च्याटिङ, दिउँसो पनि च्याटिङ, बालुकी पनि च्याटिङ र फुर्सद हुने बित्तिकै च्याटिङमा मस्त हुनुहुन्छ। यो खालको च्याटिङले तपाईंमा केही अनुभूति जाग्न सक्छन्। ती महिलाले निकै महत्व दिएको, ख्याल गरेको र हामीबीच केही हुन सक्छ भन्ने तपाईंमा पर्न जान्छ। जुन यो तपाईंको गलत बुझाइ थियो। यही गलत बुझाइको भरमा अब तपाईं ती महिलालाई अनलाइनमार्फत नै प्रस्ताव राख्न पुग्नुहुन्छ। तिमीलाई मन पराउँछु। तिमीसँग बिहे गर्न चाहन्छु भनेर आफ्नो भावना व्यक्त गर्नु हुन्छ। यस्तोमा ती महिलाले तपाईंलाई साथीको रुपमा मात्र लिएको, कुनै भावना नरहेको प्रतिक्रिया दिइन् भने के होला? स्वभाविक रुपमा तपाईं निराश हुनुहुन्छ।  

त्यसैगरी अर्को परिदृश्य लिउँ। मानौँ तपाईं एउटी महिला हुनुहुन्छ। तपाईंको एउटा पुरुष साथीसँग राम्रो सम्बन्ध छ। तपाईंहरु नियमित चलचित्र हेर्न जाने, रेस्टुराँमा खान जाने र नयाँ नयाँ ठाउँमा घुम्न गएर गुणवत्ता समय बिताउने गर्नुहुन्छ। एउटा पुरुषबाट यो खालको साथ पाइसकेपछि तपाईंमा केही अनुभूति जाग्न सक्छ। उसले मेरो ख्याल गर्छ, मलाई साथ दिन्छ, सायद मलाई प्रेम गर्छ भन्ने बुझाइ तपाईंमा विकास हुन पुग्छ। जुन तपाईंको गलत बुझाइ थियो। यही गलत बुझाइको भरमा अब तपाईं पुरुषबाट प्रेम प्रस्ताव अपेक्षा गर्न थाल्नुहुन्छ। ती पुरुष साथीबाट प्रस्ताव नआए तपाईं नै प्रस्ताव राख्ने हिम्मत गर्नुहुन्छ। यस्तोमा ती पुरुष साथीले तपाईंलाई कहिल्यै पनि त्यस्तो नजरले नहेरेको प्रतिक्रिया दियो भने के होला? स्वभाविक रुपमा तपाईं दुःखी हुनुहुन्छ। आफू प्रयोग भएको ठान्नुहुन्छ र ती पुरुष साथीलाई घृणा गर्न थाल्नुहुन्छ। अन्ततः तपाईंहरुको न त प्रेम स्थापित हुन्छ न त मित्रता नै सुमधुर हुन्छ। त्यसैले मित्रता र सम्बन्धमा सही अर्थ खोज्ने कोसिस गरौँ।

उदाहरण दुई, व्यवसायी र उद्यमी। केही सफल व्यवसायी अथवा उद्यमीका बारेमा छोटो वर्णन गरौँ। स्टिभ जब्स, बिल गेट्स, सर्गेई ब्रिन, ल्यारी पेज, मार्क जुकरबर्ग सबै कलेज ड्रपआउट हुन्। कहिलेकाहीँ यही कुरा तालिममा भन्दै जाँदा त्यस तालिममा उपस्थित युवाहरुले गलत बुझेका हुन सक्छन्। उनीहरुमा धनी र सफल हुनका लागि धेरै पढ्नु आवश्यक रहेनछ भन्ने गलत बुझाइको विकास हुन सक्छ। आखिर स्टिभ जब्सले किन कजेज ड्रपआउट गरे त? स्टिभले अध्ययनका लागि जुन कलेज रोजेका थिए त्यो स्ट्यानफोर्ड विश्वविद्यालय जत्तिकै महङ्गो थियो। अभिभावकको अधिकांश कमाइ उनकै पढाइमा खर्च हुन्थ्यो। कलेज गएको ६ महिनालगत्तै उनले आफू जीवनमा के बन्न चाहेको भन्नेमा प्रस्ट हुन नसकेको, कलेजको पढाइले जीवन उद्देश्य पत्ता लगाउन कुनै सहयोग नगर्ने र अनावश्यक रुपमा आफूले अभिभावकको पैसा खर्च गरेको महसुस गरे। यही कारण स्टिभले कलेज छाडेका थिए। त्यसैगरी सर्गेई ब्रिन र ल्यारी पेज स्ट्यानफोर्ड विश्वविद्यालयमा पिएचडी अध्ययन गर्दै थिए। 

त्यसै क्रममा उनीहरुले गुगल स्थापना गरे। पिएचडी अध्ययन पूरा गर्नेमा सम्पूर्ण समय र ऊर्जा लगानी गर्नुभन्दा गुगलमा केन्द्रित हुनु उपयुक्त ठाने। यही कारण उनीहरूले पढाइ छाडेका थिए। त्यसैगरी बिल गेट्स हार्वर्ड विश्वविद्यालयमा थिए। उनले माइक्रोसफ्टमा भविष्य देखे अनि पढाइ छाडे। त्यसैगरी मार्क जुकरबर्ग पनि हार्वर्ड विश्वविद्यालयमा थिए। उनले फेसबुकमा भविष्य देखे अनि पढाइ छाडे। स्टिभ जब्स, बिल गेट्स, सर्गेई ब्रिन, ल्यारी पेज र मार्क जुकरबर्ग लगायतका सफल व्यक्तिहरु हार्वर्ड, स्ट्यानफोर्ड जस्ता उत्कृष्ट र प्रतिष्ठित विश्वविद्यालयबाट ड्रपआउट हुन् न कि कुनै साधारण विश्वविद्यालयबाट। यो कुरा बुझ्नु जरुरी छ।

त्यसैगरी सफल व्यवसायी अथवा उद्यमीप्रति यस्ता बुझाइ हुन सक्छन्। व्यवसायीहरु केवल पैसाका लागि काम गर्छन्। यसमा पूर्ण सत्यता छैन। प्रायः सफल एवं धनी व्यवसायी र उद्यमीहरु आफूलाई रुचि लाग्ने, आनन्द प्राप्त हुने काम गरेकै कारण त्यो उचाइमा पुगेका हुन्। त्यसैले उनीहरुप्रति कुनै पनि किसिमको गलत बुझाइ नराखौँ।

उदाहरण तीन, शिक्षक शिक्षिका। स्कुले तहदेखि नै हामीले शिक्षक शिक्षिकाप्रति केही धारणा राखेका हुन्छौँ। केही बुझाइ विकास गरेका हुन्छौँ। जस्तैः शिक्षक शिक्षिका भनेको पूर्ण हुनुपर्छ। उहाँहरुलाई सबै कुराको ज्ञान हुनुपर्छ। आदर्शवादी हुनुपर्छ। उहाँहरुमा कुनै चरित्र त्रुटिहरू हुनु हुँदैन। यही बुझाइलाई हामी सत्य मानेर कलेजदेखि विश्वविद्यालयको पढाइसम्म निरन्तरता दिन्छौँ। विशेषतः प्लस टु अर्थात् ११ र १२ कक्षामा पढ्ने विद्यार्थी भाइबहिनीहरूले शिक्षक–शिक्षिका बारेमा यस्ता बुझाइ राखेका हुन्छन्। हरेक प्रश्नको उत्तर दिन सक्ने, कुनै पनि विषयवस्तुमा बोल्न सक्ने शिक्षक–शिक्षिकालाई उनीहरु निकै क्षमतावान् रहेको, सर्वोत्कृष्ट भएको मान्ने गर्छन्। यदि कुनै शिक्षक–शिक्षिकालाई सोधिएको प्रश्नको उत्तर दिन नसके, अर्को कक्षामा उत्तर दिने आश्वासन दिए, उनीहरु त्यस्ता शिक्षक शिक्षिकालाई निकै झुर रहेको, पढाउने कौशल र अनुभव नभएको रुपमा लिने गर्छन्। हर कोही शिक्षक शिक्षिकाप्रति यस्तो सीमित धारणा राख्नु, बुझाइ विकास गर्नु गलत कार्य हो।

शिक्षक शिक्षिकाप्रति गलत बुझाइ राखियो भने के हुन्छ? उहाँहरुलाई उचित सम्मान गर्न सकिँदैन। यस्तो अवस्थामा उहाँहरुबाट ज्ञान प्राप्त गर्न सकिँदैन। उहाँहरुबाट हामीमा जुन प्रभाव पर्नुपर्ने हो त्यो प्रभाव हामीमा पर्दैन। उहाँहरुसँग नजिक हुन सकिँदैन। घुलमिल हुन सकिँदैन। प्रतिकूल समय र परिस्थितिमा आवश्यक सल्लाह, सुझाव र सहयोग पनि लिन सकिँदैन। त्यसैले हामीलाई ज्ञान दिने शिक्षक शिक्षिकाप्रति गलत बुझाइ राख्ने गल्ती नराखौँ।

प्रकाशित: २३ श्रावण २०७७ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App