११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिरहाका कोरोना संक्रमित युवाको मृत्यु

सिरहा गोगलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ। किडनीका बिरामी उनको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए।

किनडीका बिरामी उनको नियमित डायलासिस प्रदेशिक अस्पताल जनकपुरमा हुँदै थियो। चार दिनअघि डायलासिसका लागि जनकपुर पुगेका उनको पिसिआर परीक्षणका लागि स्वाब लिइर घर पठाएको थियो। घर फर्केपछि साउन २१ गत्ते दिउँसो उनको रिपोर्ट पोजेटिभ आएको थियो। सोही दिन उनलाई प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको प्रजिअ कँणेलले बताए।

प्रदेशिक कोभिड अस्पालका संयोजक डा. जामुनप्रसाद सिंहका अनुसार किडनीको नियमित डायलासिस गराइउँदै आएका सात जना बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको छ। उनीहरु सबैलाई डायलासिस गराउन यहाँबाट बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउने र डायलासिस पछि एम्बुलेन्समा फेरी यहाँ ल्याउने गरिँदै आएको डा. सिंहले बताए। सोही क्रममा उनलाई बिहिबार बिहान एम्बुलेन्समा राखेर डायलासिसका लागि धरान पठाइएको थियो। डायलासिस भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिदै गयो। आइसियुमा थप उपचार हुँदै गर्दा उनको मृत्यु भएको डा. सिंले बताए। किडनीका बिरामीलाई कोरोना संक्रमण भयो भने उच्च जोखिम हुन्छ डा.सिंहले भने,‘बांकी ६ जना कोरोना संक्रमित किडनीका बिरामीलाई पनि उच्च जोखिम छ। हामी नियमित धरान पुर्याउने ल्याउने गरिरहेका छौं।’

कोरोना संक्रमित किडनीका बिरामीका लागि जनकपुरमा डायलासिसको सेवा उपलब्ध छैन। यो सेवा संचालनका लागि मेसिन खरिद गरिसकिएको छ डा. सिंहले भने,‘काम सुरु भैसकेको छ। दुई सातापछि यो सेवा प्रादेशिक कोभिड अस्पतालबाटै उपलब्ध हुन्छ।’

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शव सिरहा ल्याउने तयारी भैरहेको छ। प्रमुख जिल्ला अधिकारी कणेलले भने,‘हामी शव व्यवस्थापनको तयारी गर्दैछौं।’ कोरोनाबाट सिरहामा मृत्यु भएको यो पहिलो हो।

 

प्रकाशित: २३ श्रावण २०७७ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App