६ वैशाख २०८१ बिहीबार
समाज

सुदूरमा बढ्यो काठ तस्करी

सुदूरपश्चिममा पछिल्लो समय काठ तस्करी बढेको छ । काठ, माटो, बालुवा तथा स्याउलाले छोपेर, अवैध बाटोबाट लुकाइ छिपाई तस्करी गर्ने गरिएको छ । पछिल्लो एक वर्षको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा ठूलो परिमाणमा काठ तस्करी भएको देखिएको छ ।

प्रदेश वन निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन वन कार्यालय कैलालीमा मात्रै काठ तस्करीका ३ सय २७ मुद्दा दर्ता भएका छन् । तस्करीमा संलग्न ७ सय ९६ जनालाई मुद्दा चलाएर ११ करोड ४७ लाख १९ हजार दुई सय रुपैयाँ बिगो भराएको तथ्याङ्कले देखाउँछ । डिभिजन वन कार्यालय डडेल्धुरामा काठ तस्करीका १३ मुद्दा दर्ता भएका छन् । जसमा संलग्न २० जनालाई मुद्दा चलाएर कारबाही गरिएको छ । उनीहरुबाट एक लाख ३३ हजार दुई सय ६८ रुपयाँ बिगो भराएको छ । 

यस्तै डिभिजन वन कार्यालय डोटीमा तस्करीका ९ मुद्दा दर्ता भएका छन् भने १३ जना कारबाहीमा परेका छन् । उनीहरुबाट पनि डिभिजन वन कार्यालय डोटीले दुई लाख ४० हजार एक सय ४ रुपयाँ बिगो भराएको छ । यस्तै डिभिजन वन कार्यालय बझाङमा दर्ता भएका २४ मुद्दामा ४४ जना कारबाहीमा परेका छन् । तस्करीमा संलग्नबाट २ लाख ७७ हजार बिगो भराएको छ । डिभिजन वन कार्यालय दार्चुलामा दर्ता भएका ५ मुद्दामा संलग्न ९ जना कारबाहीमा परेका छन् । उनीहरुबाट ७० हजार ५ सय ४० रुपैयाँ बिगो असुल गरिएको छ ।

डिभिजन वन कार्यालय अछाममा दर्ता भएका दुई मुद्दामा संलग्न २ जना कारबाहीमा परेका छन् । उनीहरुबाट एक लाख ४८ हजार बिगो असुलिएको छ । डिभिजन वन कार्यालय बाजुरामा दर्ता भएका ५ मुद्दामा १७ जना कारबाहीमा परेका छन् । उनीहरुबाट एक लाख ८ हजार ४ सय, डिभिजन वन कार्यालय बैतडीमा दर्ता भएका ३ मुद्दामा ४ जना कारबाहीमा पर्नुका साथै उनीहरुबाट ४५ हजार ३ सय आठ रुपैयाँ विगो असुलिएको हो ।

प्रदेश वन निर्देशक हेमराज बिष्टले लकडाउनको समयमा काठ तस्करी बढेको बताए । उनले लकडाउनको समयमा बाटोहरु बन्द गरेर काठ तस्करी भएको स्वीकारे । सरकारले काठ बन्द गरेको कारणले पनि अवैध तस्करी बढेको बताउँदै उनले भने,‘बजारमा काठको अभाव छ आवश्यकता अनुसार काठ पूर्ति हुन नसकेको कारणले पनि तस्करी बढेको हो ।’ प्रदेशभर आर्थिक बर्ष २०७६/०७७ मा काठ तस्करीमा संलग्नहरुलाई १६ सय १० जनालाई वन ऐन अनुसार कारबाही गरिएको पनि बिष्टले बताए । 

बन्दाबन्दीमा तस्करी बढी
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत १० गते जारी गरेको लकडाउन साउन ५ गते अन्त्य गरेको छ । उक्त समयमा कैलाली र कञ्चनपुरका सामुदायिक तथा राष्ट्रिय वनमा काठको चोरी तस्करी बढेको थियो । डिभिजन वन कार्यालय र सामुदायिक वनहरूको निस्कृयताको मौका छोप्दै अवैध रुपमा काठ कटानी तथा तस्करी बढेको थियो । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले लकडाउनको समयमा वन क्षेत्रमा काठ तस्करी बढेको बताए ।

लकडाउनको समयमा कञ्चनपुरका राष्ट्रिय वनबाट तस्करी गरिएको एक सय ५० क्यूफिट काठ बरामद गरिएको बताउँदै उनले भने, ‘विभिन्न सामुदायिक वनहरूबाट समेत ५० देखि ६० क्यूफिट काठ बरामद गरिएको थियो ।’ कैलालीमा डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गतका वनहरूबाट लकडाउनको समयमा  ६ सय क्यूफिटभन्दा बढी काठ बरामद गरिएको तथ्याङ्क प्रदेश वन निर्देशनालयले बताउँछ । 

लकडाउनमा स्थानीयबासीसहित वनका कर्मचारीहरूको आवतजावत रोकिएकाले काठ तस्करी बढेको वन संरक्षणकर्मी बताउँछन् । अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला लकडाउन अवधिमा भने झनै बढेको देखिएको हो ।

प्रकाशित: २२ श्रावण २०७७ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App