coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनगढी गिज्याउँदै ‘धुले सडक’

अस्थायी राजधानी धनगढीका सडक सामान्य पानी पर्दा हिलाम्य हुन्छन् भने घाम लाग्दा धुलाम्य हुने गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी, जहाँ प्रदेश प्रमुखदेखि मन्त्री तथा प्रदेश सांसदहरुको बसोबास छ । हरेक दिन धनगढीकै सडक प्रयोग गरेर यहाँका प्रदेश प्रमुखदेखि मन्त्री तथा सांसद हुइँकिन्छन् । तर, तिनै  ठाउँठाउँ खाल्डाखुल्डी परेका सडकमा उपमहानगरपालिकाले ग्राभेल तथा माटो हालेपछि पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेका हुन् ।

ठाउँठाउँमा फुटेको सडकमा धनगढी उप–महानगरपालिकाले ग्राभेल तथा माटो हाल्दा सामान्य वर्षात्मा हिलो र घाम लाग्दा धुलो उड्ने गरेको स्थानीय व्यापारी जनक जोशीले बताए । उनले भने,‘सामान्य वर्षात् हुँदा उसै त डुब्ने धनगढीका सडकमा माटो र ग्राभेल हालिँदा हिलो हुनुका साथै घाम लागेपछि भने धुलो उड्ने गरेको छ ।’ पानी पर्दा हिलोमा मोटरसाइकल चिप्लनुका साथै घाम लाग्दा आँखै टालिनेगरी धुलो उडेपछि दुर्घटनाको जोखिम बढेको उनले बताए । उनले भने,‘विकासका नाममा तमामौ बजेट रहेको धनगढीमा किन राम्रो सडक बनाइँदैन ।’

धनगढीको मुख्य बजार कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक १५ वर्षदेखि मर्मत सम्भार हुन नसकेको बताउँदै अर्का स्थानीय गजेन्द्र चौधरीले भने,‘करिव डेढ दसकदेखि सडक मर्मत सम्भार नहुँदा टुटेका सडकमाथि सवारी गुडाउनै मुस्किल हुन्छ ।’ 

साविकको धनगढी नगरपालिकाका १४ वडाका कुनै पनि सडक मर्मत सम्भार हुन नसकेको बताउँदै उनले भने,‘साविकको धनगढी नगरपालिकाका १४ वटै वडाका सडकम सामान्य पानी पर्दा हिलाम्य हुनुका साथै घाम लाग्दा धुलाम्य हुने गरेको छ ।’ धनगढीका पुराना वडामा  कालोपत्रे भत्केका सडक रहेको बताउँदै उनले भने,‘यसलाई मर्मत सम्भार गर्न तथा नयाँ कालोपत्रे गर्न अहिलेसम्म कसैले चासो देखाएको छैन ।’  

नगरको सडक मर्मत तथा निर्माण गर्ने जिम्मा स्थानीय तहकै भएको बताउँदै धनगढी उप–महानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले भने,‘तर, प्राविधिक कारणले गर्दा हामीले साविकको धनगढी नगरपालिकाको सडक मर्मत सम्भार गर्न सकेका छैनौं ।’ १४ वटा वडा भएको साविकको धनगढी नगरपालिकाका सडकको अवस्था झन दयनीय हुँदै गएको बताउँदै उनले भने, ‘समय समयमा मर्मत त गरेका हौँ, तर पछिल्लो समयमा भने मर्मत सम्भार गर्न सकिएको छैन ।’ 

घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुँदा पहिलो पटक धनगढी आउने जो कोहीलाई सरकारको काम गराउने हैसियत छर्लङ्ग देखाउने गरेको बताउँदै स्थानीय हरिलाल चौधरी भन्छन्,‘यो सडकले धनगढीलाई मात्रै नभएर सरकारलाई पनि जिस्काइरहेको छ ।’ वर्षात होस् या घाम लाग्दा धनगढीका सडकमा यात्रा गर्ने यात्रुले कष्टकरण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘धुले र हिले सडकलाई चाँडै निर्माण नगरिदिएकै कारण यात्रुलाई समस्या छ,  त्यसका लागि अब सबैले दबाब दिन जरुरी छ ।’

धनगढीका सडकमा घाम लाग्दा धुलो उड्ने भएपछि व्यापार व्यवसाय गरेर बसेका व्यापारीलाई झनै मर्का पर्ने गरेको उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले बताए । उनले भने, ‘फुटेका सडकमा माटो र ग्राभेल हालिँदा घाम लागेपछि उडेको धुलोले व्यापारीको सामान विग्रने गरेको छ, जसले गर्दा व्यापारीले घाटा व्यहोर्नु परेको छ ।’ उनले धुले सडकलाई चाँडै स्तरोउन्नति गर्नुपर्ने बताउँदै भने, ‘सडक राम्रो भएको भए कमसेकम व्यापारीका सामान त बिग्रने थिएनन् ।’ 

प्रकाशित: २२ श्रावण २०७७ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App