विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्षको गोसाइँकुण्ड मेला प्रभावित बनेको छ । जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा हरेक वर्ष पाँच हजार भन्दा बढी तीर्थयात्रीले मेला भर्दै आएकोमा यो वर्ष निकै कम आएका छन् ।
गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अनुसार करिब एक हजार तीर्थयात्रीले मेला भरेका छन् । बाहिरी जिल्लाबाट करिब तीर्थयात्री आएका र स्थानीय सहित करिब १ हजारले मेला भरेका समितिका अध्यक्ष सन्जिव डिएमले बताए । तीर्थयात्रीबाट करिब ८ हजार भेटी संकलन भएको छ । यो वर्ष कोरोना भाइरसको त्रास, जिल्ला प्रवेशमा कडाइ र समितिले मेला व्यवस्थापन गर्ने सूचना प्रकाशित गरेपछि तीर्थयात्री घटेका हुन्।
धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो ।
काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ । त्यसपछि काठमाडौं–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी मार्गबाट तीर्थयात्री जाने गरेका छन् । यो पटक यो पदमार्ग हुँदै धेरै तीर्थयात्री आएका छन् ।
धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्योग गर्ने गरेका छन् । तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन् । कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनी हजारौैं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौँ, काभ्रे, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तिर्थालु, प्रकृतिप्रेमी, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड जान्छन् । काठमाडौं उपत्यका नेवार समुदायका धेरै युवायवती जाने गरेका पाइन्छ ।
प्रकाशित: २० श्रावण २०७७ १०:०३ मंगलबार