१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बढ्दो लापर्बाही, न मास्क न सामाजिक दूरी

विश्वभर महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ। लकडाउन खुला भएसँगै लापर्बाहीसँगै संक्रमण पनि बढिरहेको छ।  

कोरोना संक्रमण नियन्त्रणका लागि भनेर गत चैत ११ गतेदेखि सरकारले झन्डै ४ महिना देशव्यापी लकडाउन लागू गरेको थियो। त्यस अवधिमा आम नागरिकले कोरोनाविरुद्ध सुरक्षाका नियम पालना गरेका थिए।  

तर सरकारले यही साउन ७ गते लकडाउन खुला गरेसँगै मानिसले त्यस्ता नियम पालना गर्न छाडेको पाइएको छ। लापरबाहीबढ्दो छ। जसले गर्दा कोरोना संक्रमणको जोखिम पनि बढेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा कोरानाबाट जोगिन र जोगाउन सचेतना अपनाउन आग्रह गरिरहेका हुन्छन्। मास्क लगाउन, नियमित सावुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, अनावश्यक हिँडडुल नगर्न आग्रह गरिए पनि मानिसहरु पछिल्लो पटक निस्फिक्री देखिनुले खतरा निम्त्याउन सक्ने डा. खेमराज भुसाल बताउँछन्।

लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त पनि भयो। कति परिवारलाई दुईछाक खानसमेत मुस्किल पर्यो। यसबीच कति जनाको त भोककै कारण ज्यानसमेत गयो। यसरी रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै कतिपयले लकडाउनको अवज्ञा गर्न थाले। फलस्वरूप सरकारले यसअघि खुकुलो बनाउँदै लगेको लकडाउन साउन ७ गतेदेखि पूर्ण रूपमा हटाएको हो।  

वास्तवमा कोरोना संक्रमणको जोखिम घटेका कारण सरकारले लकडाउन खोलेको होइन। सावधानी अपनाउँदै नागरिकले आफ्ना दैनिक जीविकोपार्जनका काम पनि गरुन् भन्ने उद्देश्यले सरकारले लकडाउन खुला गरेको हो।  

तर लकडाउन खोल्नेबित्तिकै मानिसमा कोरोना नै हराएजस्तो भ्रम पर्न थालेको छ। अहिले सहर/बजारमा भीडभाड बाक्लिँदो छ। शारीरिक दूरी पालना हुन छाडेको छ। जसले गर्दा अहिले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा कोरोना संक्रमण बढ्दो छ।  

अन्य स्थानको त कुरै छाडौं, देशको केन्द्रीय राजधानी रहेको काठमाडौंमा समेत कतिपय व्यक्ति लकडाउन खुल्यो भन्दै घुम्न निस्केका भटिन्छन्। काठमाडौंका विभिन्न बजार, सडक छेउछाउ मानिस, शारीरिक दूरी कायमै नगरी निर्धक्कसँग व्यापार/व्यवसाय गरिरहेका देखिन्छन्। बिनामास्क हिँडिरहेका पाइन्छन्। यस्तो लाग्छ– मानिसलाई अब कोरोनासँग कुनै डरै छैन।  

यसैकारण अहिले काठमाडौं उपत्यकामा पनि हरेक दिनजसो कोरोना संक्रमित थपिइरहेका छन्।

सरकारले बारम्बार भीडभाड नगर्न, सामाजिक दूरी कायम गर्न, अनिवार्य रूपमा मास्क लगाउन तथा अत्यावश्यक काम नपरीकन  घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ। तर यसलाई आम नागरिकले बेवास्ता गरेको देखिन्छ।  

सोमबार काठमाडौंको वसन्तपुरमा किनमेलका मानिसको भीड निकै बाक्लो देखियो। लकडाउन अघिभन्दा अहिले सवारी साधनको चाप ह्वात्तै बढेको विशाल बजारअगाडि पार्किङमा शुल्क उठाउनेले बताए।  

सबैभन्दा भद्रगोल त सार्वजनिक सवारीसाधनमा देखियो। सरकारले सिटको एउटा लहरमा एक जना मात्र राख्ने गरी भाडा ५० प्रतिशत बढाइदिएको छ। तर राजधानीमा चल्ने सफा टेम्पो, माइक्रो तथा अन्य बसमा त्यस्तो नियम पालना गरेको पाइएन। पहिलेजस्तै भिडभाड गरेर बसेको देखियो। न मास्क न सामाजिक दूरी। खुला मुखले गफगाफ गरेका दृश्य यत्रतत्र देखिए। यस्तै लापरबाहीर असावधानी जारी रहे कोरोना महामारीले नेपालमा पनि भयावह अवस्था नआउला भन्न सकिन्न।

प्रकाशित: २० श्रावण २०७७ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App