८ वैशाख २०८१ शनिबार
समाज

लकडाउन खुलेपछि संक्रमण बढ्यो, उपत्यकामामात्रै ८ सय ३२ संक्रमित

सरकारले लकडाउन खोलेसँगै कोरोना संक्रमणको दर बढेको छ। सोमबार मात्रै ४ सय १८ नयाँ संक्रमित थपिएका छन्। लकडाउन खुल्नुपूर्व यो संख्या १ सय मात्र थियो। यो अवधिमा काठमाडांै उपत्यका र तराईका जिल्लामा समेत संक्रमितको संख्यामा वृद्धि भएको छ।  

लकडाउन खुकुलो भएको पहिलो दिन ३ जना संक्रमित रहेकोमा साउन १९ गते आइपुग्दा उपत्यकामा एकैदिन ५२ जना पुगेका छन्। यो अवधिमा मात्र २ सय ६६ जना संक्रमित भइसकेका छन्। नयाँ संक्रमितसहित देशभरिमा २० हजार ७ सय ५० जना पुगेका छन्। ती मध्येमा ७२.१ प्रतिशत अर्थात् १४ हजार ९ सय ६१ जना निको भएका छन्। सोमबार सबैभन्दा बढी कैलालीमा ६९ जना, काठमाडांै उपत्यकामा ५१, सप्तरीमा ५१, मोरङमा ४६ तथा धनुषा र महोत्तरीमा ३० जना संक्रमित भएका छन्।

हाल नेपालभरिमा ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित छन् भने १८ हजार ९ सय ७ जना क्वारेन्टिनमा छन्। सबैभन्दा बढी प्रदेश २ मा २३ सय ५७ जना र सुदूरपश्चिममा १५ सय ४१ जना संक्रमित छन्।  

सोमबार उपत्यकामा पुष्टि भएका संक्रमित केही दिनअघि संक्रमित भएका अख्तियारका व्यक्तिको सम्पर्कमा रहेका, प्रहरी मुख्यालयका प्रहरी तथा अन्यको सम्पर्कमा रहेकाहरू हुन्। यी संक्रमित भारत तथा तराईबाट आएका, प्रहरी, फर्पिङ तथा अन्य नाकामा संकलन गरिएका नमुनाको रिपोर्टमा भेटिएको मन्त्रालयले जनाएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले भारत र तराईबाट अन्य जिल्लामा आवात–जावात बढ्नु र हरेक व्यक्तिले जनस्वास्थ्य मापदण्ड पूरा नगर्नाले संक्रमण फैलिएको दाबी गरेको छ। लकडाउन समस्याको समाधान नभएर विकल्प स्वरूप खोले पनि हरेक व्यक्तिले नियम पालना नगरेकैले संक्रमण बढेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।  

यस अवधिमा हरेक नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा नगरेमा यो कोरोना महामारी थप बढेर जाने स्थिति रहेको गौतमले बताए। ‘जसले नियम पालना गर्दैन, उसलाई नै संक्रमण हुने हो। माक्स लगाइदिनू, काम नपरी घरबाहिर ननिस्कनू, कसैलाई  

भेट्दा दुई मिटर टाढै बस्नू, पटक–पटक साबुनपानीले हात राम्रोसित धुनू, भीडमा नजानू,’ गौतमले जोड दिँदै भने।  

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी अबका दिनमा जोखिम समूहको पहिचान गरी छिटो परीक्षण गर्ने र आइसोलेसनको व्यवस्था गरेमा नियन्त्रण गर्न सकिने बताउँछन्। गाउँको तुलनामा सहरी महानगरपालिकाले खास कार्य गर्न नसकेको उनको आरोप छ। यो रोग हावाबाट समेत सर्ने भएकोले हावा नचल्ने कोठामा जम्मा भएर बस्न नहुने र सरकारले परीक्षण बढाउनुपर्ने उनको सुझाव छ।  

भारतमा संक्रमण रहेसम्म नेपालमा संक्रमण नरोकिने स्थिति रहेको हरेक नागरिक नै सचेत हुनुपर्ने राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे बताउँछन्। सरकारले जनताको जीविका सहज पार्न लकडाउन खोलिपछि संक्रमण बढेको कुरा पाण्डेले स्वीकार गरे।  

प्लाज्मा थेरापीबाट उपचार गर्न १२ अस्पताललाई अनुमति  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने प्लाज्मा थेरापीबाट उपचार गर्न १२ वटा अस्पताललाई अनुमति दिएको छ।  

यो उपचार थेरापीको लागि नेपाल मेडिसिटी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, भक्तपुर अस्पताल, नारायणी अस्पताल, भेरी र सेती अस्पताल छन्।  

कोरोना संक्रमण भई निको हुँदा एन्टिबडी बनेका व्यक्तिको प्लाज्मा अर्को संक्रमितलाई दिँदा बिरामीको शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने क्षमता उत्पन्न गर्ने उपचार पद्धति हो।  

कोरोना संक्रमणबाट गम्भीर बनेका १८ वर्षमाथिका बिरामीमा यो थेरापीबाट उपचार गर्न सहज हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले बताए। ‘यसलाई कन्भालेसेन्ट प्लाज्मा थेरापीको सम्भाव्य अध्ययन क्लिनिकल अध्ययन नाम दिएका छौं,’ उनले भने। अध्ययन लागि ३ वटा निजी र ९ वटा सरकारी अस्पताललाई तोकिएको छ। यो उपचार बिरामी र दाता दुवैको सहमतिमा मात्र हुनेछ। यो उपचारको लागि अहिलेसम्म २५ जना कोरोना निको भएका व्यक्तिले नाम दिइसकेको डा. ज्ञवालीले जानकारी दिए।  

उपत्यकामा संक्रमित संख्या ८ सय ३२  

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ सय ३२ पुगेको छ।  

हालसम्म काठमाडौं जिल्लामा मात्रै ६ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ। तीमध्ये ३ जनाको मृत्यु भएको छ। त्यस्तै ४ सय ४५ जना कोरोना संक्रमति उपचारपछि निको भएका छन् भने २ सय १५ जना उपचाररत छन्।  

मन्त्रालयको तथ्यांकअनुसार भक्तपुर जिल्लामा ६३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ४० जना संक्रमित उपचारपछि निको भएका छन् भने २३ जना उपचाररत छन्। ललितपुरमा हालसम्म कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ। १ सय ६ कोरोना संक्रमितमध्ये ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने ३१ जना उपचाररत छन्।  

लकडाउन खुला गरेसँगै काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिममा छ। सरकारले साउन ६ गते रातिदेखि लकडाउन अन्त्यको घोषणा गरे पनि कोरोना संक्रमणको दर घटेको छैन। लकडाउन खुला गरेपछि दुई हप्ताको अवधिमा काठमाडौं उपत्यकामा मात्रै २ सय ६६ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले लकडाउन अन्त्य गरेको अर्को दिन अर्थात् साउन ७ गते देशभर गरिएको ३ हजार ७ सय ७९ परीक्षणमा उपत्यकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै उपत्यकामा साउन ८ गते ७ जना, साउन ९ गते १० जना, १० गते ३ जना, ११ गते ८ जना र १२ गते ५ जनामा कोरोना भाइरस पुष्टि भएको थियो।  

मन्त्रालयका अनुसार साउन १३ गतेपछि उपत्यकामा संक्रमितको संख्या बढेको छ। १३ गते मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। त्यस्तै १४ गते १५ जना र १५ गते ४८ जना संक्रमित थपिए। जुन बढ्दो हो। प्रवक्ता गौतमका अनुसार साउन १६ गते ३७ जना, १७ गते ६ जना, १८ गते ३१ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म काठमाडौं उपत्यकामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

उपत्यकामा २०७६ पुष २८ गते पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो। त्यसको दुई महिनापछि अर्थात् चैत १० गते दोस्रो व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। चैत ११ गतेदेखि सरकारले मुलकमा लकडाउन गरेको थियो। त्यसपछि भने ाट्टफुट्ट संक्रमित भेटिएका थिए। हाल उपत्यकामा दिनानुदिन संक्रमित थपिदै गएका छन्। पछिल्लोसमय उपत्यका संक्रमणको हटस्पट बनेको छ।

प्रकाशित: २० श्रावण २०७७ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App