६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो: पाँचको मृत्यु, तीन बेपत्ता

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्र मेलम्चीमा सोमबार पहिरोले टहरो पुर्दा पाँच मजदुरको मृत्यु भएको छ। घटनामा तीन बेपत्ता भएका छन्। एकलाई भने घाइते अबस्थामा उद्धार गरिएको छ।  

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बिहान तीन बजेतिर बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको टहरो पुरेको बताए। उनका अनुसार पहिरो पन्छाएर टहरोबाट पाँचको शव निकालिएको छ। मृतकमध्ये दुईको मात्र पहिचान खुलेको छ।  

मृतक ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरीको सनाखत भएको डिएसपी काफ्लेले जनाए। उनीहरु दुबै वीरगञ्जका हुन्। तीन शवको पहिचान हुन सकेको छैन। पहिरोमा अझै तीन हराइरहेको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।

घाइते भारतीय नागरिक बारु शाहको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उनको उद्धार गरिएको थियो। उपचारका लागि धुलिखेलतर्फ लगिए पनि सडक अवरुद्ध भएपछि उनलाई पुनः मेलम्ची फर्काइएको थियो। जिरोकिलो–मेलम्ची खण्डको जर्के खोलामा पहिरोले सडक अवरुद्ध छ।  

टहरोमा कभर्डहल निर्माणमा संलग्न मजदुर सुतिरहेका थिए। मेलम्ची बजारमा केही समययता कभर्डहल निर्माण भइरहेको छ। झण्डै १५–२० मिटरमाथिबाट खसेको पहिरोले टहरो पुरेको थियो। 

प्रकाशित: १९ श्रावण २०७७ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App