१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमामा तस्करले गरे प्रहरीमाथि आक्रमण

भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीको क्षेत्रमा पछिल्लो केही सातादेखि तस्कर र प्रहरीबीच भीडन्त भइरहेको छ। शनिबार राति विराटनगरको सुँडी बस्तीमा तस्करले प्रहरीमाथि आक्रमण गर्दा गाडीको सिसा फुटेको छ।  

लकडाउनको फाइदा उठाउँदै तस्करले नेपाल–भारत सामान अवैधरूपमा ओसारपसार गर्न थालेपछि प्रहरीले सक्रियता बढाएको हो। भारतबाट अवैध बाटो प्रयोग गरी नेपाल आउँदा कोरोनाको जोखिम उच्च हुने भन्दै प्रहरीले गस्ती बढाएको बताएको छ। यसरी प्रहरीले आफ्नो सक्रियता बढाउन थालेपछि तस्करले सहजै सामान ओसारपसार गर्न नपाएपछि प्रहरीमाथि आक्रमणका घटना बढ्न थालेको छ।  

इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा सीमासँग जोडिएको विराटनगर–१५ स्थित सुँडी बस्तीमा शनिबार राति तस्करहरूको समूहले आक्रमण गर्दा गाडीको सिसा फुट्यो भने कसैलाई केही नभएको मोरङ प्रहरीले जनाएको छ।      

तस्करीको सामान नियन्त्रणका लागि पुगेको प्रहरीको ना १ झ १३४८ नम्बरको गाडीलाई अवरोध गर्न ढुंगा प्रहार गर्न थालेपछि गाडीको सिसा फुट्यो भने त्यस आक्रमणकारी समूहका दुई जना पक्राउ परेका छन्। अन्य ६ जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले बताए।  

विराटनगर–१५ का २६ वर्षिय अनिल साह र २४ वर्षीय मुकेश देव घटनाका क्रममा पक्राउ परेको र आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान थालेको डिएसपी राईले बताए। लामो समयदेखि सीमा क्षेत्रमा तस्करी धन्दा चलाउने युवाहरू रहेको प्रहरीले जनाएको छ।  

‘टोली पुग्न साथ अवरोध गर्दै एउटा समूह आक्रमकरूपमा प्रहरीमाथि खनियो,’ डिएसपी राईले भने, ‘सामानको तस्करी भइरहेको अवस्थामा प्रहरी पुगेर नियन्त्रणमा लिने प्रयास गरेपछि तस्करी गर्न नपाएको रिसमा तस्कर समूहले आक्रमण गरेको हो।’  

त्यस्तै सुनसरीको देवानगञ्जमा साउन १ गते राति भारतबाट तस्करी गरेर सामान ल्याउँदै गर्दा नेपाल प्रहरीसँग भीडन्त भएको थियो। सो क्रममा तस्करीमा संलग्न देवानगञ्जका २ जना घाइते भएका थिए। सुनसरीकै हरिनगरकामा साउन २ गते राति तस्कर र सशस्त्र प्रहरीबीच भीडन्त भएको थियो। सो भीडन्तका क्रममा हरिनगरका १ जनाको मृत्यु भएको थियो। साउन २ नै इनरुवा बसपार्कबाट प्रहरीले प्रतिबन्धित ट्याक्सिस माछा ७ हजार ५ सय १० केजी बरामद गरेको थियो। माछाको भारतीय बजारमा नेपाली करिब १५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १८ श्रावण २०७७ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App