२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोले गोरखामा सय भन्दा बढी पोलमा क्षति

वर्षापछिको पहिरो र हावाहुरीले क्षति भएको बिजुली लाईन ।

लगातारको वर्षापछिको पहिरोले गोरखाको विद्युत लाईनमा जोखिम बढेको छ । आँबुखैरेनी हुँदै गोरखासम्म ल्याइएको ३३ केभि क्षमताको विद्युत लाईनको चार ठाउँमा पहिरोले पोल जोखिममा परेको छ । शाखा लाईनको धेरै ठाउँमा समस्या आएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

‘गोरखा खैरेनीको चार ठाउँमा उच्च जोखिम छ’ केन्द्र प्रमुख माधव न्यौपाने भने ‘तत्काल मर्मत गरेर सुक्षित गर्न सक्ने अवस्था छैन, पहिरोले थप क्षति हुँदै गएको छ ।’ मझुवा, अबुवा, चारकिलो, दशकिलोमा मुख्य लाईनमा समस्या आएको हो । ‘जतिसुकै बेला ३३ केभि अवरुद्ध हुन सक्ने स्थिति छ’ उनले भने । सय वटा पोल पहिरोले क्षति पुर्‍याएको र तिमध्ये ५० वटा नयाँ बदल्नुपर्ने भएको छ । छेवेटार, पिपलथोक र पालुङटारको राउतेपानीमा गरी तीनवटा ट्रान्सफर्मरमा समेत क्षति पुगेको केन्द्र प्रमुख न्यौपानेले बताए ।

४४ हजार ग्राहक रहेको वितरण केन्द्रले वर्षात यता अझै पाँच प्रतिशत ग्राहकलाई बिजुली दिन सकेको छैन । लगायतारको वर्षातले पहिरो बग्दा केहीघरधुरी एक सातादेखि अध्यारोमा छन् । ‘बिजुलीको पोल ढलेको छ, मर्मत गर्न जाने सडक पनि छैन’ केन्द्र प्रमुख न्यौपानेले भने । शहिदलखन गाउँपालिकाको बक्राङमा लामो समयदेखि बिजुली अवरुद्ध भएको गुनासो स्थानीयको छ । ११ हजार भोल्टेज रहेको शाखा लाईनमा पनि धेरै ठाउँमा पहिरो र रुख ढलेर क्षति पुगेको छ । नारेश्वर, च्याङ्ली, अश्राङ, बोर्लाङ, ताप्ले, छापथोक, छेवेटार लगायत ठाउँमा धेरै क्षति भएको केन्द्रले जनाएको छ ।

‘दिनदिनै वर्षात भईरहेकाले समस्या भएको छ’ उनले भने ‘मर्मत गर्न सकेका छैनौँ, जोखिम बढेको छ ।’ केन्द्रले सर्वसाधारणलाई पहिरोबाट जोखिममा परेका बिजुलीको पोल, तारा, ट्रान्सफर्मर देखेमा खबर गर्न अनुरोध गरेको छ । ‘पहिरोले बिजुलीमा क्षति पुग्दा जोखिम हुन सक्छ’ केन्द्र प्रमुख न्यौपानेले भने ‘तत्काल हामीलाई खबर गर्नुभयो भने लाईन बन्द गरेर मर्मत गर्छौँ ।’ नजिकको प्रहरी, प्राधिकरणका कर्मचारीलाई जोखिम भएको ठाउँ बारे जानकारी गराउन वितरण केन्द्रले आह्वान समेत गरेको छ ।

प्रकाशित: १७ श्रावण २०७७ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App