१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लापरबाहीले भयावह बन्दै संक्रमण, भारतीय कामदारबाट जोखिम

कोरोना संक्रमणबाट बिहीबार जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु  भयो। भारतीय नागरिक उनको मृत्युसँगै इन्टरप्राइजेजका सम्पूर्ण कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।

संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए। बिहीबार शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार अघि बढाइएको थियो। राति साढे ११ बजे उनको मृत्यु भएको अस्पताल प्रमुख डा. मदन उपाध्यायले बताए।

असार अन्तिम साता वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा तीनजनामात्र संक्रमित थिए। पालिकाहरूका क्वारेन्टिन पनि प्रायः खाली भइसकेका थिए। ‘महानगर कोरोनामुक्त हुने भएपछि हामी हौसिएका थियौं’, वीरगन्ज महानगर प्रमुख विजय सरावगीले नागरिकसँग भने, ‘अचानक आएको कोरोनाको बाढीले समुदायका कुनै वर्गलाई छोडेन। मँ आफैं पनि संक्रमित भएँ।’ यो बाढी कहाँबाट पस्यो ? सरोकारवाला सबै नाजवाफ छन्। खुला सीमाको फाइदा उठाएर पारिबाट लुकेर छिरे भन्दै सुरक्षा अधिकारीहरु पन्छिरहेका छन्। सीमा सुरक्षाको जिम्मा संघीय सरकारको हो भन्दै प्रदेश सरकार उम्किरहेको छ। लकडाउन खुकुलो पारिए पनि सीमाको सिल ब्रेक गरेका होइनौं भन्दै संघीय सरकार पन्छिँदैछ।

सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डिआइजी कृष्णभक्त ब्रह्मचार्यका अनुसार सरकारले तोकिदिएको नाकाबाट प्रवेश गर्नेहरुलाई सुरक्षाकर्मीले सम्बन्धित पालिकाको जिम्मामा र कामदारलाई सम्बन्धित उद्योगको जिम्मामा क्वारेन्टिन बस्नेगरी पठाउने गरेका छन्। ‘सीमाबाट कामदार लिएर जाने उद्योगले कामदारलाई १४ दिन क्वारेन्टिनमा नराखी बिनापरीक्षण काममा लगाउँछ भने त्यसको जिम्मेवार उही हुन्छ’, डिआइजी ब्रह्मचार्यले भने, ‘सीमाबाट सुरक्षाकर्मीले त्यत्तिकै कसैलाई पनि छोडेको छैन।’

‘लकडाउन खुकुलो भएपछि पारिबाट लुकीछिपी भित्रिएका कामदारबाट कोरोना संक्रमण फैलिएको देखिन्छ।’

साउन ७ गतेबाट सरकारले लकडाउन खोले पनि भारतसँगको तोकिएका नाकाबाहेक अन्यत्रबाट आवागमन बन्द राख्ने निर्णय गरेको थियो। तर लकडाउनकै अवधिमा जगदम्बा इन्टरप्राइजेजमा भारतीय कामदार भित्र्याइयाे उनीहरूबाटै वीरगन्ज र आसपासका क्षेत्रमा संक्रमण फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

‘तोकिएका नाकाबाट भित्रिएकालाई १४ दिन क्वारेन्टिनमा राखेर पिसिआर परीक्षणमा नेगेटिभ आए मात्र घर जान दिइएको थियो, उनीहरूबाट कोरोना फैलिएको हैन,’ उनले भने, ‘लकडाउन खुकुलो भएपछि पारिबाट लुकीछिपी भित्रिएका कामदारबाट फैलिएको देखिन्छ।’

पछिल्लो १५ दिनमा पर्सामा करिब दुई सय संक्रमित थपिएका छन्। यस अवधिमा यहाँ १० जनाको ज्यान गइसकेको छ। वीरगन्जसँग सीमा जोडिएको भारतको रक्सोलआसपासका क्षेत्रमा संक्रमण व्यापक छ।

वीरगन्ज महानगरपालिका–३२ मा रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजका चारजनामा कोरोना संक्रमण देखिएपछि गत मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साले उद्योग केही समयका लागि सिल गरेको थियो। ‘त्यहाँ कार्यरत कर्मचारी र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको थियो’, सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। साउन ६ गते उद्योगका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लक्षणसहित कोरोना संक्रमण भेटिएको थियो। ट्रेसिङ गर्दा अरु तीनजना कामदारमा समेत संक्रमण पुष्टि भयो। पारिबाट आएका ती कामदारलाई बिनापरीक्षण काममा लगाएको पाइयो।

बिहीबार साँझ नै वीरगन्ज महानगरपालिका–१६ नगवा घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपछि बिहीबार राति उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको चिकित्सकले बताएका छन्। ती युवक ज्वरोको उपचार गराउन गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए। त्यहाँबाट सन्चो नभएपछि गत मंगलबार तराई हस्पिटल गएका थिए। सोही दिन कोरोना अस्पतालमा रेफर भएर आएका उनमा श्वासप्रश्वासको समस्या थपिएपछि आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो।  

त्यस्तै बिहीबार बिहान वीरगन्ज–२ छपकैयास्थित आफ्नै घरमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। घरमै मृत्यु भएको थाहा पाएपछि नारायणी अस्पतालको टोलीले उनको थ्रोट स्वाब संकलन गरेको थियो। बिहीबार राति आएको पिसिआर रिपोर्टमा नतिजा पोजेटिभ देखिएको हो।

नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायका अनुसार पारिबाट फर्केका कामदार कोरोना लिएर आएको पाइएको छ। भारतको हटस्पटबाट फर्केकाहरुले सीधै समुदायमा हिँडडुल बढाउँदा संक्रमणको ग्राफ बढेको उनले बताए।

चैतमा लकडाउन हुँदा घर गएका भारतीय कामदार लकडाउन खुकुलो भएसँगै बारा–पर्सा करिडोरका उद्योग सञ्चालन भएपछि फर्किएका हुन्। यहाँका दुई दर्जनभन्दा बढी ट्रान्सपोर्ट कम्पनीमा रक्सोल र आसपासका भारतीय कामदार कार्यरत छन्। वीरगन्जमा निषेधाज्ञा लाग्नुअघिसम्म उनीहरू बिहान ट्रान्सपोर्टमा काम गरेर साँझ पारि फर्किने गरेका थिए। गत साउन ७ मा सुक्खा बन्दरगाहमा कार्यरत दुईजना कर्मचारी र एक ट्रक चालकमा कोरोना पुष्टि भएको थियो। ‘पहुँचको बलमा पारिका कामदारलाई सीमाबाट निर्धक्क उद्योगभित्र प्रवेश गराएर काममा लगाउनु नै कोरोना संक्रमणलाई निम्ता दिनु हो’, वीरगन्जका एक चिकित्सकले भने, ‘संक्रमण फैलिएको स्थानबाट यात्रा गरेर आएकालाई लुकाएर अन्य मानिससँग घुलमिल गराउनु नै ठूलो गल्ती भयो। थप कति मानिसमा संक्रमण फैलियो, त्यो परीक्षणबाटै यकीन हुन्छ।’

प्रकाशित: १७ श्रावण २०७७ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App