coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली प्रदेश, बाढीपहिरोमा परी ३४ जनाको मृत्यु

रुकुममा पहिरोमा परेर मृत्यु भएकाको शव निकाल्दै स्थानीय र प्रहरी। तस्बिर: नागरिक

कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ, भने आठजना बेपत्ता छन्। यस वर्ष बर्खामा दुई करोड ९१ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। बाढी पहिरोमा परेर सुर्खेत, सल्यान र दैलेखमा एक÷एक, जाजरकोटमा १५, कालीकोटमा १२ र रुकुम पश्चिममा चारजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

त्यस्तै दैलेखमा ६, जाजरकोटमा सात, कालीकोटमा दुई र रुकुम पश्चिममा पाँचजना घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार जाजरकोटमा दुई र कालीकोटमा ६ जना बेपत्ता भएका छन् बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बर्खा सुरु भएदेखि अहिलेसम्म कर्णालीका विभिन्न ठाउँका ६१ घरमा क्षति पुगेको छ।

बिहीबार मात्रै कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, बुढागाउँका ६० वर्षीय पर्शुराम सन्ज्याल र उनकी बुहारी २९ वर्षीया ताराको मृत्यु भएको प्रवक्ता बास्तोलाले जनाए। पर्शुराम पानी लिन गएका थिए, भने तारा नजिकैको जंगलमा स्याउला लिन जाँदा माथिबाट पहिरोले बगाएको थियो। कर्णाली पहाडी र हिमाली क्षेत्र भएकाले यहाँ धेरै पहिरो जाने गर्छ। पछिल्लो समय जथाभावी सडक निर्माण गर्दा पनि गाउँबस्तीहरू पहिराको जोखिममा परेको विज्ञको भनाइ छ।  

कर्णालीका एक हजारभन्दा बढी घर अहिले पहिरोको जोखिममा रहेको यहाँका प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ। बस्ती विकासमा ध्यान नदिँदा बाढी पहिरोको मारमा सर्वसाधारण परिरहेका छन्। कमजोर धरातलदेखि खोला किनारसम्म बस्ती रहेकाले जोखिम छन्। ‘त्यतिबेला सुरक्षित स्थानको खोजी गरिएन,’ कालीकोटकी पवित्रा सिंहले भनिन्, ‘जोखिमयुक्त ठाउँमा बस्ती भएकाहरू यो समयमा आनन्दले बस्न पाउँदैनन्। रातदिन जाग्राम (अनिधो) भएर बर्खाको समय बिताउँछन्।’  

पहिरो जाने डर भए पनि अर्को ठाउँ ओत लाग्ने ठाउँ नहुँदा ज्यानलाई बाजीमा राखेर बर्खा कटाउन बाध्य भएको उनको भनाइ छ। कतिखेर पहिरो आउँछ वा झर्छ भन्ने चिन्तामै जोखिमयुक्त क्षेत्रका बासिन्दाको दैनिक कट्ने गरेको छ।

यसैबीच नहरमा डुबेर रुकुम पश्चिममा एक बालिकाको मृत्यु भएको छ। बाँफिकोट गाउँपालिका–१, लागिमकी १७ वर्षीया कल्पना विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।। घरदेखि अन्दाजी दुई सय मिटर पश्चिममा रहेको नवभिजन साना जलविद्युत्को ओभर पानी फाल्ने नहरमा चिप्लिएर कल्पनाको मृत्यु भएको उनले बताए। 

प्रकाशित: १६ श्रावण २०७७ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App