१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘विपद् व्यवस्थापनका लागि प्रदेशमा बजेट छैन’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले विपद् व्यवस्थापनका लागि मन्त्रालयमा बजेट नभएको बताएका छन्। प्रदेशसभा अर्थ तथा विकास समितिले बिहीबार गरेको छलफलमा उनले विपद् व्यवस्थापनका लागि भनेर छुट्टै कोष नहुँदा बजेटको अभाव भएको बताए। बजेट अभाव हुँदा पनि प्रदेश सरकारले राहात तथा उद्धारको काम गरिरहेको बताए।  

‘मन्त्रालयमा विपद् व्यवस्थापनका लागि बजेट छैन,’ उनले भने, ‘त्यसैले बाढीपहिरोले जुन सडकमा क्षति पु¥याएको छ, त्यहाँ सोहि सडकका लागि छुट्याएको बजेटबाट पुनर्निर्माण तथा मर्मतको काम गर्ने गरेका छौं।’ उनले विपद् कोषमा बजेट थपेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए।

मन्त्री बस्नेतले बजेट अभावमा कामै गर्न नसक्ने अवस्था भने नरहेको बताए। विपद् व्यवस्थापनका लागि छुट्टै बजेट छैन भन्दैमा सरकारले केही नगरेको भनेर नबुझ्नुहोला,’ मन्त्री बस्नेतले भने, ‘बजेट अभावमा काम रोकिँदैन, सडक, खानेपानीलगायतका सबै योजनामा बजेट विनियोजन भएको छ त्यसैबाट काम भइरहेको छ।’

मन्त्री बस्नेतले विपद् कोषमा बजेट नभएकाले काम गर्न अप्ठेरो भएको बताएपछि समितिका सदस्यहरूले बजेट छैन भनेर सरकार विपद् व्यवस्थापन गर्नबाट पन्छिन नमिल्ने बताए। उनीहरूले वैकल्पिक उपायबाट बजेट व्यवस्थापन गर्न सुझाव दिएका थिए।  समिति सदस्य हरिशरण आचार्यले विपद् व्यवस्थापन संघीय सरकारले गर्छ भनेर परम्परागत ढंगको बुझाई परिवर्तन गर्न आग्रह गरे।  

सडक मर्मत कोष, मुख्यमन्त्रीको कार्यालयको बजेट वा कोरोना व्यवस्थापनका लागि विनियोजन गरिएको बजेटसमेत विपद् व्यवस्थापनमा प्रयोग गर्न सकिने उनको सुझाव थियो।  

अर्का सदस्य मिनप्रसाद गुरुङले जनतालाई समस्या पर्दा बजेट नभएको भनेर जिम्मेवारीबाट भाग्न नमिल्ने बताए। उनले वैकल्पिक व्यवस्था गरेर भए पनि सडक, खानेपानी, सिंचाई मर्मतसम्भार गर्न सुझाव दिए। यस्तै सदस्य चन्द्रमोहन गौचनले बजेट छैन भनेर जिम्मेवारीबाट भाग्ने हो भने सरकार र मन्त्रालय हुनुको औचित्य नहुने टिप्पणी गरे। सदस्य डोबाटे विश्वकर्मा र सरिता गुरुङले जिम्मेबारीबाट पन्छिएर जनताको सेवा गर्न नसकिने भन्दै तत्काल बजेट व्यवस्थापन गरेर विपद व्यवस्थापनमा लाग्न आग्रह गरे।

समितिले बाढीपहिरोबाट क्षति भएर अवरुद्ध सडक तत्काल खुलाउन सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति दिपक कोइरालाले सडक बन्द हुँदा जनजीवन कष्टकर भएकाले तत्काल काम गरेर अवरुद्ध सडक खुलाउन निर्देशन दिएका हुन्।

प्रकाशित: १६ श्रावण २०७७ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App