उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेलटार बजारमा ‘बेल स्तम्भ’ निर्माण भएको छ । ३ वर्षअघि सुरु भएको नगरपालिका र प्रदेश सरकारको बहुवर्षीय योजना अनुसार आर्थिक वर्ष ०७६/७७ मा स्तम्भ निर्माण सम्पन्न भएको हो ।
नगरपालिका मुकाम बेलटार बजारको पुष्पलाल चोकनजिकै झण्डै अढाई कठ्ठा खाली जमिनमा घेराबेरा, फाउण्डेसन र फुलबारीसहितको बेल स्तम्भ निर्माण भएपछि बजारको रौनक अर्कै बन्न पुगेको छ । स्थानीय बृद्धबृद्धाका अनुसार बेलटार बजार झण्डै ४ दशकअघि अस्तित्वमा आएको हो । बजार सुरु हुँदाताका त्यहाँ हरेक बिहीबार हटिया (साप्ताहिक बजार) लाग्ने गरेको थियो । बजार बीचमा खाली जमिनमा बेलको रुख रहेको र सोही रुख वरिपरि हटिया भर्न आउने व्यापारी र उपभोक्ताहरु बसेर आराम गर्ने गर्थे ।
हरेक हप्ता लाग्ने हटियामा भोजपुर, खोटाङ र उदयपुरका माथिल्लो भेगबाट नुन, तेल, मसला, चामललगायत उपभोग्य सामग्री खरिद गर्न आउने ढाकरे (डोकोमा भारी बोक्ने भरिया)को भारी बिसाउने, आराम गर्ने, बास बस्ने र स्थानीयहरु टहलिने ठाउँमै अहिले बेलको स्तम्भ निर्माण गरिएको नगरप्रमुख खगेन्द्र राईले बताए । पहिला बेलको रुख भएको टार (सम्म) जमिन भएकाले त्यसको नाम बेलटार रहन गएको र विकास क्रममा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको शालिक बनाएर ‘पुष्पलाल चोक’ नामाकरण भएको उनले बताए ।
स्थानीयतह पुनर्संरचनापछि जनप्रतिनिधि निर्वाचित भएलगत्तै सो ठाउँलाई पार्किङ बनाउने अवधारणा अघि सारेर सिंगार्ने काम सुरु भएको मेयर राईले बताए । मेयर राईका अनुसार विगत ३ वर्षयता घेराबेरा गर्ने, सोलिङ गर्नेलगायत पार्किङ व्यवस्थापन गरिदै आएको सो ठाउँमा नगरपालिकाबाट ३५ लाख बढी खर्च भईसकेको छ । प्रदेश सांसद विमल कार्कीको ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मार्फत आर्थिक वर्ष ०७५/७६ मा २० लाख र आव ०७६/७७ मा ५ लाख लगानी गरेर पार्कमा बेलको दानासहितको स्तम्भ निर्माण सम्पन्न भएको हो ।
नगरपालिकाले प्रदेश सरकारको लगानीमा स्थानीय प्रेम सुबेदीको अध्यक्षतामा गठन गरेको उपभोक्ता समितिले स्तम्भ निर्माण सम्पन्न गरेर नगरलाई हस्तान्तरण गरेको जनाएको छ । स्तम्भ र पार्किङको सुरक्षा, रेखदेख र मर्मतसम्भारको काम नगरपालिका स्वयंले गर्ने जिम्मेबारी लिएको मेयर राईले बताए । उनले स्तम्भसहितको पार्किङले नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा लिइएको बताए ।
मुख्य बजारक्षेत्र र गाईघाट–बेलका तथा सिद्धिपुर–बेलटार आउजाउ गर्ने चौरस्तामा निर्मित बेलको दानासहितको स्तम्भले बेलटार बजारको सोभा बढाएको स्थानीयले बताएका छन् । अहिले पनि विहीबारका दिन बाक्लो बजार लाग्ने बेलटार बजार चौदण्डीगढीको मुख्य व्यापारिक केन्द्र रहेको र स्तम्भले नगरपालिकाको चिनारी जनाउने स्थानीय पत्रकार राजेन्द्र दुष्टले बताए ।
प्रकाशित: १५ श्रावण २०७७ १४:०१ बिहीबार





