८ वैशाख २०८१ शनिबार
समाज

धरानमा अत्यावश्यकबाहेक अन्य पसल बिहान ९ देखि ५ बजेसम्म खोल्न पाइने

प्रत्येक वडामा १० जना छनौट गरेर समुदायस्तरमा पिसिआर जाँच गर्ने

प्रजिअ, सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रतिनिधिसहित धरान उपमहानगरपालिकाको बैठक । तस्बिर : रोहित राई

धरानमा अत्यावश्यकबाहेकको पसलहरु बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । कोरोना संक्रमण समुदायस्तरमा नै फैलिइसकेको हुनसक्ने आशंकाको बीचमा बिहिबार धरान उपमहानगरपालिकामा भएको प्रशासन, सुरक्षा निकाय, चिकित्सक र राजनीतिक दलहरुसहितको बैठकले यस्तो निर्णय गरेको हो ।  

पछिल्लो २ दिनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र धरान १३ मा संक्रमण पुष्टि भएपछि समुदायमा नै संक्रमण पैmलिएको आशंका छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनासहितको बैठकले अत्यावश्यकबाहेक अन्य पसलहरुलाई बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको मेयर तिलक राईले जानकारी दिए । ‘अत्यावश्यक औषधी, खाद्यान्न बाहेक दिउँसो पसल खोल्दा पनि सामाजिक दूरी कायम गराउने, मास्क र सेनिटाइजर अनिवार्य लगाउने मापदण्ड कडाईका साथ पालना गराउनेछौं,’उनले भने,‘शुक्रबारदेखि यो निर्णय लागू हुन्छ ।’

सोही बैठकले समुदायस्तरमा संक्रमण फैलिएको छ कि छैन भनेर सुनिश्चित गर्न हरेक वडामा कम्तीमा १० जना छनौट गर्ने निर्णय पनि गरेको छ । यसको लागि नगर प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति पनि गठन गरिएको छ । समितिमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ जना, धरान उपमहानगरको स्वास्थ्य महशाखाबाट १ जना, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, सुनसरी उद्योग वाणिज्य संघ, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष र नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति सदस्य रहनेछन् । उक्त पिसिआर टेष्टको रिपोर्ट ६ दिनभित्र आउने गरि काम थाल्ने पनि बैठकले निर्णय गरेको वरिष्ठ प्रशासनकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

यसैगरि, सार्वजनिक यातायातलाई सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चलाउने व्यवस्था गर्ने र यातायातमा सुरक्षा उपायहरु अपनाएको विषयमा नाकाहरुमा प्रहरी, प्रशासन र नगरपालिकाको समन्वयमा प्रभावकारी अनुगमन गर्ने निर्णय भएको खतिवडाले बताए । उनका अनुसार होटल तथा रेष्टुरेष्टहरुमा होम प्याकेजिङ मात्र बिक्री गर्न दिने निर्णय भएको छ । यस्तै, बैठकले कोरोना विरामी ओसार पासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्थापन गर्न शुक्रबार ११ बजे एम्बुलेन्सवाला र शववाहन चलाउने संस्थाको संयुक्त वैठक बोलाइने भएको छ ।

प्रकाशित: १५ श्रावण २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App