३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

क्वारेन्टिनमा सर्पले डसेका व्यक्तिको मृत्यु

गौरीगंगा नगरपालिका–४, राजीपुरका २२ वर्षीय गणेश शाहीको क्वारेन्टिनमा बसेका बेला सर्पले डस्दा मृत्यु भएको छ । गत असार १३ गते सर्पले डसेपछि उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार गराइरहेका उनको आज मृत्यु भएको हो ।

भारतको पुनाबाट आएका शाहीलाई नगरपालिकाले राजीपुरमा रहेको सिद्धार्थ विद्या निकेतनमा बनाएको क्वारेन्टिनमा राखेको थियो । क्वारेन्टिनमा बसेका बेला गत असार १३ गते रातिको समयमा उनलाई सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो । धनगढीमा उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज रेफर गरिएको थियो । नेपालगन्जमा एक महिनादेखि उपचाररत उनको बिहीबार मृत्यु भएको मृतकका दाजु रामबहादुर शाहीले बताए ।  

‘भाइलाई सर्पले डस्ने वित्तिकै जनप्रतिनिधिले एम्बुलेन्सको व्यवस्था गरेनन्, जसले गर्दा भाइको स्वास्थ्य नाजुक भएको हो,’ उनले भने,‘सुरुदेखि नै नगरपालिकाको लापरवाही भयो ।’ सर्पले डसेको ३ घण्टापछि मात्रै एम्बुलेन्स आएको र एम्बुलेनसमा धनगढी लैजाँदा भेन्टिलेटर नपाएपछि पुनः नेपालगन्ज लग्दा समय धेरै गुज्रिएको बताउँदै उनले भने,‘भाइको मृत्युका कारण सुरुमै जनप्रतिनिधले गरेको लापरवाही नै हो ।’

प्रकाशित: १५ श्रावण २०७७ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App