भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ।
प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्टि गरेको जानकारी दिएको छ।
पहिचान खुल्न नसक्ने, शरीरका विभिन्न अङ्गहरूको अन्त्येष्टि गरेको प्रमख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए। ‘गोरखामा शवगृहको अभाव छ। दैनिक शव फेला पर्नेक्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शव अन्त्येष्टि गरेका हौं’, उनले भने।
उक्त शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्टि गरेको उनले जानकारी दिए। पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, गन्हाउने र रोगसमेत फैलने हुँदा व्यवस्थापनका लागि अन्त्येष्टि गर्नु परेको उनले बताए।
प्रजिअ श्रेष्ठका अनुसार गोरखामा २३ वटा पहिचान खुल्नसक्ने सग्लो शव भेटिएका छन्। हालसम्म फेला परेका सग्ला शवमध्ये ११ वटा पोखरा पठाइएको छ। बाँकी शव भने प्रदेश अस्पताल गोरखा एवं एनपिआइ गोरखा अस्पतालको शवगृहमा राखिएको र केही शव अस्पतालसम्म आइपुग्दै छन्।
जिल्ला प्रहरी कार्यालयलले २९ वटा शवको सहिदलखन गाउँपालिका-९ बुङ्कोटघाटस्थित बूढीगण्डकीको किनारमा अन्त्येष्टि गरेको छ।
प्रहरीले केन्द्रबाट प्राप्त कार्यविधिअनुसार गाडेर शवको अन्त्येष्टि गरिएको जनाएको छ।
प्रकाशित: १३ भाद्र २०८३ १८:४८ शनिबार





