२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चौतर्फी प्रशंसा बटुल्दै बिदा भए सर्लाहीका सिडिओ जिसी

बुधबार दिउँसो झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको लालबन्दी कार्यालयमा प्रजिअ जिसीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्दै प्रतिष्ठानका अध्यक्ष एवं नेकपा सर्लाहीका अध्यक्ष पन्त । तस्बिर : टंक/नागरिक

सर्लाहीको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालय सरुवा भएका मोहनबहादुर जिसी बुधबार काठमाडौंतर्फ लागेका छन् । गत वर्ष साउन १४ गतेबाट सर्लाहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका जिसी ठ्याक्कै वर्षदिनपछि आजै साउन १४ गते काठमाडौंतर्फ लागेका हुन् ।

 सर्लाहीमा जिसीले पदीय जिम्मेवारी अनुसार असल प्रशासकको रुपमा काम गरेको भन्दै चौतर्फी प्रशंसा भएको छ । आईतबार सरुवाको पत्र आएसँगै प्रजिअ जिसीलाई विभिन्न पालिकासहित सरकारी एवं गैर सरकारी संघ संस्थाले राखेको बिदाई कार्यक्रममा सहभागी हुन भ्याईनभ्याई थियो ।  

मलंगवाबाट काठमाडौं जाँदाजाँदै बुधबार दिउँसो लालबन्दीमा उद्योग वाणिज्य संघ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल, बागमती सेवा समाज नेपालले प्रजिअ जिसीलाई रोकेर बिदाई एवं सम्मान कार्यक्रम गरे । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष एवं सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी सर्लाही अध्यक्ष रेवती पन्तले प्रजिअ जिसी असल प्रशासक रहेको भन्दै प्रशंसा गरे । ‘एउटा असल प्रशासक हुनका लागि कमाण्ड, कन्ट्रोल र कम्युनिकेशन हुनु आवश्यक छ, यी सबै कुरामा उहाँ पोख्त हुनुहुन्छ’, जिसीतर्फ देखाउँदै पन्तले भने, ‘यस्तै प्रशासक ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी हुने हो भने मुलुकमा अमन, चयन, शान्ती सुव्यवस्था कायम हुने र सुशासनको क्षेत्रमा समेत निकै प्रगति हुने थियो ।’  

प्रजिअको रुपमा विधि र पद्धती अनुसार निश्पक्ष रुपमा काम गर्दा जिसीलाई विभिन्न राजनैतिक पार्टीका साथीहरुले यो त अर्को पार्टीनिकट हो भन्दै आरोप समेत लागेको आफूले महसुस गरेको नेकपा अध्यक्ष पन्तले बताए । ‘कांग्रेसका साथिहरुले नेकपा निकट भन्ने अनि मेरै पार्टीका धेरै साथीहरुले यो त कांग्रेस निकट भनेर मलाई रिपोर्टिङ गर्ने गर्दथे’, अध्यक्ष पन्तले भने, ‘विभिन्न राजनैतिक दलका साथिहरुले यसरी आरोप लाग्ने प्रशासक भनेकै विधि र पद्धती अनुसार काम गर्ने रहेछ भन्ने एउटा प्रमाण पनि हो ।’

तत्कालिन राजपाबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी पनि जिसी कुसल प्रशासक रहेको कुरामा द्विविधा नरहेको बताउँछन् । ‘उहाँ अत्यन्त कुशल प्रशासकको रुपमा मैले अनुभव गरेँ’, प्रमुख चौधरीले भने, ‘अझ कोरोना भाईरस संक्रमण न्यूनीकरणका लागि र क्वारेन्टिन निर्माणदेखि संक्रमितको उद्धारमा त उहाँ भोकभोकै राती ३ बजेसम्म पनि फिल्डमा खटिनु हुन्थ्यो र हाँमीलाई पनि समन्वय गर्दै लिएर हिड्नु हुन्थ्यो ।’ जस्तोसुकै चित्त नबुझ्ने अवस्थामा पनि सम्बन्धित पक्षलाई तर्क सहित चित्त बुझाएर पठाउन सक्ने कला समेत जिसीमा रहेको आफूले महसुस गरेको प्रमुख चौधरीले बताए ।

नेपाली कांग्रेसबाट निर्वाचित मलंगवा नगरपालिकाका मेयर निरसल साह पनि प्रजिअ जिसीको कामबाट आफू अत्यन्त प्रभावित बनेको बताउँछन् । ‘हेर्नोस यस्तो सिडिओ त मैले अहिलेसम्म संगत नै गरेको थिईन’, मेयर साहले भने, ‘आफू पनि कुनै लोभलालच नगर्ने अनि हामीहरुलाई पनि विधि र पद्धती भन्दा बाहिर जान खोजे तत्काल प्रतिक्रिया जनाएर रोकिहाल्ने बानी उहाँमा थियो, उहाँले त विपद् व्यवस्थापन समितिमा आएको ठूलो रकम समेत जोगाईदिनु भएको छ ।’ विपद् व्यवस्थापन समितिले सञ्चालन गरेको जिल्लाकै ठूलो क्वारेन्टिनमा विभिन्न दाताहरु मार्फत नै आवश्यक सामानहरु जुटाएर प्रजिअ जिसीले ठूलो सरकारी कोष बचाएको भन्दै मेयर साह तारिफ गर्छन् । प्रजिअ जिसीले सधाधारी नेकपाका नेता कार्यकर्ताहरुको मात्र कुरा सुन्ने र विपक्षी कांग्रेसको कुरै नसुन्ने नगरी सबैलाई समान ढंगले व्यबहार गरेर विधी र पद्धती अनुसार काम गरेको मेयर साहको अनुभव छ ।

नेकपाबाट निर्वाचित हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं पनि प्रजिअ जिसी अत्यन्त नरम, मिजाशीला, क्षमतावान, इमान्दार र कर्तव्यपारायण रहेको बताए । समग्र जिल्लाको शान्ति सुरक्षा, अमनचयन र कोभिड–१९ को प्रकोप रोकथाम तथा नियन्त्रणमा जिसीले चालेका कदम उदाहरणीय रहेको मेयर प्रसाईको कथन छ ।

प्रकोपको क्षेत्रमा लामो समयदेखि काम गर्दै आईरहेको गैर सरकारी संस्था बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले त प्रजिअ जिसीको कार्यशैलीको मुक्तकण्ठले प्रशंसा गरे । ‘हाँमीले विपद्को क्षेत्रमा काम गरेको १४ वर्ष भयो, यसबीचमा १२ जना सिडिओ साबहरुसँग नजिकबाट संगत ग¥यौं’, बिदाई तथा सम्मान समारोहमा भण्डारीले थपे, ‘१३ वर्ष हाँमीले बनाएको विपद् प्रतिकार्य कार्ययोजना नै सिडिओ साहेबहरुले विपद् व्यवस्थापन समितिबाट पास गराउनु भयो, तर जिसी सरले भने यसवर्ष आफैले थप नयाँ कुराहरु समेटेर नयाँ खालको योजना बनाउनु भयो, जसले गर्दा हाँमीलाई पनि ठूलो सिकाई भयो ।’ हरेक क्षेत्रमा नयाँ नयाँ भिजन अनुसार काम गर्न सक्ने क्षमता प्रजिअ जिसीमा रहेको भण्डारीको कथन थियो ।

प्रजिअ जिसीले भने नेपाल सरकारको प्रतिनिधि भएर आफ्नो पदिय जिम्मेवारी सकेजति पूरा गर्ने प्रयास गरेको बताए । ‘मैले एउटा राष्ट्रसेवकको रुपमा नागरिकको सेवालाई शिरमा राखेर विधि र पद्धती भित्र बसेर सकेजति जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको हुँ’, उनले भने, ‘त्यसबाट कोही कसैलाई हानी पुगेको भए वा नराम्रो भएको भए क्षमा चाहन्छु अनि मलाई यसरी विभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रबाट भएको यस्तो सम्मानपूर्ण बिदाईले आगामी दिनमा थप कर्तव्यपरायण बन्न अभिप्रेरित गरेको छ ।’

गृह मन्त्रालयले गोरखाका प्रजिअ सुरेन्द्र पौडेललाई सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । पौडेल एकदुई दिन भित्रै सर्लाही आउने स्थानीय प्रशासन स्रोतले जनाएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App