४ वैशाख २०८१ मंगलबार
समाज

लकडाउन खुलेसँगै संक्रमित बढे

कर्णाली प्रदेश

लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमित संख्या दैनिक बढ्न थालेको छ। असार अन्तिम सातादेखि घट्दै गएको संक्रमितको संख्या साउन ६ यता हरेक दिन बढ्दै गएको छ। लकडाउन खुलेयताकासात दिनमा कर्णालीमा कोरोना संक्रमितको संख्या १ सय ६१ पुगेको छ। ‘लकडाउन खुकुलो भएसँगै भारतबाट आएकामा संक्रमण धेरै देखिएको छ,’ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘समुदायस्तरमा पनि परीक्षण भइराखेकाले संक्रमितको संख्या अझै बढ्ने अनुमान लगाउन सकिन्छ।’

जेठ ५गते पहिलोसंक्रमितदैलेखमा फेला परेका थिए। त्यसयता जेठमा मात्रै कर्णालीमा ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार असार महिनामा संक्रमणदर घटेको देखिन्छ। असारमा ७ सय ५७ जनामा संक्रमण देखिएको थियो।

बन्दाबन्दी खुलेकै दिनदेखि भने कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। असार ६ गते कर्णालीमा १२ जनासंक्रमित फेला परेका थिए। असार ७ गते संक्रमितको संख्या बढेर २२ पुग्यो। दैलेखका १६ जना र कालिकोटका ६ जनामा संक्रमण देखियो। असार ८ गते थप ३० जनामा संक्रमण देखियो। साउन ९ गते कर्णालीमा ११ जनामा मात्रै संक्रमण देखिएपनि त्यसयता भने दिनदिनै संक्रमितको संख्या बढेको देखिन्छ।  

महाशाखाका अनुसार साउन १० गते सुर्खेतका ११, कालिकोटका ३, दैलेख र अछामका २–२ जना र हुम्लाका १ जना गरेर २७ जनामा कोरोना संक्रमण देखियो। साउन ११ गते दैलेखमा २५ र सुर्खेतमा तीन जना थपिए। साउन १२ गते दैलेखमा २८, सल्यानमा दुई र सुर्खेतमा १ जना कोरोना संक्रमित थपिए।

सुरुमा कोरोना संक्रमित देखिएको दैलेख जिल्ला पछिल्लोसमय फेरि कोरोनाको केन्द्रबिन्दु बन्दै गएको देखिन्छ। दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले पछिल्लो समय भारतबाट आउने सबै नागरिकमा संक्रमण देखिने गरेको बताए। ‘७दिनमा फेला परेका ८७ जना कोरोना संक्रमितमध्ये अधिकांश भारतबाट आएका हुन्,’ उनले भने, ‘समुदायमा पनि कोरोना देखिन थालेको छ।’ दैलेखका कोरोना फोकल पर्सन रेग्मीका अनुसार पछिल्लो समय देखिएका संक्रमित लक्षणसहितका हुन्।  

‘यसअघि बिनालक्षण देखिएकामा पनि कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘बन्दाबन्दी खुलेयता भारतबाट आएकाहरूमा विभिन्न लक्षण पनि देखिएका छन्।’ रोजगारीका लागि भारत गएका नेपाली लकडाउन खुकुलो भएसँगै फर्किन थालेका छन्। दैलेखमा मात्रै दैनिक २० देखि २५ जनासम्म भारतबाट आउने गरेका छन्।  

कर्णालीमा हाल ४ स्थानबाट कोरोना परीक्षण गर्ने गरिएको छ। सामाजिक विकास मन्त्रालयले परीक्षणलाई समुदायस्तरमा पु-याउने गरी कार्ययोजना बनाइरहेको छ। स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. तिवारीका अनुसार तीन चरणमा समुदायमा पुगेर कोरोना परीक्षण गर्ने तयारी मन्त्रालयले थालेको छ। ‘पहिलो चरणमा कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा समुदायस्तरमा कोरोना परीक्षण सुरु गछौं,’ उनले भने, ‘दोस्रो चरणमा जाजरकोट, रुकुम र सल्यानमा परीक्षण गर्ने तयारी भइरहेको छ।’ सुर्खेत र दैलेख सुरुदेखिनै रेड जोनमा भएका कारण यी जिल्लामा अन्तिममा मात्रै समुदायस्तरमा परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

पछिल्लो सात दिनमा फेला परेका कोरोना संक्रमित
साउन ६–१२ जना
साउन ७–२२ जना
साउन ८ –३० जना
साउन ९–११ जना
साउन १०–२७ जना
साउन ११–२८ जना
साउन १२–२२ जना
स्रोत– सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश

प्रकाशित: १४ श्रावण २०७७ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App