६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरानाविरुद्ध अब्बल बन्याे जुम्ला

गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसबारे सहजीकरण गरे। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए। डा. गुरुङले कोराना भाइरसको लक्षण र रोकथामबारे सरोकारवाला सबैलाई जानकारी गराए। जतिबेला चीनको वुहान प्रान्तमा कोराना भाइरस संक्रमण देखिएको थियो।

मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्नुपर्नेमा सिलसिलेबार बताए। त्यो बेलादेखि नै कोराना संक्रमण हुन नदिनका लागि तयारी सुरु भयो। कर्णाली प्रतिष्ठानले पिसिआर मेसिन खरिद ग¥यो। पिसिआर परीक्षणमा जुम्ला सधैं नेपालको दोस्रो भयो। हरेक स्थानीय तहले क्वारेन्टिन बनाए। प्रतिष्ठानमा १ सय १० बेडको आइसोलेनस बेड निर्माण भयो।  जिल्लाभरि ८ सय क्वारेन्टिन बेड बने।  

प्रत्येक क्वारेन्टिमा स्वास्थ्यकर्मी खटिए। कर्णाली प्रतिष्ठानका चिकित्सक एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा पुगेर स्वाब संकलनमा जुटे। एकै दिनमा ८ सय जनासम्मको स्वाब संकलन गरी परीक्षण गरियो।  

सोही प्रयास स्वरूप जुम्ला अहिले कोरोना भाइरस संक्रमितमुक्त जिल्ला बनेको छ। सबै कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका अन्तिम एक संक्रमित पनि आइतबार निको भएर घर फर्किएपछि जुम्ला कोराना संक्रमित मुक्त बनेको कर्णाली प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन्।

जुम्लामा ६९ जनालाई संक्रमण भएको थियो। तर उनीहरु सबै आइसोलेसनबाटै निको भएर घर फर्किएका छन्। उनले भने,‘कोराना रोकथाममा जुम्लाले गरेको कार्य निकै नमुना योग्य छ। ’ सबै संक्रमित निको भएर घर फर्किएपछि जुम्लाका आइसोलेसन पनि खाली भएका छन्। प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासले यो सफलता प्राप्त भएको हो।

अब पिसिआर परिक्षणको दायरा बढाउँदै सामाजिक र व्यक्तिगत दूरी कायम गर्न आग्रह गरेका छन्। कोराना संक्रमित मात्र नभेटिएको हो,कोराना मुक्त भइसकेको छैन्,‘रजिष्टार काफ्लेले भने,‘अझै विकराल अवस्था आउन सक्छ। सबै संयम बनौँ। स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरौँ। यही नै कोराना संक्रमण फैलन नदिने अचुक अस्त्र हुनसक्छ। ’

कर्णाली प्रतिष्ठानका चिकित्सक तथा प्रा.डा. धीरज गुरुङले भने, ‘जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको छ। जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छौ।’ तर समुदायमा परीक्षणको दायरा बढाउन सके संक्रमित भेटिनसक्ने उनको अनुमान छ। उनले कोराना संक्रमणबाट मुक्त हुनको लागि सबै सचेत बन्नु पर्ने आवश्यकता औंल्याए। डा. गुरुङले एकीकृत क्वारेन्टिनमा बसेकादेखि आइसोलेसनमा बसेका संक्रमितको नियमित रेखदेखको जिम्मेवारी लिएका थिए।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि कर्णाली प्रतिष्ठानले धेरै संख्यामा कोरोना परीक्षण गरेको छ। पीसीआर उपकरण स्थापना गरी सञ्चालनमा ल्याएपछि कोरोना जाँच र स्वाब संकलनलाई प्रतिष्ठानले उच्च प्राथमितामा राखेको थियो। प्रतिष्ठानले हुम्ला, मुगु, दैलेख, कालिकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक टोली परिचालन गर्दै आएको छ। संक्रमितको संख्या शून्य भएपछि कोभिड–१९ विरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई प्रतिष्ठानले सम्मान गरेको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले आइसोलेनसमा संक्रमित संख्या शून्य हुनबित्तिकै कोराना मैदानमा उत्रिएर काम गर्ने, चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यको टिमलाई सम्मान ग¥यो। उनीहरूलाई खाँदा लगाएर आगामी दिनमा कोराना मैदानमा संक्रिए भएर लाग्न आग्रह गर्यो। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जुम्लामा कोराना संक्रमित शुन्य अवस्थामा राख्नु भनेको स्वास्थ्यकर्मीको निकै ठूलो योगदान रहेको बताए। उनले भने, ‘कोराना मैदानको वास्तविक हिरो भनेका स्वास्थ्यकर्मी हुन्। उनीहरुलाई जति सम्मान र प्रशंसा गर ेपनि पुग्दैन।’

‘कोराना संक्रमितलाई अहिलेसम्म सकुशल घर फर्काउन सफल भएका छौँ। यो योगदान जुम्लाका स्वास्थ्यकर्मीलाई जान्छ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘आर्थिक, सामाजिक सांस्कृतिक, स्वास्थ्य, शिक्षा र रोजगारका हिसावले पछि परेको कर्णालीले कोराना मैदानमा निकै ठूलो उपलब्धि हासिल गरेको छ। यो नै कर्णालीको गौरव हो।’

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी थापाले आफूु सुरक्षित भएर मात्र अरुको सुरक्षामा खटिन आग्र्रह गरे। पहिले कर्णालीमा पिसिआर मेसिन ल्याउने विषयमा सुविधा सम्पन्न सुगम क्षेत्रमा बस्नेले नानाथरि कुरा काटेर बसे। तर अहिले कर्णाली प्रतिष्ठानले कोराना मैदानमा उदाहरणीय कार्य गरेर देखाइदियो। अहिले संक्रमित निको भएर गाउँ गएपछि सचेतनाका काममा खटिएका छन्।

प्रकाशित: १४ श्रावण २०७७ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App