३० श्रावण २०७७ शुक्रबार
समाज

टाढिएर जमेको मिलन

दाम्पत्य

हिप्पी शैलीको पोशाकमा ठाँटिएर सोह्रखुट्टेको बाटो दाता मोल्दै लेखनाथ मार्ग ठमेलमा अवस्थित सरस्वती कलेज पुग्थे कुनै बेला नेपालका चर्चित हास्यकलाकार सन्तोष पन्त । हिप्पीमय भएको काठमाडौंको नयाँबजारका फाँटमा रमाउँदै हुर्किएका सन्तोष पन्तलाई हिप्पी फेसनले नछुने सवाल नै थिएन । उनी रफ हिप्पी पोशाकको खुबै शौखिन थिए । तर हिप्पी व्यवहारले भने उनलाई छुन सकेको थिएन ।  

नमिलाइएको कपाल, लथालिंग पोशाक अनि हेर्दैमा रफ स्वभावका सन्तोषसँग कलेजका साथीभाइहरु निकै झुम्मिन्थे । तर त्यही कलेजमा कुनै केटी साथी यस्ती पनि थिइन् जो सन्तोष पन्तसँग कहिल्यै झुम्मिइनन् । ०३४/३५ सालतिर बिए अध्ययन गर्ने क्रममा पहिलोपल्ट सन्तोष पन्तले उनलाई देखेका थिए जसको नाम थियो— प्रतिभा शर्मा ।  

काठमाडौंको बालाजुमा जन्मिएकी प्रतिभाका बुवा शिक्षक  थिए  । शिक्षित घराना भएका कारण पनि प्रतिभालाई अध्ययनका लागि कुनै समस्या थिएन । केटीहरुले पढ्ने स्कुलमा पढेकी प्रतिभालाई राम्रोसँग पढ्नुबाहेक अरु सपना नै थिएन । यता सन्तोष पन्त भने तिनै लजालु स्वभावकी प्रतिभासँग धेरै सपना देख्न थालिसकेका थिए ।  

पन्त २० वर्षकै उमेरमा कलाकार भइसकेका थिए । गाईजात्रा गर्ने, रेडियोमा रसरंग कार्यक्रम चलाउने सन्तोषको आवाजका दिवानाहरुको संख्या बढ्ने क्रममा थियो । तर सन्तोषको दिमागमा पहिलोपटक आफूलाई मन परेको मान्छे रहिरह्यो । 

लामो समयपछि प्रतिभा सहजतापूर्वक सन्तोषसँग बोल्न थालेकी थिइन् । घरसम्म सन्तोष गफ गर्दै जाँदा पनि नरिसाउने भएकी थिइन् । यसरी केही समय बिताएपछि सन्तोष फेरि साथीभाइ जम्मा पारेर ट्रेकिङ हिँडे । त्यसपछि सन्तोषको अभाव प्रतिभालाई खड्किएको महसुस भयो ।   

त्यसअघि प्रेमिका नै नभएका पन्त सुरुमा प्रतिभाको घमण्डी स्वभावलाई नै मन पराए । साथीभाइहरुको घेरामा सधैँ हाँसीमजाक गरिरहने सन्तोष पन्तलाई प्रतिभाले खासै महत्व नदिएपछि उनको मनमा अनौठो भाव आयो । मजस्तो मान्छेलाई भाउ नदिने यो बाउनी को रैछ ? यसलाई अब पासोमा नपारी भएन, सन्तोषले उनलाई आफ्नो बनाउने अठोट गरे  । म हत्तपत्त हार्ने मानिस होइन, सन्तोष त्यति बेलाको घटना सम्झन्छन् ।  

साथीभाइले जिस्काउन थालेको केही समयपछि सन्तोषले एक दिन हिम्मत गरेर प्रतिभालाई बोलाए ।  

ओइ, बाहुनी । प्रतिभा सन्तोषको अघि उभिइन् अनि सन्तोषले मनको कुण्ठा पोख्न भ्याइ हाले ।  

तिम्रो ब्वाइफ्रेन्ड  छ ?

प्रतिभाको छैन भन्ने उत्तर आएपछि मुसुक्क हाँस्दै सन्तोषले फिल्मी शैलीमा डाइलग दिए ।  

त्यसो भए म तिमीलाई माया गर्छु, आजदेखि म तिम्रो ब्याइफ्रेन्ड भएँ । सन्तोषको कुरा सुनेर रातोपिरो बनेकी लजालु स्वभावकी प्रतिभा अचम्ममा परिन् । केटीहरु मात्र पढ्ने स्कुलमा पढेकी उनलाई सरस्वती कलेज आउनु नै गल्ती गरेँ कि भन्ने पनि लाग्यो । एक मन कलेज पढ्न पाउनु नै उनका लागि सबैभन्दा ठूलो खुसीको कुरा थियो । रिसले चुर भएकी प्रतिभालाई सन्तोषले अलि सहज बनाइदिन खोजे ।  

आजै भन्नु पर्दैन, १५ दिनपछि भने नि हुन्छ भने सन्तोषले ।  

त्यसपछि सन्तोष र प्रतिभाको दूरी झन् बढ्न थाल्यो । प्रतिभा सकभर सन्तोषबाट टाढै रहन खोज्थिन् भने सन्तोष सकभर प्रतिभाकै नजिकनजिक रहन खोज्थे । उनीहरुको लुकामारी करिब एक वर्ष नै चल्यो । प्रतिभा सन्तोषको आँखा छलेर घर जाने बाटो खोज्थिन् भने सन्तोष कलेजको कौशीमा बसेर कताबाट निस्किन्छिन् भनेर हेरिरहन्थे । जुन बाटो प्रतिभा निस्कन्थिन् त्यै बाटोमा फिल्मी शैलीमा हात फैलाउन सन्तोष पुगी हाल्थे । मिथुन चक्रवर्तीको कुन फिल्म थियो त्यो, नाम बिर्सेँ, त्यो फिल्म हेर्दा सन्तोषले मेरो स्टाइल मिथुनले चोरेछ  भन्नुहुन्थ्यो  । हिजोका त्यस्ता दिनलाई सन्तोष पत्नी प्रतिभा हाँस्दै सम्झिन्छिन् ।  

जति इग्नोर गरे पनि पिछा गर्न नछाडेपछि प्रतिभा दिक्क भएकी थिइन् । पढेर ठूलो मान्छे बन्ने सपना भएकी प्रतिभालाई सन्तोषकै कारण पढाइ छोडाँै कि भन्नेसम्म पनि एकाध मनमा नआएको होइन । त्यति बेलाको जमाना आजजस्तो कहाँ थियो र ? केटाकेटी सँगै हिँड्दा बात लाउँथे मान्छेले, हात धोएरै पछि पर्नु भाथ्यो मेरो  । त्यतिबेलाको समयलाई हँसिलो पारामा सुनाउँछिन् प्रतिभा ।

 सन्तोषले जति पिछा गरे पनि आफ्नो पासोमा प्रतिभा नआएपछि कक्षामा शिक्षकले पढाइरहँदासमेत ध्यान दिएर बस्न सक्दैनथे । उनी शिक्षकलाई प्रश्न सोध्न उठ्थे तर त्यो प्रश्न किताबभित्रको नभई सन्तोषको मन भित्र हुन्थ्यो ।

सर, लभ गर्नु अपराध हो ?

शिक्षक विनाप्रसङ्ग आएको प्रश्नमा अलमल पर्दै होइन भन्ने उत्तर दिन्थे  । अनि त के चहियो र सन्तोष प्रतिभालाई हेर्दै सुन्यौ भन्थे  

अनि सर त्यसो भए किन वास्ता गर्दैन त ?  

फेरि शिक्षकलाई प्रतिप्रश्न गर्थे सन्तोष । कक्षा  हाँसोले गुन्जिन्थ्यो  । प्रतिभा डरले काप्न थाल्थिन् ।  

यसरी सन्तोष र प्रतिभाको दूरी नजिकिनुको साटो झन् टाढिँदैै जान थाल्यो  । मेरो त कुनै त्यस्तो सोचाइ नै थिएन, कलेज पढ्न पाएकोमै खुसी थियो मेरा लागि । सन्तोष पत्नी प्रतिभा त्यतिबेलाको अवस्था सम्झिन्छिन् ।  

उहाँले अत्ति नै गर्नु हुन्थ्यो, जहाँ पनि पछि लागेर आइपुग्ने, बोल्न मन छैन आफूलाई तर जबर्जस्ती बोल्नै पार्ने बनाउने, धेरै  पीडा दिनु भयो । श्रीमतीको कुरा सुनेर मख्ख पर्दै हाँसिरहेका पन्त ठट्यौली पारामा उल्टै श्रीमतीलाई प्रश्न गर्छन् तिम्ले ओके भन्या भए म पिछा गर्थेँ  र ?  पन्त दम्पतीको धापासीस्थित पल्लाबी कुटी हाँसोले गुन्जायमान भयो ।  

लगातार गाईजात्रामा प्रथम हुँदै आइरहेका हास्य कलाकार सन्तोष चलचित्रमा पनि खुबै शौखिन थिए  । एक दिन संयोग अचम्मको बनाएछन् सन्तोषले । प्रतिभा शर्मा आफ्नी दिदीसँग फिल्म हेर्न जय नेपाल हल जाने सोचमा थिइन् ।  चलाख सन्तोषले कसो कसो मेसो पाई हालेछन् । त्यसपछि त सन्तोष संयोगको नक्कल गर्दै हलसम्मै पुगे । सन्तोषले पिछा गरेको दिदीले थाहा नपाओस् भनेर प्रतिभाले सन्तोष र आफ्नी दिदीको चिना परिचय गराई दिइन् । तै पनि उहाँको नाम सुनेको, अनि बुवासँग चिनजान थियो । प्रतिभा त्यतिबेलाको गाह्रो अवस्थालाई सजिलोसँग सुनाउँछिन् । काठमाडौं कति ठूलो नै थियो र ?  

उहाँको काकाको घर र मेरो घर नजिकै थियो, काकाको घर जान्छु भनेर हामी सँगै आउनु भयो । छुट्ने बेलामा त हामीलाई चै नलाने रे ? पत्नीले पुराना घटाना सुनाइरहँदा सन्तोष प्रेमिल हुँदै प्रतिभाका आँखामा हेर्दै थिए । मेरि दिदिले जाउँ न त भन्दिनु भयो । त्यसपछि त परेन आपत । प्रतिभा त्यो बेलाको समयलाई अझ सम्झिन्छिन्, घर त आउनु भो ठिकै थियो चिनजान भयो अझ राम्रो सँग, होटेलमा अडर दिएको जसरी अण्डा बनाउन पो आदेश दिनुहुन्छ । मेरो घरमा आएर मलाई नै हैकम । प्रतिभाको वाक्य पूरा हुन नपाउँदै सन्तोष जोसिलो पारामा बोल्छन् । ससुरालीमा इन्ट्री लिएको नि ।  

सन्तोषले प्रतिभाको घरमा त इन्ट्री लिए तर उनको मनमा इन्ट्री लिन अझै बाँकी थियो । बल्लबल्ल प्रतिभा बोल्न मात्र थालेकी थिइन् । प्रतिभाले कहिल्यै सन्तोषलाई आफ्नो जीवन साथीको रुपमा देखेकै थिइनन् । उनलाई सन्तोष मन पर्दैनथ्यो । सन्तोषका पोशाक त झनै मन पर्दैनथ्यो अनि सन्तोषको रवाफिलो स्वभाव पनि मन पर्दैनथ्यो तर सन्तोषलाई भने प्रतिभाको सबै कुरा मन पथ्र्याे ।  

शहरमा हुर्किए पनि प्रतिभा र सन्तोष दुवै त्यति शहरिया थिएनन् त्यति बेला सन्तोषलाई सिटी ब्याय बन्न कहिले मन परेन । प्रतिभा आफैँमा लजालु स्वभावकी भएर पनि होला खासै कतै खुल्दन थिइन् । करिब डेड वर्ष सन्तोषले प्रतिभाको पिछा गर्दा पनि प्रतिभाले सन्तोषतिर मन फर्काउन सकिनन् । तर, पनि सन्तोष थकित भएनन् बरु जुक्ति निकाले । सातजना साथीभाइ जम्मा पारेर केही दिनका लागि उनीहरु ट्रेकिङ हिडेँ । सधैँ दिक्क बनाउन आइरहने सन्तोषलाई नदेख्दा प्रतिभाका आँखा चारैतिर घुम्न थाले ।  

उनीहरुको प्रेम यतिधेरै मजबुत हुनुको रहस्य सकारात्मक सोचाइ भएको बताउँछिन् प्रतिभा । कलाकारलाई जता पनि पुग्नुपर्छ जोसँग पनि हिँड्नु पर्छ, मैले सकारात्मक सोचे भने समस्या नै आउँदैन । अर्को कुरा एकअर्कामा विश्वास हुनु अति जरुरी छ ।

प्रतिभामा आफ्नो बानी पारेर ट्रेकिङ हिँडेका सन्तोष साथीभाइसँग उता रमाउँदै थिए तर यता प्रतिभाको बेचैनी बढ्न थाल्यो । त्यै बेला दिदीको विवाहका लागि केटा माग्न आउने कुरा चल्यो । चिन्दै नचिनेको मान्छेसँग विवाह गर्नु प्रतिभालाई ठिक लागेन अनि पहिलोपटक उनको मनको आँखामा पूर्ण कदको सन्तोष मुसुुक्क हाँस्न पाए ।  

प्रतिभाको कोठाको झ्याल हेर्दै एक साताको भ्रमण पछि भोक र शिथिलता बोकेर सन्तोष आफ्नो घरतिर पाइला बढाउँदै थिए । त्यही बेला प्रतिभाको घरको कौशीबाट आवाज आयो ।

कता पुगेर आउनु भयो नानीहरु ?  घुमेर आयौँ सन्तोषले उत्तर दिए ।

आउनुस् थकाइ मारेर जानु होला  । पहिलोपटक जबर्जस्ती गरी छिरेका सन्तोषलाई दोस्रोपटक आमाले नै निम्ता दिइन् । भोका साथीभाइलाई टन्न खुवाउँछु भन्दै सन्तोष भर्‍याङ उक्लिए । भान्सा उठाइसकेको हुनाले प्रतिभाको घरमा मितिनी आमाको बाट आएको कोसेली कसार बाँकी थियो । त्यसको सदुपयोगको जुक्ति प्रतिभाले लगाइन् । लक्का जवान ठिटाहरुका अघिल्तिर साह्रोसाह्रो कसार आइपुग्यो । त्यै कसार पनि कस्तो मिठो मानेर खाको प्रतिभा सम्झिन्छिन् । तिम्रो स्पर्शले गर्दा मीठो भाको नि भन्दै सन्तोष जिस्कन्छन् । यसरी सन्तोष दोस्रोपटक प्रतिभाको घरमा प्रवेश गरे । त्यसपछि पारिवारिक चिनजान बढ्न थाल्यो ।

आउनेजाने प्रक्रिया बाक्लिन थालेपछि प्रतिभाकी हजुरआमाले चाला ठिक छैन भनेको प्रतिभा सम्झिन्छिन् । आफ्नो अघिल्तिर नहुँदा सन्तोषलाई खोज्ने प्रतिभाका आँखा, सन्तोष आँखै अगाडि  हुँदा भने  मुर्मुरिने, चिडिने, रिसाउने, पुरानो बानीमा खासै फेरबदल आएन । जे होस्  सन्तोषले प्रतिभाको मनमा इन्ट्री त लिए तर बसाइको ठेगान भने अझै भएको थिएन ।  

लामो समयपछि प्रतिभा सहजतापूर्वक सन्तोषसँग बोल्न थालेकी थिइन् । घरसम्म सन्तोष गफ गर्दै जाँदा पनि नरिसाउने भएकी थिइन् । यसरी केही समय बिताएपछि सन्तोष फेरि साथीभाइ जम्मा पारेर ट्रेकिङ हिँडे । त्यसपछि सन्तोषको अभाव प्रतिभालाई खड्किएको महसुस भयो ।  

सन्तोष ट्रेकिङबाट फर्किएपछि उनीहरुको प्रेम अंकुराउन थाल्यो  तर प्रतिभाले सर्त राखिन् । सर्त सन्तोषकै हितका लागि थियो  । सर्तमा सफासुग्घर हुनु पर्ने, भलाद्मी पोशाक लगाउनु पर्ने, रवाफिलो स्वभाव बदल्नु पर्ने यी कुरामा सन्तोषले मन्जुरी जनाइ हाले । त्यसपछि सन्तोषको दैनिकीमा केही फेरबदल आयो ।  सन्तोष फिटनेसका लागि बिहान बिहान दौड्ने गर्न थाले । सन्तोष दौडेर घर फर्किँदा प्रतिभा झ्यालमा उभिएर दुवैले मुस्कान साटासाट गर्थे ।  

त्यतिबेलाको समाजले उनीहरुको चियोचर्चो गर्न भ्याइ हालेछ  । त्यसपछि प्रतिभाको घरमा कुरा पुगी हाल्यो । बिहान बिहान दौडिन थालेका सन्तोषलाई प्रतिभाले जगिंगकै पोशाकमा घर ल्याइन् अनि प्रतिभाका बुवासँग कुराकानी गरेर सन्तोष घर लागे । प्रतिभाका बुवा आमाको पनि प्रेम विवाह भएकाले प्रतिभालाई त्यति असहज भएन तर सन्तोषले घरसल्लाह गर्ने माहोल बनाउन सकेनन् । आफूभन्दा जेठा दाइ दिदीको विवाह बाँकी भएकाले सन्तोषले भन्न सकिरहेका थिएनन् । त्यसपछि उनले भाउजुको सहारा लिए । सन्तोषको परिवार छलफलमा बस्यो । उनका ठूलाबुवाले कलाकार मान्छे, उसले रोजेको भए कुरा गरौँ भनेर सहमति दिएपछि घरमा सहमति भयो । त्यसपछि विवाहको मिति तोकियो, ठूलाबुवाको लाजिम्पाटस्थित घरमा २०३८ साल जेठ २९ गते दुलाही बनेर प्रतिभा भित्रिइन् । त्यति बेला सन्तोष २१ वर्षका थिए भने प्रतिभा १९ वर्षमा भर्खर टेकिकी थिइन् ।  

सन्तोष र प्रतिभाको हिमचिम बढेपछि दुवै एकअर्काको परिवारमा छिमेकीको नाताले नजिकिएका थिए  । त्यसैले प्रतिभालाई सन्तोषको परिवारमा घुलमिल हुन समस्या भएन तर समस्या सन्तोषलाई थियो । उनी बेरोजगार थिए भने प्रतिभा जागिरे भैसकेकी थिइन् । श्रीमतीको पैसामा रमाउन मनले मानेन  र उनी जागिर खोज्न थाले । विवाह गरेको १५ दिनमै उनले राम्रो जागिर हात पारे  । त्यसलगत्तै फेरि ट्रेकिङ कम्पनीमा पनि जागिर गर्न थाले । दिउँसो र बेलुका दुई ठाउँमा जागिर गर्न थालेपछि सन्तोषले मज्जाले पैसा कमाउन थाले । विवाहअघि बुवाले लगाएको वचनले सन्तोषलाई जिम्मेवारी बनाउन सिकायो र त्यसकै फलस्वरूप उनले मिहिनेत गर्न थाले । केही समयपछि ट्रेकिङको मात्र जागिर गर्न थालेपछि श्रीमतीलाई पनि घुमाउन पाए अनि उनीहरुको जीवनमा खुसीका लहर आउन थाले ।  

विवाह गरेको ४ वर्ष पछि पन्त दम्पतीको पहिलो सन्तानको रुपमा छोरी जन्मिइन् तर दुर्भाग्य उनको सडक दुर्घटनामा मृत्यु भयो । त्यसपछि उनीहरुका दुई सन्तान भए २०४५ सालमा सकार अनि ०४९ मा कान्छी छोरी प्रतीक (क्याटलिन पन्त)को जन्म भयो ।  

विवाहपछि सन्तोषले पढ्न छाड्दिए तर प्रतिभा भने रात्रीकालीन पढ्दै थिइन् । समय म्यानेज गर्न गाह्रो हुन थालेपछि प्रतिभाले पनि आफ्नो पढाइ छाडिन् । समयअनुसार सपना पनि बदलिँदो रहेछ, पहिले पढाइ सपना थियो पछि सन्तोषकै सपना मेरो सपना भयो ।  

नाटक, फिल्मको चस्का पसेका सन्तोष ४२ सालमा टेलिभिजन प्रविधि भित्रिएपछि  सिरियल बनाउनतिर लागे । त्यसपछि सन्तोषपत्नी प्रतिभाले घर सम्हाल्ने, छोराछोरी स्याहार्नेे गर्न थालिन् । सन्तोषले चौतर्फी तारिफ कमाउँदै गए । सन्तोषको हरेक काममा प्रतिभा दरिलो खम्बा भएर उभिइन् । सन्तोष प्रतिभाप्रति सदैव आफू ऋणी भएको बताउँछन् । प्रतिभा सन्तोषको हात समाउँदै भन्छिन् त्यसैले त म तिम्रो हुँ नि । उनीहरुको प्रेम यतिधेरै मजबुत हुनुको रहस्य सकारात्मक सोचाइ भएको बताउँछिन् प्रतिभा । कलाकारलाई जता पनि पुग्नुपर्छ जोसँग पनि हिँड्नु पर्छ, मैले सकारात्मक सोचे भने समस्या नै आउँदैन । अर्को कुरा एकअर्कामा विश्वास हुनु अति जरुरी छ । पत्नीको कुरामा सन्तोष सहमति जनाउँछन् ।

प्रकाशित: १३ श्रावण २०७७ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App