७ वैशाख २०८१ शुक्रबार
समाज

मराङ पहिरोमा ज्यान जोगाएका सुत्केरीको पीडादायी कथा

म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङका सुत्केरीलाई आवश्यक खाद्यान्न र बासस्थानको अभावले समस्या भएको छ। गत असार २६ गते पहिरोबाट विस्थापित भएका सुत्केरीलाई खाद्यान्न लगायत अति आवश्यक ब्यवस्थापन नहुँदा कष्टकर जीवन विताइरहेका छन्। राम्चे नामरुक गाउँकी सविना विश्वकर्माले पहिरोबाट जोगिएपनि शिशुलाई हेरचाह र आफुँलाई खानेकुरा नभएको गुनासो गरिन्। ‘पहिरो बल्लबल्ल बाँचियो,‘अब बाँच्न मुस्किल हुन्छ जस्तो भएको छ’ विश्वकर्माले भनिन्। सुत्केरी भएको ५ दिनमै पहिरोमा असर गरेपछि  पाँच दिनको शिशु, अर्की छोरीलाई श्रीमानको सहयोगमा घरबाट निकालेर ल्याएको बताउँदै खानेकुरा, लत्ताकपडा सबै घरभित्रै थुनिएको बताइन्।  

सुत्केरी अवस्थामा खानेकुरा केही नभएकाले समस्या भएको अर्की सुत्केरी हरिमायाँ विकको गुनासो छ। ‘गाउँमा किनेर खाने पनि छैन्,‘यो समयमा आफ्नो भन्दा शिशुको धेरै ध्यान दिनुपर्छ’ हरिमायाँले भनिन्। श्रीमान वैदेशिक रोजगारको सिलसिलामा पाँच महिना अगाडि मात्रै खाडी मुलुकमा गएको अवस्थामा माईतीघर नै पहिरोमा परेपछि विस्थापित भएको हरिमायाँको भनाई छ। ‘घर फर्किने अवस्था छैन्,‘घरमा जाने चारवटै बाटो पहिरोले लगेको छ’ उनले भनिन्।

काखमा छोरा बाहेक एक छोरी र एक छोरा छन्। हरिमायाँ र सविनाको बस्तीका सबै विस्थापित छन् भने पुनः घरमा बस्ने अवस्था छैन। पौष्टिक खानाको अभावले सुत्केरीलाई समस्या भएपनि सहयोगदाताले सँधै खाद्यान्न साम्रागी मात्रै लैजाने गरेको गुनासो समेत उनीहरुको छ।  

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ। सुत्केरीलाई बेला–बेलामा आवश्यक पर्ने पौष्टिक खानेकुरा, सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र सफा कपडाको अभाव देखिएको छ। सिंगो गाउँ नै पहिरोबाट विस्थापित भएको अवस्थामा सुत्केरी महिलालाई आवश्यक पर्ने पौष्टिक खाना गाउँमौ ब्यवस्थापन गर्न समस्या भएको वडा सदस्य तिलकुमारी केसीको भनाई छ। ‘सहयोग एउटै किसिमको आउँछ,‘यहाँको समस्यालाई हेरेर सहयोग गर्नुपर्छ’ उनले भनिन्। सुत्केरी महिलालाई गेडागुडी, मासु लगायतका पोषिलो खानेकुरा सहयोग गर्न समेत अनुरोध गरिएको छ। मराङमा सुत्केरीसँगै गर्भवती महिलालाई समेत समस्या छ। नियमित चेकजाँच तथा स्वास्थ्यमा जटिल समस्या भएमा तत्काल उपचारका लागि लैजाने सडक र पदैलमार्ग समेत पहिरोले भत्काइदिएपछि समस्या झन जटिल बन्दै गइरहेको छ। पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता छन्। वडाभित्र करिब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २ सय २ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जिवन विताइरहेका छन्। करिब४ सय घरधुरी रहेको मराङका पहिरो पीडितको अवस्था झन जटिल बन्न थालेपछि पैदलमार्ग र अति आवश्यक साम्रागी ढुवानीको माग गरिरहेका छन्।  

 

प्रकाशित: ११ श्रावण २०७७ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App