१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

परिवारलाई पहिरोबाट जोगाएर १६ वर्षीया एलिशा बेपत्ता

पहिरोले घरसँगै पुरिएकी छोरी खोज्दै गएका इन्द्रबहादुर केसीले छोरीको किताव हेर्दै । तस्बिर : हरिकृष्ण गौतम

गएको असार २५ गते रातिदेखि नै भिषण वर्षा भइरहेको थियो । म्याग्दीको मालिका गाउँपालिका–७, बिम नौरूङका इन्द्रबहादुर केसीको परिवार घरभित्रै बसेका थिए । बस्ती आसपासको क्षेत्र हुस्सुका कारण हेर्न सक्ने अवस्था थिएन । भोलिपल्ट विहान करिब साढे पाँच बजे बस्तीमाथिबाट ठूलो आवाज आएपछि इन्द्रबहादुर केसी हेर्द बाहिर निस्किएको अवस्थामा घरभित्रै पहिरो पस्न थालेपछि १६ वर्षीया छोरी एलिशाले भाईबहिनी सञ्जय र इस्मा केसीलाई लिएर भागिन् । अधिक वर्षाका कारण घरबाट आसपासका क्षेत्रमा जान सक्ने अवस्था नभएपछि बाटो हेर्न जान अनुरोध गरेकी एलिशाले घरभित्रै पहिरो पस्दा समेत दुई भाईबहिनीलाई जोगाउन सफल भईन् ।

‘जेठी छोरीकै अनुरोधमा बस्ती नजिकै पुग्न नपाउँदै पहिरो खस्न थाल्यो, ‘सबै एकै चिहान हुने अवस्थामा छोरीले हामीलाई जोगाईन्, आफू पहिरोमा परिन्’ इन्द्रबहादुरले भने । हाल बेपत्ता रहेकी एलिशाले ठूलो आवाज आएको भन्दै पटक–पटक अनुरोध गरेपछि घरबाट बाहिर निस्किएको इन्द्रबहादुरको भनाई छ । ‘पहिरो आउला भन्ने कल्पनासमेत थिएन,‘परिवारका सबैलाई जोगाएकी छोरीलाई पहिरोले पुर्‍र्यो’उनले भने । गाउँकै किसानी माविमा कक्षा १० मा अध्ययनरत एलिशाले नतिजाको प्रतिक्षामा थिइन् । पढाईमा मेहनती एशिलाको सतर्कताले परिवारका चार सदस्यको ज्यान जोगिएको छ भने उनको अवस्था अझै अज्ञात छ ।

‘छोरीलाई खोज्न दैनिक पुरिएको घरआसपासमा पुग्छु,‘किताव यत्रतत्र छरिएका छन्, उनको सपना पनि पहिरोमै पुरियो’भावविह्वल हुँदै इन्द्रबहादुरले भने,‘छोरीले हामीलाई जोगाईन् तर छोरीलाई बचाउन सकिन । पहिरोले करिब ४ रोपनी खेतीयोग्य जमिन, १० वटा बाख्रा, कुखुरा लगायत घरभित्रका सबै नष्ट गरेकोमा खासै पछुतो नभएको केसीको भनाई छ । ‘मैले परिवारको ठूलो सम्पत्ती छोरी नै गुमाए,‘ शव मात्रै भेटिएपनि निन्द्रा लाग्ने थियो’ इन्द्रबहादुरले भने । ‘भाईबहिनीको उद्धार गरी पुनः घरभित्र रहेका आमाबुबा, भाईबहिनीको कपडा र आफ्नो किताब लगायतका सामग्री लिन जाने क्रममा बेपत्ता भएकी थिइन् । उनले घरको जेठो सन्तान छोरी हुँदा अभिभावकलाई सजिलो हुन्छ भन्ने प्रमाण नै छोरी भएको बताए । उनलाई आफ्नै घर अहिले मसानघाट जस्तै लाग्ने गरेको बताए । भाईबहिनीका लागि हामीभन्दा पनि बेपत्ता भएकी छोरी नै अभिभावक बनेको उनको भनाई छ ।

नौरूङ गाउँमा बेपत्ता एशिलालाई मेहनती छोरीको नामले चिन्ने गरेका थिए । पहिरोबाट नौरुङका ८ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरोले वडाभित्र ८ जनाले ज्यान गुमाएको वडा अध्यक्ष सुविन जुग्जालीले बताए । ‘पहिरोले ठूलो क्षति पुगेको छ,‘पुर्नवासको अभियानमा छौ’ जुग्जालीले भने । उनका अनुसार बाईनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षति र ७० घर पहिरोको उच्च जोखिममा छ । खानेपानी, पुल, सडक लगायतका भौतिक संरचना समेत तहसनहस भएको छ । विस्थापित भएकालाई गाउँको खाली घरमा राखिएको छ ।

प्रकाशित: ११ श्रावण २०७७ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App