४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सहरसँग जोडियो धरानको विष्णुपादुका गाउँ

तस्बिर : रोहित राई

साविक विष्णुपादुका गाविस २०७० सालमा धरान उपमहानगरपालिकामा गाँभियो । गाउँबाट एकैपटक उपमहानगरबासी भए पनि विष्णुपादुकाका जनताको अवस्थामा भने खासै परिवर्तन आउन सकेन ।

धरान उपमहानगर भएपछि साविक विष्णुपादुका वडा नं २० भएको छ । साविक विष्णुपादुका र साविक धरान(सहर)बीचमा सर्दु खोला बग्छ । यो खोला हिउँदमा पानी हुदैन, तर जब बर्षा लाग्छ, त्यसपछि विष्णुपादुकाबासीको सास्ती शुरु हुन्छ । विष्णुपादुका जाने प्रमुख बाटोमा सर्दुमा पुल थिएन । वर्षाको समयमा भने झण्डै ३ महिना सर्दुमा आउने बाढीले उनीहरु सहर झर्न सक्दैनथे । शिक्षा, स्वास्थ्य, व्यापार हरेक किसिमले विष्णुपादुकाबासीहरु धरान सहरमा निर्भर छन् । अत्यावश्यक कामको लागि उनीहरु जोखिम मोलेर सर्दु तर्नुपथ्र्यो । अझै पनि साविक विष्णुपादुका(वाड नं २०)मा कालोपत्रे सडक निर्माण भएको छैन ।  

शनिबारदेखि भने विष्णुपादुकाबासीहरुले राहतको सास फेरेका छन् । धरान ११ र २० नम्बर वडाको बीचमा सर्दु खोलमा पक्की पुल शनिबारदेखि सञ्चालनमा आएको छ । अब विष्णुपादकाका नागरिकहरु विगतमा जस्तो ज्यान जोखिममा पारेर सर्दु खोलामा हेलिनु पर्ने छैन । त्यसैले उनीहरु असाध्यै खुशी भएका छन् । ‘बल्ल पुलमा हिड्न पायौं, गाडी पनि हिड्न पायो,’वडा नं २०, विष्णुपादुकाकी दुर्गामाया राईले भनिन्,‘अबदेखि खोलामा डुब्नु नपर्ने भयो, केटाकेटीहरु पनि सजिलै पढ्न जान सक्ने भए ।’

छिमेकी धरान नगरपालिकाले विकास निर्माण र आधुनिकतामा फड्को मारिरहदा विष्णुपादुका भने दुर्गम गाउँकोरुपमा रहिरह्यो । पहाडी क्षेत्र भएको कारण विष्णुपादुका पिछडिएर नै बस्यो । राजनीतिक पहुँचको अभावमा पुल निर्माण नहुदा जनताले सधै सास्ती भोग्नु परिरहेको थियो । यहाँ विष्णुपादुका मन्दिर भएकोले धार्मिक पर्यटनको हिसाबले प्रचुर सम्भावना भएको ठाउँ हो, तर सडक र पुलजस्ता पूर्वाधार अभावले ओझेलमा छ । पूर्वगाविस अध्यक्ष एवं वर्तमान वडा नं २० का अध्यक्ष मणिराम राई भन्छन्,‘धेरै तिर हार गुहार गरेर पुल निर्माण सम्पन्न भयो, हाम्रो लागि यो ऐतिहासिक दिन हो ।’  

उनका अनुसार विष्णुपादुका हुदै धनकुटा, भोजपुर र खोटाङका मानिसहरु पनि आवतजावत गर्थे । तर, सर्दुमा पुल नहुँदा धेरै धनजनको क्षति भोग्नु परेको उनले बताए । पुल निर्माण भएपछि अब विष्णुपादुका गाउँ र भावना धरानसँग जोडिएको उनले बताए । ‘युगौंदेखि पीडामा थियौं, यो खोलमा अदुवाको भारी, बेसार, काक्रा, नासपतिको भारी कति बग्यो, अब भने राहत पाएका छौं,’उनले भने,‘गाडी पनि बीच खोलामा फसेर कति बगायो, बिगार्यौं । अहिले सबै खुशी छौं ।’

यो पुल ठेकेदार कम्पनी कार्की बन्धु कन्ट्रक्सनले ८ करोड ३२ लाखमा बनाएको हो । यो पुल स्वीस सरकारको सहयोगमा नेपाल सरकारले निर्माण गरेको हो । धरान ११ मंगलबारे चोक हुदै विष्णुपादुकाको भञ्ज्याङ निस्कने बाटोलाई यो पुलले जोडेको छ । यो पुल औपचारिकरुपमा उद्घाटन भने भएको छैन । तर, जनताको आवश्यकतालाई बुझेर शनिबारदेखि पुल सञ्चालनमा ल्याइएको वडाका जनप्रतिनिधिहरुले बताएका छन् ।  

वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले बर्षाको बेला सर्दु खोलाको बाढीले गर्दा विष्णुपादुकाको कृषिजन्य उत्पादन विगतमा जस्तो नरोकिने भन्दै खुशी व्यक्त गरे । ‘अब विष्णुपादुकाको तरकारी, कृषि उत्पादनहरु सजिलै ल्याउन सकिने भयो, केटाकेटीहरु पनि स्कुल आउदा बाढीले बगाउला कि भन्ने चिन्ता हट्यो,’उनले भने,‘साविक धरान र विष्णुपादुकाबीच गहिरो साइनो गाँसियो ।’

प्रकाशित: १० श्रावण २०७७ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App