२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सँगै बस्न इन्कार गरेपछि एसिड प्रहार

ओखलढुंगाकी २२ वर्षीया एक युवतीको मोबाइलमा बिहीबार साँझपख चिनजानकै व्यक्तिको फोन आयो। कोठाबाट बाहिर निस्कन मन नभएकाले उनले धेरैबेर फोन उठाइनन्। लगातार ३० पटकभन्दा बढी फोन आएपछि फोन नउठाई सुखै पाइनन्। फोनमा उनलाई एक व्यक्तिले डल्लुमा खाजा खान बोलाए। उनी मन्जुरी जनाइन् र  बाफलबाट डल्लुसम्म हिँडदैं आइन्।

डल्लुबाट उनलाई फोन गर्ने व्यक्ति मोहम्मद आलम थिए। भेट भएपछि अलि पर चोकमा गएर खाजा खाने मोहम्मदको प्रस्ताव ती युवतीले नकार्न सकिनन्। मोटरसाइकलमा बसेर डल्लुचोकनजिकै एउटा रेस्टुरेन्टमा पुगे। खाजा खाइसकेपछि मोहम्मदले युवतीलाई सँगै बस्न आग्रह गरे। युवतीले मानिनन्। मोहम्मदले साढे ६ बजेतिर बाफल चोकमा लगेर उनलाई छाडिदिए।

युवती पैदलै कोठातिर जाँदै थिइन्। कोठानजिकै घुम्तीजस्तो ठाउँमा पुग्दा मोहम्मदका कामदार मुन्ना आलम लुकेर बसेका थिए। युवतीमाथि अन्धाधुन्ध एसिड प्रहार गरेर मुन्ना भागे। युवती चिच्याएको सुनेर वरिपरिका मानिस जम्मा भए। त्यतिखेर साँझको करिब ७ बजेको थियो। घाइते युवतीलाई मनमोहन अस्पताल पु¥याइयो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याउँदा रातिको ९ बजिसकेको थियो ।

घटनाबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोली खटियो। प्रहरीले युवतीलाई सामान्य सोधपुछ ग¥यो। एसिड प्रहारको पुष्टिपछि प्रहरीले मोहम्मद र मुन्नालाई पछ्यायो। सिसिटिभी र फोन कलका आधारमा खोजी गर्दै जाँदा दुवैजना डल्लुको गार्मेन्टबाट पक्राउ परे। प्रहरी समयमै पुगेकाले उनीहरूले भाग्न भ्याएनन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले युवतीको मुख, घाँटी र कपालमा एसिड प्रहार गरिएको बताए। आफ्नो प्रस्ताव युवतीबाट इन्कार भएपछि मोहम्मदले झुक्याएर एसिड प्रहार गर्ने योजना बनाएको उनले जानकारी दिए। उनका अनुसार मोहम्मदले युवतीमाथि बदला लिन आफ्नै कामदार मुन्नालाई प्रयोग गरेका थिए। ‘युवती र ती पुरुषको उमेर धेरै फरक छ,’ उनले भने, ‘तर उनले आफ्नो गार्मेन्टमा काम गर्ने बेलामै युवतीप्रति त्यस्तो सोच बनाएका रहेछन्।’  

एसएसपी ज्ञवालीका अनुसार मोहम्मदको डल्लुमा गार्मेन्ट कारखाना छ। दिदीले पनि त्यही गार्मेन्टमा काम गर्ने भएकाले ती एसिडपीडित युवतीले पनि केही समयअघि एक महिना त्यहीँ काम गरेकी थिइन्। मोहम्मद ती युवतीलाई बहिनी मान्थे। बेलाबेलामा फोन र म्यासेज हुन्थ्यो। दीदी र आफूले पनि काम गरेको गार्मेन्टका मालिक भएकाले युवतीले मोहम्मदलाई सहजै विश्वास गरेकी थिइन्। तर, मोहम्मदले युवतीलाई बहिनी ठानेका रहेनछन्। उनले पहिलेदेखि नै युवतीप्रति कुदृष्टि राख्दै आएका रहेछन्। आफूले भनेको नमानेपछि उनले युवतीमाथि एसिड गर्ने योजना बनाएका रहेछन्।  

प्रहरीका अनुसार अहिले ती युवती हायात होटल प्रशासनमा काम गर्छिन्। लकडाउनले होटल बन्द भएपछि उनले केही समय गार्मेन्टमा काम गरेकी थिइन्। पछिल्लो समय उनले होटल प्रशासन खुलेको भन्दै गार्मेन्ट कारखानाको काम छाडेकी थिइन्। बिहीबार घरमै भएका बेला बारम्बार फोन आएपछि उनी बाहिर निस्किएकी थिइन्।  

एसिड प्रहारका योजनाकार र प्रहारकर्ता दुवैलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। कामदार मुन्नाले प्रहरीलाई दिएको बयान अनुसार मोहम्मदले नै उनलाई एसिड हान्न पठाएका थिए। आफूले काम गर्दै आएका गार्मेन्ट सञ्चालकको निर्देशन पालना गर्दै आफूले एसिड प्रहार गरेको मोहम्मदले बयान दिएका छन्। ‘यो ठाउँमा बसेर बोतलको तरल पदार्थ युवतीमाथि फ्याँक्न भनियो, त्यसमा के छ भन्ने मलाई थाहा भएन,’ मुन्नाले सोधपुछका क्रममा प्रहरीसँग भनेका छन्, ‘मैले सोध्दा मालिकले मदिराको बोतल भन्नुभएको थियो।’  

प्रहरीका अनुसार पीडित युवतीको अनुहार र पाखुरामा गहिरो चोट लागेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले अभियुक्तले एसिड प्रहार गरेको स्वीकार गरेको र उनीहरूमाथि कारबाहीका लागि अनुसन्धान भएको बताए। ‘पीडित युवतीले धेरै विश्वास गरे पनि मोहम्मदले बदला लिन खोजेका कारण यस्तो भएको हो,’ उनले भने।  

पछिल्लो ६ वर्षमा २३ वटा एसिड प्रहारका घटना भएका छन्। त्यसमध्ये एसिड प्रहारबाट पीडित हुनेमा १९ महिना र चार पुरुष रहेको प्रहरी तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार हालसम्म एसिड प्रहार गर्ने २७ पुरुष र दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: १० श्रावण २०७७ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App