१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सवारी कारबाहीबाट २५ करोड राजस्व

गत आर्थिक वर्ष २०७६/७७ मा सवारीसाधन कारबाहीबाट २५ करोड १४ लाख १४ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । लापरबाही सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही सो रकमबराबर राजस्व उठेको हो ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वामदेव गौतमका अनुसार सो आवमा तीन लाख ९५ हजार दुई सय ३९ वटा सवारीसाधन ट्राफिक नियम उल्लंघन गरेर कारबाहीमा परेका थिए । ट्राफिक महाशाखाले सवारी कारबाही गर्दा उठेको रकम नेपाल सरकारको राजस्व खातामा जम्मा हुने गरेको छ । बर्सेनि उठ्ने लाखौं राजस्व जम्मा भएनभएको विवरण अर्थ मन्त्रालयसँग हुने उनले जानकारी दिए । 

‘सवारीसाधन कारबाहीबाट उठेको राजस्वको विवरण अर्थ मन्त्रालयले राख्छ,’ प्रवक्ता गौतम भन्छन्, ‘कारबाहीबाट उठेको राजस्वको केही प्रतिशत डिउटीमा खटिने ट्राफिक प्रहरीलाई दिने भन्ने नियम थियो तर अहिले त्यो हटिसक्यो । जोखिमपूर्ण डिउटी गरेबापत सरकारले ट्राफिकलाई छुट्टै भत्ता दिने गरेको छ ।’

महाशाखाका अनुसार आव २०७४/७५ मा चार लाख ७२ हजार चार सय सातवटा सवारीसाधन कारबाहीमा पर्दा २९ करोड ३१ लाख ४५ हजार राजस्व उठेको थियो । त्यस्तै, आव २०७५/७६ मा चार लाख ८१ हजार ७५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट ३१ करोड ५६ लाख ४१ हजार राजस्व उठेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

गत आव २०७६/७७ मा मादक पदार्थ सेवन (मापसे) बाट मात्र २५ हजार चार सय ६२ चालक कारबाहीमा परेको प्रवक्ता गौतमले बताए । जसमा दुई सय ८८ महिला र २५ हजार एक सय ८४ पुरुष रहेका छन् । त्यस्तै, आव २०७५/७६ मा दुई सय ७० महिला र ३१ हजार नौ सय ८७ पुरुष गरी जम्मा ३२ हजार दुई सय ५७ जना मापसे कारबाहीमा परेका थिए ।  

आव २०७६÷७७ मा लाइसेन्स प्वाल पार्ने अभियानअन्तर्गत १७ हजार तीन सय ५५ जनामाथि कारबाही गरिएको छ । जसअन्तर्गत १४ जनाको लाइसेन्स निलम्बन गरिएको छ भने ३२ वटा लाइसेन्समा पाचौं पटक प्वाल पारिएको छ । सोही अवधिमा पहिलोपटक प्वाल पारिने लाइसेन्सको संख्या १६ हजार दुई सय ९८ रहेको महाशाखाले जनाएको छ ।  

त्यस्तै, आव २०७५÷७६ मा उपत्यकाभित्र ३३ वटा लाइसेन्स निलम्बनमा परेका थिए भने २० हजार १५ वटा पहिलो पटक र ६८ वटा लाइसेन्समा पाचौं पटक प्वाल पारिएको थियो ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिले दुर्घटना न्यूनीकरणका लागि ठाउँठाउँमा स्टप, लुक, गो लेखेको ट्राफिक संकेतसहितको बोर्ड राखेको छ । ‘मुख्यतः भित्री सडकबाट मूल सडकमा निस्किने ठाउँमा हामीले त्यो बोर्ड राखेका छौं,’ प्रवक्ता गौतमले भने, ‘स्टप, लुक र गो लेखेको सांकेतिक बोर्डले सवारी रोक, यताउता हेर र जाऊ भन्ने बुझाउँछ । सवारी चालकले त्यो बोर्ड हेरेपछि स्पिड कम गर्छन् या यतायता हेर्छन् र जान्छन् । जसले दुर्घटना हुनबाट शतप्रतिशत कम गरेको छ ।’  

३१ जनालाई कारबाही  

कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि आवश्यक सावधानी नअपनाई सवारीसाधन चलाउने ३१ सवारीचालक कारबाहीमा परेका छन् । संक्रमणको दर कम भए पनि जोखिम कायमै रहेको जनाउँदै सरकारले सावधानी अपनाएमा मात्र सवारीसाधन सञ्चालन गर्ने भनेको थियो । तर, बिहीबार ३१ सवारीसाधनले सावधानी अपनाएको नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखालले कारबाही गरेको हो ।  

कारबाहीमा पर्नेमा सरकारले तोकेभन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु राख्ने, गाडीको ढोकामा सेनिटाइजर नराख्ने र मास्क प्रयोग नगरी सवार भएका १६ बस, १४ माइक्रोबस र एउटा टेम्पो रहेको महाशाखाले जानाएको छ ।  

‘यात्रु कम चढाउने भएकाले उनीहरूलाई ५० प्रतिशत बढी भाडा लिन पाउने भनेर सरकारले नै प्रावधान गरेको छ,’ प्रवक्ता गौतमले भने, ‘तर सवारीचालकले नियमविपरीत भाडा लिने र गाडीभरि यात्रु बोक्ने गरेका छन्, त्यस्ता सवारी चालकलाई हामीले रोकेर कारबाही गरेका छौं ।’  

अहिलेसम्म नियमविपरीत सवारी चलाउनेलाई सम्झाएर राति ८ बजेपछि मात्र छाडे पनि शुक्रबारदेखि जरिवाना गर्ने उनले जानकारी दिए ।

प्रकाशित: ९ श्रावण २०७७ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App