२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

खोटाङमा छोटो दूरीका सवारी साधन सुचारु

नेपाल सरकारले लकडाउन खुला गरेसँगै खोटाङ यातायात प्रालिले छोटो दूरीका सवारी साधन सुचारु गराएको छ । कोभिड–१९ को महामारीका कारण गत चैत १० गतेदेखि बन्द गरिएको यातायात सेवा बुधबारदेखि सुचारु गराएको हो । चार महिने लकडाउनपछि मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरेर एक सिटमा एक जना मात्र राखेर जिल्लाभित्रकै छोटो दूरीका सडकमा यातायात सेवा सुचारु गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

हाललाई मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–जयराम र दिक्तेल–बुईपा सडक खण्डमा दैनिक बस चलाउनेगरी यातायात सेवा सुचारु गरिएको हो । दिक्तेलबाट निर्मलीडाँडामा बस पठाएर सेवा सुचारु गराइएको महासचिव हिङमाङले बताए । एक सिटमा एक जना यात्रु मात्र राख्नुपर्ने भएकाले भाडा भने दोब्बर गरिएको प्रालिले जनाएको छ । जिल्लाका अन्य कच्ची सडक वर्षाका कारण अवरुद्ध भएकाले कालोपत्रे गरिएको मध्यपहाडी लोकमार्गभित्र मात्र सवारी साधन सञ्चालनमा ल्याइएको हो । प्रालिमार्फत ४० वटा बस, १५ वटा जीप र सहकार्यमा सय वटाभन्दा बढी बसहरु सञ्चालनमा रहेका छन् ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले साउन ८ गतेदेखि छोटो, मझौला तथा लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरे पनि खोटाङमा एक दिन अवागै सवारी साधन चलाउन सुरु गरिएको यातायात व्यवसायीले बताएका छन् ।

प्रकाशित: ८ श्रावण २०७७ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App