coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारीसाधन गुडेपछि बढ्यो चहलपहल

‘शंका लागेमा समात्छौं, मापसे पुष्टि अस्पतालले गर्छ’

सरकारले लकडाउन अन्त्य गरेपछि बुधबारदेखि उपत्यकालगायत देशभर नै चहलपहल बढेको छ। कोरोना भाइरस नियन्त्रणका लागिसरकारले करिब ४ महिनापछि लकडाउन खुलाएपछि यातायात, व्यवसायिक क्षेत्र, सरकारी कार्यालयलगायतमा चहलपहल बढेको हो।  

लामो समय घरभित्रै बसेका सर्वसाधारण कामकाजमा फर्कन थालेपछि सुनसान क्षेत्रमा चहलपहल देखिन्छ। सरकारले उच्च सतर्कता अपनाएर कामकाज सञ्चालन गर्नेभन्दै मंगलबारदेखि लकडाउन अन्त्य गरेको थियो। चैत्र ११ गतेदेखि सवारी साधनलगायत जनजीवन नै ठप्प हुनेगरी लकडाउन भएको थियो। असार १ गतेदेखि भने लकडाउनको मोडल परिवर्तन गर्दै सरकारले अत्यावश्यक कामकारबाही खुकुलो पारेको थियो। लकडाउन मात्रै कोरोना नियन्त्रणको उपचार नभएको भन्दै सरकारले बुधबारदेखि भने लकडाउन अन्त्य गर्दै जनजीवन सहज बनाएको छ।  

लकडाउन हटेको पहिलो दिन बुधबार उपत्यकामा सार्वजनिक र निजी सवारीसाधन निर्वाध रूपमा गुडेकाथिए। मास्क लगाएर र दूरी कायम राखेर सार्वजनिक सवारीले यात्रु बोकेका थिए। लामो समय ग्यारेजमा थन्किएका उपत्यकाका विभिन्न रुटका बस सञ्चालन भए भने लकडाउन खुकुलो पारेसँगै ट्राफिक प्रहरीले पुरानै तरीकाले कामकारबाही थालेको छ। बुधबार प्रहरीले ट्राफिक नियम मिच्ने १५ बससहित २५ वटा निजी सवारीसाधन एकछिन रोकेर जरिबानासहित सम्झाएर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले जानकारी दिए। उनका अनुसार ५० वटाभन्दा बढी सवारीसाधन निषेधित क्षेत्रमा पार्किङ गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै ८ सय भन्दा बढी सवारीसाधनलाई सामाजिक दूरी कायम राख्न र भीडभाड कम गर्न प्रहरीले सचेत गराएको थियो। ‘अब हामीले पुरानै तरीकाले काम कारबाही सुरु गरेका छौं, लकडाउनको बेलामा नभएका कारबाही अब हुन्छन्,’ गौतमले  भने।  

सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना संक्रमण भने नियन्त्रण हुन सकेको छैन। प्रहरीले सडकमा फिँजिएर काम गर्नुपर्ने अवस्था छ। यस्तो बेलामाप्रहरीले सिसिटिभी र प्रविधिमा पनि ध्यान दिएको एसपी गौतमको  भनाई छ।  

कुराकानी

भीम प्रसाद ढकाल, एसएसपी–ट्राफिक प्रहरी महाशाखा

‘शंका लागेमा समात्छौं, मापसे पुष्टि अस्पतालले गर्छ’

झन्डै पाँच महिनापछि सडकमा पुरानै तरीकाले काम गर्दा कस्तो महसुस भएको छ ?

लकडाउनको अवस्थामा त्यति धेरै काम थिएन। तैपनि कोरोना महामारीसँग सम्बन्धित काम भए। आवश्यक हेरेर प्रहरी परिचालन भयो। उपत्यकाका हाल १२ लाख सवारीसाधन छन्, १५ सय ट्राफिक छन्। यो हिसाबमा ट्राफिक जनशक्ति कम हो। तर, हामीले जसरी पनि व्यवस्थापन गर्छौं।  

लकडाउन खुलेपछि सवारीसाधनको चाप बढेको छ, यस्तो अवस्थामा ट्राफिक व्यवस्थापन कसरी भइरहेको छ ?

लकडाउन खुल्यो तर जोखिम झन् बढ्दो छ। सरकारको निर्णयसँगै हामीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था छ। यो समयमा हामीले नियमित काम मात्रै गरेर पुग्दैन, आफू सुरक्षित रहनु पनि चुनौतीपूर्ण विषय बनेको छ। बुधबारदेखि पुरानै संख्यामाट्राफिक प्रहरी परिचालन गरेका छौं। लकडाउनअघि जसरी काम कारबाही भएको थियो त्यसरी नै काम सुरु भएको छ। अब ट्राफिक नियम मिच्नेले छुटकारा पाउँदैनन्। लेन, मापसे, ओभरटेक, तीव्र गति, जथाभावी पार्किङलगायत नियम पुरानै अवस्थामा पालना गराउछौं। यी नियम पालना नगर्नेलाई चिट काट्ने, नियन्त्रणमा लिने र आवश्यक कारबाही गर्ने काम पनि हुन्छ।  

मापसे वा अन्य कारबाही गर्दा प्रहरी चालकसँग नजिक हुनुपर्ने अवस्था छ, कोरोना संक्रमणबारे प्रहरीले कसरी सतर्कता अपनाएको छ ?

कारबाही पुरानै तरीकाले गर्छौं। कोरोनाको समय भनेर हामीले कसैलाई पनि छुट दिँदैनौं। जति छुट भयो लकडाउन अवधिभर भयो। अब प्रहरीले आफू सुरक्षित भएर मात्रै काम गर्छ तर, गल्ती गर्नेलाई कारबाही हुन्छ। कतिपय अवस्थामा कारबाही गर्दा चालकसँग नजिक हुनुपर्ने अवस्था होला तर, हामीले सामाजिक दूरी कायम राख्न सबै ट्राफिक प्रहरीलाई आग्रह गरेका छौं। भौतिक दूरी अलि ख्याल गरेर पनि कारबाही गर्न सकिन्छ भन्नेमा कुनै दुईमत नै छैन। कतिपय कारबाही गर्दा चालकसँग नजिकै पुग्नुपर्ने अवस्था छ। त्यसलाई ख्याल राखेर हामीले मापसे गर्नेलाई ब्रेथलाइजरमार्फत कारबाही गर्दैनौं। अहिले ब्रेथलाइजर प्रयोग हुँदैन। हामीले होटल छेउछाउ निगरानी राख्छौं। जहाँ जहाँ मापसे हुने क्षेत्र छन् ती क्षेत्रमा छड्के र कडाइ हुन्छ। यदी चालकले मापसे गरेको शंका लागेमा समातेर अस्पतालमा लग्छौं। मापसे गरेको पुष्टि अस्पतालले गर्छ। त्यसपछि हामीले कारबाही थाल्छौं।

बे्रथेलाइजरको प्रयोगबिना मापसे गरेको वा नगरेको भनेर कसरी थाहा पाउने ?

यसको उपाय हामीसँग छ। ट्राफिक प्रहरीले हाउभाउ, बोली व्यवहार र सवारी कसरी चलाएको छ भन्ने कुरालाई हेरेर पनि पत्ता लगाउन सक्छ। प्रहरीले शंका लागेका चालकलाई नियन्त्रणमा लिन्छ। बेलुकीको समयमा पुरानै तरीकाले कारबाही गर्छ। उपत्यकाका ४९ वटा प्वाइन्टमा रातिको समयमा मापसे जाँच हुन्छ।  

लकडाउनअघि मापसे गरेका चालकलाई मापसे कक्षा दिइन्थ्यो, अब के हुन्छ ?

यो यथावत नै छ। हामीले दूरी कायम राखेर चेकजाँच गर्छौं। मापसे कक्षा कसरी राख्ने भन्ने सन्दर्भमा छलफल भइरहेको छ। मापसे गरेकालाई जरिबाना र कक्षा दुवै लिइन्छ। मापसे कक्षा दूरी कायम राखेर सचालन हुन्छ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षा कसरी भइरहेको छ ?

प्रहरी जवानको स्वास्थ्यप्रति हामीले ध्यान दिएका छौं। उनीहरूले नै सबैभन्दा बढी काम गर्छन्। यस्तो अवस्थामा उनीहरूलाई पिपिई, मास्क पञ्जा र अन्य सुरक्षाका उपकरणमा हामीले ध्यान दिएका छौं। अर्को कुरा, अहिले प्रहरीले मुख्य जोड सामाजिक दुरीमा दिन्छ। सडकमा सर्वसाधारण ओहोरदोहोर गर्दा सामाजिक दूरी कायम नराखेका सम्झाउँछ र सवारीसाधनभित्र भएको भीडभाड पनि हामी नियन्त्रण गर्छ। यदी कसैले अटेरी गरेको छ भने सवारीसाधन नै नियन्त्रणमा लिएर कारबाही हुन्छ।

सरकारले अन्तरजिल्लामा सवारीसाधन खुला गरेपनि लामो दूरीका सवारीसाधन खुलाएको छैन, उपत्यका भित्रिने नाकामा भने सवारीसाधनको चाप बढ्दो छ, ती सवारीलाई कारबाही भएको छ ?

किन कारबाही नहुनु ? बिना काम कोही पनि उपत्यका छिर्न पाउँदैन। काम परेर कोही प्रवेश गर्दैछ भने हामीले कडाइ गरेका छौं। उनीहरूको काम र अवस्था ख्याल गरेका छौं। टाढाबाट आएका सवारीसाधनलाई फिर्ता पनि पठाएका छौं।  

कोरोना महामारीको बेला बिनाकाम सडकमा निस्कनेनागरिक र चालकलाई के भन्न चाहानुहुन्छ ?

सरकारले लकडाउन खुकुलो गरेपनि महामारी नियन्त्रण भएको छैन। सकेसम्म बिनाकाम बाहिर ननिस्कन हामीले आग्रह गर्छौं।

प्रकाशित: ८ श्रावण २०७७ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App